युवा विदेश गए, यता आपत पर्यो

म्याग्दी- लाहुरेको जिल्लाका रुपमा परिचित म्याग्दीमा युवा धमाधम विदेश पलायन हुन थालेपछि पर्दा जन्ती र मर्दा मलामी जाने युवाको अभाव हुनुका साथै कृषि क्षेत्रमा जनशक्ति अभाव हुन थालेपछि खेतीयोग्य जमिन बाँझो बन्न थालेका छन् ।

वैदेशिक रोजगारीतर्फको आकर्षणका कारण युवा विदेसिने क्रम बढेसँगै साह्रोगाह्रो पर्दा गाउँघरमा सरसहयोग गर्ने युवा नहुँदा वृद्धवृद्धालाई समस्या उत्पन्न भएको बेनीनगरपालिका–४ का नरबहादुर थापाले बताए । “गाउँ युवाविहीन भएपछि नरमाइलो हुँदो रहेछ”–७६ वर्षीय थापाले भने –“साह्रोगाह्रो पर्दा सहयोग गर्ने कोही पाइँदैन ।”

त्यसैगरी खेतबारीमा काम गर्ने जनशक्ति पाइन छाडेपछि जमिन बाँझो हुन थालेको छ । म्याग्दीमा मकै, कोदो, जौ र उवा खेती हुने जमिन १० देखि १५ प्रतिशत बाँझो बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना–२०६८ को तथ्याङ्कअनुसार करिब दुई लाख जनसङ्ख्या रहेको म्याग्दीका ३० हजारभन्दा बढी युवा विदेसिएका छन् ।

गाउँघरका खेतीयोग्य जमिन बाँझो बस्ने क्रमसँगै आयातीत खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । जमिन बाँझो बन्न नदिन अन्नबालीको विकल्पमा कृषकलाई सुन्तला जात, आलुलगायत तरकारी खेती गर्न उत्प्रेरित गराउन थालिएको कृषि विकास कार्यालयले जनाएको छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय