कतारको नयाँ कानूनले कामदार र रोजगारदाता दुवैको रक्षा गर्ने दावी

दोहा- कतारमा स्पोन्सरसीप, एक्जिट पर्मिट र श्रम कानून संशोधनको प्रकृया अन्तिम चरणमा रहेको कतारका अधिकारीहरुले बताएका छन् । कतारी मानव अधिकार आयोगका प्रमुखले यसको जानकारी दिएका हुन् । श्रम कानूनमा संशोधन कतारमा कार्यरत कामदारले निक्कै उत्सुकतापूर्वक पर्खिइएको विषय हो ।

राष्टिय मानव अधिकार आयोग, कतारका प्रमुख अलि विन शेख अलमारीले सरकारले निक्कै गम्भिरतापूर्वक समस्याको समाधानका लागि काम गरिरहेको बताएका छन् । उनले कतार सरकार स्पोन्सरसीप र एक्जिट पर्मिट सम्वन्धि व्यवस्थालाई सरल बनाउन लागि परेको बताए ।

उनले नयाँ कानून यसअघि सरकारले आयोगलाई अध्ययन र सुझावका लागि पठाएको तथा आयोगका तर्फबाट आफ्ना सुझाव र धारणा पठाइएको बताए । हामीले सरकारले गर्न लागेको संशोधन हेरेर आफ्ना तर्फबाट त्यसमा सुझाव समेत दिइसकेका छौं अलमारीले भने ।

उनले यमनको मानव अधिकार सम्वन्धि मन्त्रालयसँग द्धिपक्षिय सम्झौतामा हस्ताक्षर गरेपछि आयोजित कार्यक्रममा यो जानकारी दिएका हुन् ।

अलमारीले नयाँ कानूनले कामदार र रोजगारदाता दुवैको हकलाई रक्षागर्ने भएकोले कोहि पनि डराउनु पर्ने अवस्था नरहेको तर्क गरे । उनले कामदारलाई पनि स्वतन्त्रता तथा उनीहरुको सुरक्षामा ध्यान दिइएका कारण ढुक्क हुन आग्रह गरे ।

तर अलमारीले के कस्तो संशोधन गरिएको छ भन्ने बारेमा केहि बताएनन् भनें संशोधित कानून कहिले देखि लागु हुन्छ भन्ने बारेमा पनि प्रष्ट पारेनन् ।

यसअघि कतारको प्रस्तावित संशोधनले एक्जिट पर्मिट र स्पोन्सरसीप सम्वन्धि व्यवस्थामा निक्कै प्रष्ट रहेको कतारको आन्तरिक मामिला मन्त्रालयका वरिष्ठ अधिकारीले दावी गरेका थिए ।

यसअघि कतारमा एक सार्वजनिक कार्यक्रममा मन्त्रालय अन्तर्गतको एक विभागका निर्देशक व्रिगेडियर नासिर मोहम्मद अल सायदले काफलामा छिट्टै परिवर्तन गर्न लागिएको भन्दै नयाँ कानून जारी गर्ने अन्तिम चरणमा पुगेको बताएका थिए । तर उनले पनि कानूनका के के कुरामा संशोधन हुँदैछ र नयाँ कानूनमा के राखिएको छ भन्ने बारेमा कुनै जानकारी दिएका थिएनन् ।

सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको कतारमा वर्तमान रुम कानूनमा आमुल सुधारका लागि अन्तराष्टिय दवाव परिरहेको छ । श्रमिकका पक्षमा कृयाशिल संस्थाहरुले श्रम कानूनमा सुधार नगर्ने हो भनें कतारलाई विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न रोकिनु पर्ने भन्दै विश्व फुटवलको सवोच्च संस्था फिफालाई दवाव दिइरहेका छन् ।

कतार लगायतका खाडीका मुस्लिम देशहरुमा काफला प्रणालीको नाममा कामदारलाई दास झैं व्यवहार गर्ने गरिन्छ । कामदारले रोजगारदाता फेर्न नपाउने, रोजगारदाताले ज्यादती गरेमा पनि उसले अनुमति नदिएसम्म घर फर्किन नपाउने लगायतका व्यवस्थाका कारण कतार लगायतका खाडीका मुलुकमा आधुनिक दासता रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय