
अबुधावी- हरेक दिन युएईमा काम गर्न आउन चाहने १० जना नेपाली रोकिने गरेका छन् । युएईमा रहेको नेपाली दुतावासलाई उधृत गर्दै युएईको द नेशनल अनलाइनले यो खवर लेखेको हो ।
नेपाल सरकारले कामदारको सुरक्षाका कारण गरेको कडाईले यसरी धेरैको श्रम स्वीकृति रोकिने गरेको समाचारमा जनाइएको छ । पछिल्ला केहि समययता त्यसरी श्रम स्वीकृति रोकिनेहरुको संख्या बढिरहेको छ ।
पछिल्लो महिना मात्र ३५ जना सरकारी कर्मचारी ७७ जना व्यक्तिलाई कतार पठाउने क्रममा गैरकानूनी काम गरेको अभियोगमा पक्राउ परेपछि कडाई बढेको समाचारमा उल्लेख छ ।
यसैगरी १७ जना बैदेशिक रोजगार विभागका तथा १८ जना अध्यागमनका कर्मचारी अवैधानिक रुपमा कामदारलाई विदेश उडाउन मिलेमतोमा संलग्न रहेको अभियोगमा जेल परेपछि युएई आउने कामदारका लागि अझ कडाई भएको दुतावासलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
पहिले दुतावासमा पनि कर्मचारीको माग धेरै आउँथ्यो, तर जव ३५ जना कर्मचारी काठमाडौंमा पक्राउ परे, त्यसपछि घुस लिएर जथाभावी रुपमा मान्छे पठाउने क्रम रोकिएको छ । अहिले घुस खाने हिम्मत कसैले गर्दैन युएईका लागि नेपाली राजदुत धनञ्जय झाले भने ।
पछिल्लो समयमा दुवईमा पर्यटक भिसाका लागि आउन चाहनेहरुको आवेदन समेत अबुधावीमा रहेको नेपाली दुतावासले अनुमति दिनुपर्ने व्यवस्था छ । ‘नेपाल सरकारले समेत व्यक्तिगत रुपमा युएई आउन चाहनेहरु ठगिमा परेको अनुभव गरेको छ । किनकी पछिल्लो समयमा नेपालबाट युएईको पर्यटक भिसामा नेपालीलाई ल्याउने र अन्य मुलुक पठाउने क्रम बढेको हुँदा यसलाई रोक्न नेपाल सरकारले कडाई गरेको हो’ राजदुत झाले भने ।
‘महिलालाई नेपालबाट पर्यटकको भिसमा ल्याउने र उनीहरुलाई यहाँ ल्याइसकेपछि घरेलु कामदारका रुपमा वा अन्य काममा लगाउने सँगै कतिपय अवस्थामा अन्य मुलुकमा समेत पठाउने गरेको भेटिएको छ’ राजदुत झाको भनाई छ ।
यसले व्यक्तिको स्वतन्त्रतालाई रोकेन भन्ने पत्रकारको प्रश्नमा राजदुत झाले नेपालीहरु पर्यटक भिसामा आएर युएईमा समस्यामा पर्ने वा इराक, अफगानिस्तान जस्ता मुलुकमा गएर अलपत्र पर्ने भएकाले त्यसलाई रोक्न खोजिएको भन्दै यसले व्यक्तिको स्वतन्त्रता हनन् गरेको नभई आफ्ना देशका नागरिकलाई सुरक्षा गरेको तर्क गरे ।
व्यक्तिगत भिसामा आउन चाहनेलाई युएईमा अझ कडाई गरिएको छ । दुतावासकी श्रम सहचारी हिरादेवी निरौलाले रक्तसम्वन्धका आधारमा बाहेक व्यक्तिगत भिसा(जसलाई तनुवा भिसा भनेर बुझ्ने गरिन्छ) को अनुमति नदिइने प्रष्ट पारिन् ।
श्रम सहचारी निरौलाले कामदार ल्याउन चाहने कम्पनीले दिने तलव, बस्ने व्यवस्था तथा कम्पनीको छवि हेरेर मात्र अनुमति दिइने भन्दै कुनै कम्पनीमा नेपाली कामदारलाई दुःख दिइएमा अर्को पटक देखि त्यस्ता कम्पनीलाई कामदार ल्याउन नदिइने बताइन् ।
उनले दैनिक १० देखि १२ जना नेपालीका लागि माग गरिएको निवेदन रद्ध हुने गरेको बताइन् । उनका अनुसार यसअघि तीन भागको एकभाग मात्र श्रम स्वीकृतिको अनुमतिका लागि दुतावासको राय मागिने गरिएकोमा अहिले शतप्रतिशत आवेदन दुतावासमा पुग्ने गरेका छन् ।
दुई बर्ष अघि १ लाख ४५ हजार बैध बाटोबाट गएका नेपाली कामदार रहेको युएईमा हाल २ लाख नेपाली कार्यरत रहेको दुतावासले जानकारी दिएको छ । नेपाली कामदार युएईमा सस्तो कामदारका रुपमा चिनिन्छन् ।