अरनिको राजमार्ग बन्द गर्ने चेतावनी

काठमाण्डौं, १ माघ– काभ्रेपलाञ्चोकको जिरोकिलोमा पुस १८ गते राती स्थानिय युवा ज्ञानुराजा ठकुरीको मृत्युको घटनालाई सडक दुर्घटनाको रुपदिन लागेको भन्दै मजदुर तथा व्यवसायीहरु आन्दोलनमा उत्रने भएका छन् ।

घटनापछि चारवटा मिनि ट्रक कन्टेनर तथा ६ जना मजदुरहरुलाई पुस १९ गतेदेखि प्रहरीले नियन्त्रणमा राखेका थिए । सवारी तथा मजदुरहरु निर्दोष रहेको जनाउदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाई कमिटी, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ तथा मितेरी मिनी ट्रक कन्टेनर व्यवसायी संघले पुस २४ गते ज्ञापनपत्र बुझाउदै तातोपानी भन्सारबाट सामान ढुवानी बन्द गरेपछि पुस २७ गते चार जना मजदुरहरु छाडीएको थियो ।

छुट्ने मजदुरहरुमा धनवहादुर श्रेष्ठ, आनन्द थापा, विनोद शेर्पा र बच्चु अधिकारी थिए भने प्रहरी हिरासतमै रहेका पेम्वा शेर्पा र निमा दोर्जे तामाङलाई भने प्रहरीले सार्वजनिक मुद्धा चलाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाइका अध्यष दुर्गाबहादुर श्रेष्ठले बताए । घटनाको विषयमा मजदुर तथा व्यवसायीहरुले विहिबार सयुक्त भेला मार्फत प्रहरी प्रशासनको गलत नियतका विरुद्ध थप आन्दोलन गर्ने निर्णय गरेका हुन् । ‘अहिलेसम्म हामीले हाम्रा ट्रक कन्टेनर तथा तातोपानी भन्सार बन्द गरेका थियौं अब अरनिको सडक नै बन्द गर्छौं’ श्रेष्ठले बताए । भेलामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाई, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष कमलकुमार श्रेष्ठ, हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष निलकण्ठ चौंलागाई, नेपाल ट्रक कन्टेनर व्यवसायी संघका द्धितिय उपाध्यक्ष दोर्जे लामा (हाउडे), मितेरी मिनी ट्रक व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अक्बर तामाङ सहभागी थिए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शिवकुमार राउत, अरनिको यातायात सेवा समितिका अध्यक्ष जितवहादुर भारती, भक्तपुर मिनी बस सेवा समितिका उपाध्यक्ष प्रकास बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौति ईकाईका उपाध्यक्ष वेदप्रसाद घिमिरे तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी ईकाईका अध्यक्ष शंकर थापा लगायतका सहभागी थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: