
कुवेत- लामो समय देखि कुवेत सरकारले खद्दामा अर्थात घरेलु कामदारको उद्धारका लागि सञ्चालन गर्ने भनिएको सेल्टर औपचारिक रुपमा शुरु भएको छ । सो सेल्टरमा निःशुल्क रुपमा बस्ने र स्वास्थ्य उपचार सेवा दिइन्छ ।
३५ लाख कुवेतीहरु मध्ये ९० प्रतिशत भन्दा धेरै कुवेतीका घरमा घरेलु कामदार राख्ने गरिन्छ । सन २०१० को मानवअधिकार अनुगमनको रिर्पोटमा यहाँ ६ लाख ६० हजार महिला घरेलु कामदार रहेको आँकडा छ ।
कुवेत अप टु डेटले जनाए अनुसार प्रत्येक बर्ष यहाँ हजारौ घरेलु कामदार आफ्नो कपील(मालिक)सँग झगडा भएर बाहिर आउने गर्दछन ।
कुवेती अधिकारीहरुको हवला दिदै उल्लेख गरिएको रिर्पोटमा उक्त सेल्टरमा ३ सय जना अटाउन सक्दछन । यस प्रकारको सेल्टरको अभ्यास यस अघि नै बहराईन र साउदीले प्रयोगमा ल्याईसकेका छन ।
सरकारी अधिकारीले ९ सय देखि १ हजारको संख्यामा विभिन्न दुतावासको सेल्टरमा घरेलु कामदार रहेको बताउछन । तर नेपालको कुवेत स्थित सेल्टरमा मात्र पनि हरेक समयमा १ सय ५० भन्दा धेरै नेपाली बस्ने गर्छन् । जो घरेलु कामदार सेल्टरमा रहन पुग्दछन त्यसबापत स्पोन्सरले प्रत्येक दिन १५ केडी तिर्नु पर्ने हुन्छ ।
समाचार अनुसार मंगलवार नै भारतीय दुतावासले ६४ जना घरेलु कामदारलाई सरकारी सेल्टरमा पठाएको छ ।