कतार- कतारमा ‘एक्जिट पर्मिट’ का लागि प्रस्तावित कानूनले स्पोन्सरसीपको व्यवस्थालाई स्पष्ट र सरल बनाउन खोजेको भन्दै त्यसमा कुनै द्धिविधा नराख्न कतारको आन्तरिक मन्त्रालयका एक उच्च पदस्थ अधिकारीले बताएका छन् ।
मन्त्रालयको ‘सर्च एण्ड फलोअप’ विभागका निर्देशक ब्रिगेडियर नासिर मोहम्मद अल सायदले नयाँ स्पोन्सरसीपको व्यवस्था केहि समय भित्रै जारी हुने भन्दै त्यसको सम्पूर्ण तयारी भइसकेको बताए । तर उनले सन् २०२२ मा कतारमा हुन लागेको विश्वकप फुटवल प्रतियोगितालाई मात्रै मध्यनजर गरेर यो परिवर्तन गर्न लागिएको नभएको प्रष्टिकरण समेत दिए ।
श्रमिक अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले खाडीका देशलाई आधुनिक दासता भएको देश भएको भन्दै कानूनमा सुधार गरी श्रमिकलाई अधिकार नदिएमा सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता कतारमा गर्न नदिन फिफालाई दवाव दिइरहेका छन् । त्यसैले केहि महिना अघि कतारले श्रम ऐनमा सुधार गर्दै श्रमिकलाई केहि अधिकार दिने घोषणा गरिसकेको छ । तर त्यसको कार्यान्वयन कहिले देखि र कुन रुपमा हुने भन्ने यकिन नभएकाले यसलाई उधारो प्रतिवद्धता भन्दै आलोचना हुँदै आएको छ ।
उनले भने ‘हामीले धेरै पहिले देखि नै यसमा समयानुकुल परिवर्तनको योजना बनाएका थियौं । हामीले सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजनाको अवशर जित्नु अघि देखि नै यो छलफल गरिएको विषय हो’ उनले भनेका छन् । उनले अल वाटसन अरबी दैनिकसँगको अन्तर्वार्ताका क्रममा कानूनको संशोधन पूर्ण भइसकेको र त्यो लागु हुने अवस्थामा रहेको बताए ।
उनले नयाँ कानूनले कामदार र रोजगारदाता दुवैको अपेक्षालाई सम्वोधन गर्ने बताए । ‘एक्जिट पर्मिट’का सन्दर्भमा निर्देशक नासिरले यसका बारेमा प्रष्ट व्यवस्था गरिएको आश्वासन दिए । ‘कसैले यसका बारेमा डराउनु पर्दैन’ उनले भने ‘यो सरल छ तथा कामदार र रोजगारदाताबीच सन्तुलन कायम हुने खालको छ ।’ नर उनले यसका बारेमा प्रष्ट भने बनाउन चाहेनन् ।
उनले अवैध रुपमा लुकेर बसेका कामदारलाई काममा नलगाउन रोजगारदाताहरुलाई समेत आग्रह गरे । त्यस्ता कामदारले चोरी गरेमा त्यसको उजुरी समेत रोजगारदाताले गर्न नसक्ने भन्दै त्यसलाई बन्द गर्न उनले आग्रह गरे । दोहाबाट कम्पनी छोडेर भागेका धेरैजसो कामदारहरु राजधानी भनदा टाढा एकान्तमा रहेका मजरा(खेतीपाती गरिने र पशुपालन गरिने ठाउँ)मा रोजगारी गर्ने गरेका छन् ।
यसैगरी एउटा कामको भिसामा कामदार मगाएर अर्कै काम लगाएको पाइएमा तुरुन्तै त्यस्ता कामदारलाई रोजगारदाता फेर्ने अवशर दिइने नासिरले बताए । रोजगारदाता बिरुद्ध उजुरी दिने कामदारलाई थुनिने छैन उनले भनेका छन् ।