
काठमाडौं, २९ पुष– मजदुर संगठनले बिरोध जनाएपछि ट्रेकिङ गाईड र पोर्टर गाईड तालिम स्थगित भएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र नेपाल पर्यटन तथा होटल व्यबस्थापन प्रतिष्ठानले संयुक्त रुपमा गएको पुष २४ गते ७ सय ५० पोर्टर गाईड र ७ सय ५० ट्रेकिङ गाईडलाई तालिमको आवेदन आव्हान गरेको थियो । तर मजदुर संगठनसँग सल्लाह नगरि तालिम आयोजना गर्न लागिएको, ‘पोर्टर गाईड’लाई ‘असिस्टेन्ट गाईड’ सम्बोधन गर्नुपर्ने, अनुभविलाई शिक्षाको दायरा राख्न नपाईने भन्दै आन्दोलन गरेपछि आईतबारदेखि तालिमको सुचना स्थगित भएको हो ।
टानले जारि गरेको सुचनामा पोर्टर गाईड तालिम लिन एसएलसी पास हुनुपर्ने अथवा दुई बर्षको अनुभव भएको हुनुपर्ने भनिएको छ । ट्रेकिङ गाईडका लागि दश जोड दुई पास गरी दुई बर्षको अनुभव भएको र एसएलसी पास गरि तीन बर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने भनिएको छ ।
टानले सहयोगी संघ–संगठनसँग सल्लाह नगरि तालिम आयोजना गर्न लागेकाले सुधार्नका लागि बिरोध गरिएको युनिट्राभका महासचिब सुमन पराजुलीले बताए । उनले लामो समयदेखि काम गरिररहेका पर्यटन श्रमिकलाई अनुभवका आधारमा लाईसेन्स दिने व्यबस्था गर्नुपर्ने बताए । नयाँ आउने श्रमिकका हकमा भने शिक्षालाई आधार मान्न सकिनेमा आफु सहमत रहेको उनको भनाई छ ।
‘पोर्टर गाईड’लाई ‘असिस्टेन्ट गाईड’ अर्थात पर्यटन सहायक मजदुर सम्बोधन गर्नुपर्ने उनले बताए । पोर्टर शब्दले मजदुर हेपिएको उनको बुझाई छ । तर टानका बरिष्ठ उपाध्यक्ष केशब पाण्डेले पोर्टरलाई गाईड सम्बोधन गर्दा पर्यटन क्षेत्रमा भरियाको काम गर्ने श्रमिकको अभाव हुन सक्ने बुझाई रहेको बताउँछन् । ‘म त गाईड पो हुँ त, भरियाको काम लगाउने भन्ने पर्न सक्छ । भोली ट्राभल एजेन्सिहरुले भरिया मजदुर पाएनन् भने अर्को समस्या हुन्छ ।’ उनि भन्छन् ‘यो समस्यालाई हामी बसेर छलफल गरेर टुंग्याउँछौं । तालिम छिट्टै सञ्चालन हुन्छ ।’
टानले पुष २४ गते जारि गरेको सुचना ।