घनश्याम पराजुली (कृष्ण), दोहा, नेपाल पत्रकार महासंघ कतार शाखाले “नेपाली जनतासँग गरेको वाचा नतोडौ, २०७१ माघ ८ भित्रै संविधान जारी गरौ” विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा कतारमा स्थापित नेपालका राजनैतिक दलहरुका प्रवास संगठनहरुका प्रमुखहरु सहित कतारमा क्रियाशिल पत्रकारहरु, संघ संस्था, समाजसेवी, बुद्धिजिवी लगायत व्यक्तित्वको उपस्थीति थियो ।
सो अन्तरक्रियामा प्रवासमा खोलिएका राजनीतिक दलहरुका भातृ संगठनहरु नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुबेदी, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैरे, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन र नेपाली संघिय समाजका अध्यक्ष चन्द्रशेर राईले आफ्ना धारणा राखेका थिए ।
अन्तरक्रियामा उपस्थित सबैको धारणा आगामी माघ ८ गते नै संविधान जारी गर्नु पर्ने रहेको थियो । राजनैतिक दलहरुका भातृ संगठनले कतारबाट संविधान निर्माणका लागि आ–आफ्ना पार्टीलाई दबावमुलक विज्ञप्ती बुझाउने समेत प्रतिबद्धता जनाए ।
कार्यक्रममा जनसम्पर्क समितिका सभापति सुबेदीले २०६२÷६३को जनआन्दोलनले गणतन्त्र स्थापना गरेको र यसैलाई आत्मसाथ गर्दै नेपालको मौलिक, धार्मिकता र जातिय पहिचानलाई समेट्दै लोकतान्त्रिक पद्धतीबाट संविधान आउने बताए ।
दलहरुले जनताको भरोसा तोड्न नहुने भन्दै प्रक्रियाबाटै भएपनि तोकिएको समय माघ ८ मा संविधानको दस्तावेज घोषणा गरेर अगाडी बढ्नु पर्ने उनको भनाई थियो । प्रवासी मञ्चका अध्यक्ष गैरेले माघ ८ मा संविधान जारी हुने सर्वत्र दुविधा रहेको बताउदै सबै दलहरुविचको सहमतीमा नै संविधान निर्माण हुने बताए । उनी सम्वद्ध नेकपा एमाले विधि र प्रक्रियाबाटै भएपनि तोकिएकै समयमा संविधान जारी गर्ने पक्षमा रहेको जानकारी दिए ।
त्यस्तै जनप्रगतिशिल मञ्चका अध्यक्ष शर्माले विगतका कालखण्डहरुमा बनेका संविधानहरु लामो समयसम्म टिक्न नसकेको हुदा अव बन्ने संविधान जनआन्दोलनलाई आत्मसाथ गर्दै नेपाली जनताका हक अधिकार सुनिश्चित हुने संविधान बन्नुपर्नेमा जोड दिए । एनेकपा माओवादीले संविधानका लागि दवावमुलक आन्दोलन गरिरहेको समेत जानकारी दिए ।
कार्यक्रममा एकता समाजका अध्यक्ष लुमाकान्त पुनले संविधान निर्माणका लागि तोकिएको समय १२ दिनमात्रै रहेको स्मरण गर्दै समयमा नै लोकतान्त्रिक संविधान बन्नुपर्ने बताए । उनले पहिलो संविधानसभा संघियताको विषय नमिल्दा देहवासन हुन पुगेको भन्दै राज्य संक्रमणकालको बन्दी हुनुबाट मुक्त हुनुपर्ने धारणा राखे ।
अर्का सहभागी संघिय समाजका अध्यक्ष राईले विभिन्न कालखण्डमा भएका आन्दोलनले सफलता पाएपनि देश परिर्वतन हुन नसकेको बताए । उनले आन्दोलनमा गरिएका सबै कुरा अहिलेसम्म पुरा हुन सकिरहेको छैन भन्दै पहिलेको शासनबाट पिछडीएका वर्गलाई माथी उठाउन, मुल धारमा ल्याउन पहिचान सहितको संघियता हुनुपर्ने बताए ।