
काठमाडौं, साउदी अरबमा बिरामी भएर नेपाल फर्किन हारगुहार गरिरहेका रामकुमार रिमालले सहयोगका लागि अपिल गरेका छन् । उनले आफ्नो आग्रह आफूलाई पठाउने एजेण्ट, मेनपावर कम्पनी तथा साउदीको कम्पनीले नसुनेको भन्दै सहयोगको अपिल गरेका हुन् ।
‘कम्पनीले काम गर्न दवाव दिन्छ, म बिरामी छु भन्दा पनि प्रहरी लगाउने धम्की दिइरहेको छ’ रिमालले भने । नेपालमा फोन गर्दा मेनपावर र एजेण्टले कुनै सहयोग नगरेको उनको भनाई छ ।
रिमाललाई साउदी पठाउने काममा संलग्न एजेण्ट प्रेम सोनीले भनें आफु सहयोगको लागि तयार भएको बताए । उनले भने ‘हो मलाई उसले(रिमाल) साउदीबाट फोन गरिरहेको छ । मैले काम गर्न नसक्ने भए काममा नगई बस्न भनेको छु, काममा नगइ बसिरहेको मान्छेलाई कम्पनीले फिर्ता पठाउन एकदिन बाध्य हुनेछ ।’
तर यसरी बिरामी मान्छेलाई विदेशमा अलपत्र पारिरहन मिल्छ भन्ने प्रश्नमा सोनीले भने ‘आफन्त आएमा म मेनपावर कम्पनीसँग लगेर कुराकानी गराईदिन सक्छु, त्यो भन्दा धेरै मेरो दायित्व हुन्न ।’
रिमाललाई विदेश पठाउने मेनपावर कम्पनी साउण्डलाइनमा फोन गर्दा राम नामका व्यक्तिले कम्पनीले औषधी गर्छौ भन्दा पनि रिमालले नमानेको र नेपाल फर्किन बल गरेको बताए । उनले भने ‘त्यत्रो रकम खर्च गरेर कम्पनीले लगेको हुन्छ, त्यसै भन्नेबित्तिकै कसरी फर्काउँछ ?’
उनले रिमाल नेपाल फर्किने हो भनें ६ ७ हजार रियाल क्षतिपूर्ति तथा फर्किने टिकट आफैंले काट्नुपर्ने बताए । मेनपावरका सञ्चालकहरु भनें टेलिफोन सम्पर्कमा आउन चाहेनन् ।
रिमालले भनें आफुलाई पटक–पटक अस्पताल लगिएपनि उपचार हुन नसकेको बताए । यहाँ उपचार पनि हुन्न, नेपाल पठाइदे भन्दा पनि मान्दैन उनले फेसबुक सम्पर्कमा भने । रामका दाजु ईश्वरले भाइले घरमा पनि फोन गरेर आफूलाई फर्काइदिन आग्रह गरिरहेको भन्दै त्यसका लागि आफुहरुलाई के गर्नुपर्छ भन्ने थाहा नभएको बताए ।
उनले केहि चिनेजानेकाहरुसँग कुरा गर्दा बैदेशिक रोजगार विभागमा उजुरी हाल्न सल्लाह पाएको भन्दै काठमाडौंमा त्यसका लागि आफन्तलाई भनेको बताए ।
बैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीले पीडितलाई साउदी अरबमा रहेको नेपाली दुतावासमा लिखित उजुरी हाल्न सुझाव दिंदै पीडितका आफन्तलाई विभागमा सम्पर्क गर्न आग्रह गरेका छन् । ‘दुतावासमा लिखित उजुरी हालेपछि प्रकृया सुरु हुन्छ, हामी तत्कालै मेनपावर कम्पनीलाई झिकाएर बिरामलाई नेपाल फर्काउने प्रकृया अघि बढाउँछौं’ कार्कीले भने ।
रिमालले पठाएको सन्देश यस्तो छ :
म पैसा कमाउन भनेर चारमहिना अगाडी साउदी अरब आएको हुँ । यहाँ आएको तीन चार दिनमै स्वास्थ्यमा समस्या देखियो । मेरो पिसावबाट रगत बग्ने समस्या छ । धेरैपटक अस्पतालमा गएर उपचार गराउँदा पनि ठिक भएन । म एकदम कमजोर भएको छु । बिरामी परेर काम गर्न नसक्ने भएपछि म घर फर्किन्छु भन्दा कम्पनीले १२ हजार रियाल तिरेर जा भन्छ । नेपालमा मेनपावरलाई फोन गर्दा एजेण्टलाई गर भन्छ । एजेण्टलाई फोन गर्दा उसले राम्रोसँग कुरा नै गर्दैन । फोन नै उठाउँदैन । काम गर्न नसकेपछि म नेपाल फर्किन खोजेको हुँ । काम गरेर कमाउन भनेर आएको मान्छे म त्यसै रहरले फर्किन खोजेको त होइन । तर कम्पनी, मेनपावर, एजेण्ट सवै मैले रहरले नेपाल फर्किन खोजेको जस्तै व्यवहार गर्छन् । म ६० हजार तिरेर आएको हुँ । तर यहाँ आएपछि थाहा भयो भिसा र टिकट फ्रि रहेछ । अहिले म साह्रै अप्ठ्यारोमा परेको छु तर वास्तै गर्दैन । म साउण्डलाइन मेनपावर कम्पनी मार्फत आएको हुँ । म आएको कम्पनीको नाम एक्सप्रेस फुड अलवाक कम्पनी हो । म अहिले काम गर्नै नसक्ने अवस्थामा छु । तर कम्पनीले तँ काम गर्न सक्छस् । त्यसैले अवको एक हप्ता भित्रमा काम गर्न थालिनस् भनें तलाई प्रहरी लगाएर पक्राएर थुनाउँछु भन्ने धम्की दिइरहेको छ । म राम्रोसँग हिंड्न समेत नसक्ने अवस्थामा छु, कसरी काम गर्न सक्छु र ? यहाँ आएको तीन महिनासम्ममा मैले १० दिन पनि राम्रोसँग काम गर्न सकिन । कम्पनीले एकपटक तलव दियो, त्यसपछि खाली हात छु । त्यसैले अहिले मसँग खाना खाने पैसा समेत छैन । साथिहरुले खुवाइरहेका छन् अहिलेसम्म त । साथिले पनि सधैं सहयोग गर्न सक्ने अवस्था त हुन्न । म काम गर्न पनि नसक्ने, नेपाल फर्किन पनि नपाउने अवस्था भयो । म यसै मर्ने भएँ । मलाई जसरी पनि नेपाल झिकाइदिनुहोस् । समस्यामा परेपछि म एक पटक सहयोग माग्न नेपाली दुतावास पनि गएँ । त्यहाँबाट मेनपावर कम्पनीमा फोन पनि गर्नुभएको थियो । त्यसरी म दुतावास गएको कुरा मेनपावरले कम्पनीमा खवर गरेछ । त्यसपछि कम्पनीले मलाई काममा नगए प्रहरी लगाउने धम्की दिन थाल्यो । मलाई जसरी पनि यो खाडलबाट निकालि दिनुहोस् । म गरिवको छोरो यो मरभूमिमा मर्ने अवस्था आइसक्यो । रामकुमार रिमाल, जेद्धा (हाल साउदी अरबको जेद्धामा रहेका रिमालले देश परदेशलाई पठाएको सन्देश) तपाईको भनाई लेख्नुहोस्