नाम : सञ्जय इस्माली मगर उपनाम : भगवान थापा उमेर: २८ वर्ष ठेगाना : खनियापानी–७ रामेछाप हाल :साउदी अरब भूमिका : सुटर न्यायाधीश बमलाई गोली हान्नेमध्येका एक थिए भगवान थापा भनिने सञ्जय स्माइली मगर । वैदेशिक रोजगारीका क्रममा उनी अहिले साउदी अरेबियामा छन् । उनलाई पक्राउ गरी नेपाल भित्र्याउन नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले वारेन्ट नोटिस जारी गरेको छ । थापाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको सिआइबीका प्रमुख डिआइजी हेमन्त पालले बताए । फरार अपराधीको अन्तर्राष्ट्रिय खोजीका लागि डिफ्युजन नोटिस जारी हुन्छ ।
अदालतले वारेन्ट जारी गरिएका विरुद्ध रेडकर्नर नोटिस जारी हुन्छ भने अदालतमा मुद्दा दायर भएर वारेन्ट जारी नभएका अभियुक्तको हकमा डिफ्युजन नोटिस जारी हुन्छ । यस्तो नोटिस जारी भएपछि सम्बन्धित देशका प्रहरीले ती अभियुक्तलाई पक्राउ गरी निष्कासन गर्छ । नेपालको कुनै देशसँग पनि सुपुदर्गी सन्धि नभएकाले अपराधी हस्तान्तरण गर्ने चलन भने छैन ।
नेपाल प्रहरीको आग्रहमा हालसम्म १४ नेपालीसहित १६ जना अभियुक्तविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । जसमा अफगानिस्तान लैजाने भन्दै ठगी गर्ने अञ्जना तुलाधर, सोमनाथ निरौला, दुर्गा निरौला, ओमप्रकाश गुरुङ छन् । यसैगरी सो नोटिसमा रामचन्द्र शुक्ला, मीना शुक्ला, भिओआइपीका नाइके भोलाकिशोर डंगोल, हत्या घटनाका गोकर्ण गुरुङ छन् । त्यस्तै युनिटीका कृष्णबहादुर क्षेत्री, क्यापिटल मर्चेन्ट बैंक ठगेर अमेरिका भागेका पवन कार्की, युरोप पठाइदिने भन्दै ठग्ने सञ्जीव मुडभरी र विनय पाण्डेय छन् ।
रामेछापमा बलात्कारपछि युवतीको हत्या गर्ने श्याम राउत पनि इन्टरपोलको डिफ्युजन नोटिसमा छन् । प्रहरीले उपचारका लागि लैजाँदा गंगालाल अस्पतालबाट भागेका पाकिस्तानी नागरिक जमिल भाटीविरुद्ध पनि इन्टरपोलले नोटिस जारी गरेको छ । उनी नक्कली भारतीय रुपैयाँसहित पक्राउ परी जेल चलान भएका थिए । पछि उपचारका लागि गंगालाल अस्पताल गएको वेला उनी शौचालयबाट भागेका थिए ।
गत वर्ष मकवानपुरमा एक महिलामाथि एसिड खन्याएर हत्याको प्रयास गरेका भारतीय नागरिक दिलीपराज केशरीविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । डिफ्युजन जारी गरिएका युनिटी इन्टरनेसनलका विष्णु क्षेत्री पहिले नै पक्राउ परिसके पनि उनको नाम हटाइएको छैन । त्यस्तै इन्टरपोलले अन्य ७२ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।
नयाँ पत्रिका दैनिक