
काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धिभएसँगै विदेशिएका नेपाली कामदारको ती मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । यस आर्थिक वर्षको सुरुको छ महिनामै चार सय ६१ जना नेपालीको मृत्यु भएको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी मलेसियमा दुई सय सात जनाको मृत्यु भएको छ ।
त्यसैगरी, साउदी अरबमा एक सय २८, कतारमा ६९ , दुबईमा २७, कुवेतमा, १५, बहराइनमा छ, दक्षिण कोरियामा तीन र जापान, ओमान, रुसमा एक/एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये चार सय ५८ पुरुष र तीन जना महिला छन् ।
तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ७७ जनाको विदेशी भूमिमै मृत्यु हुने गरेको छ । यसमा रोजगारीबाहेक पढ्न र अन्य कार्यको क्रममा विदेशमा मृत्यु भएका नेपाली तथ्याँक समावेश गरिएको छैन ।
यस बाहेक पनि ठूलो सङ्ख्यामा भारतमा र भारत हुँदै अवैधानिकरुपमा तेस्रो मुलुकमा विदेशिएका नेपालीको मृत्यु हुने गरे पनि त्यसको तथ्याङ्क नेपाल सरकारसँग छैन । अवैधानिकरुपमा गएकाहरूको स्वदेशमा शव ल्याउन समेत अप्ठयारो पर्ने गरेको छ ।
नेपालबाट प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा युवा रोजगारीका लागि विदेशिने गरेका छन् । राम्रो कमाइ गरी घर परिवारलाई राहत दिने उद्देश्यसहित विदेशिएका युवाको ठूलो सङ्ख्यामा कमाइको साटो नेपालमा शव मात्रै फर्कने गरेको छ ।
काठमाण्डु टुडेबाट