
काठमाडौं – साउदी अरबको रियादमा तीन वर्षअघि सडक दुर्घटनामा परी मृत्यु भएका कपिलवस्तु बैडुली–२ का अब्दुलरसिद मुलसमानको परिवारले ३ लाख साउदी रियाल (करिब ८१ लाख रुपैयाँ) क्षतिपूर्ति पाउने भएको छ।
साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले रियादस्थित अदालतले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको जानकारी दिए। ‘नेपालीले पाएको यो सम्भवतः सबैभन्दा ठूलो क्षतिपूर्ति रकम हो, पाण्डेले भने। उनका अनुसार क्षतिपूर्ति रकम दूतावासले परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ।
राजदूत पाण्डेका अनुसार सन् २०११ डिसेम्बरमा गाडीको ठक्करबाट मुसलमानको मृत्यु भएको थियो। त्यसपछि पीडितका पक्षबाट साउदीस्थित नेपाली दूतावासले मुद्दा लडेको थियो। सबै प्रक्रिया पुर्यायएपछि सन् २०१३ सेप्टेम्बरमा रियादस्थित अदालतमा मुद्दा दर्ता भएको थियो। अदालते केही दिनअघि मात्र पीडितका पक्षमा फैसला सुनाएको हो।
यस्तै, डेढ वर्षअघि साउदीमै सडक दुर्घटनामा परी मृत्यु भएका सुनसरी, बकलौरी–५ का महीनारायण चौधरीका परिवारले पनि क्षतिपूर्ति स्वरूप २ लाख साउदी रियाल (करिब ५४ लाख रुपैयाँ) पाउने भएका छन्। अदालतले केही दिनअघि मात्र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको हो।
चौधरीको सन् २०१४ अगस्टमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो। उनको मुद्दा पनि दूतावासले लड्दै आएको थियो। चौधरीको परिवारले पाउने क्षतिपूर्ति रकम पनि दूतावासले परराष्ट्रलाई पठाइसकेको राजदूत पाण्डेले बताए। चौधरीको परिवारलाई १–१ लाख साउदी रियाल गरी क्षतिपूर्ति उपलब्ध गराइएको हो। ‘पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं, राजदूत पाण्डेले भने।
साउदीस्थित नेपाली दूतावासका अनुसार गत मंसिरमा मात्र दूतावासले ३३ जना पीडित परिवारका नाममा आएको २ लाख १ हजार ५ सय ६९ साउदी रियाल (करिब ५४ लाख ४२ हजार ३ सय ६३ रुपैया) क्षतिपूर्ति रकम मन्त्रालयमा पठाइसकेको छ। तीन महिनायता दूतावासले ७९ जना पीडित परिवारका नाममा आएको करिब १ करोड ३३ लाख रुपैयाँ नेपाल पठाइसकेको छ। ‘करिब चार वर्षमा हामीले पीडितका नाममा आएको ८१ लाख साउदी रियाल (करिब २१ करोड ८७ लाख रुपैयाँ) क्षतिपूर्ति नेपाल पठाइसकेका छौं राजदूत पाण्डेले भने।
प्राकृतिक रूपमा मृत्यु भएका तथा आत्महत्या गरेकाको परिवारले क्षतिपूर्ति रकम पाउँदैनन्। काम गर्ने सिलसिलामा घाइते तथा मृत्यु भए र सडक दुर्घटनामा परी घाइते तथा मृत्यु भएका परिवारले क्षतिपूर्ति रकम पाउने गर्छन्। अदालतको आदेशअनुसार क्षतिपूर्ति रकम रोजगारदाता कम्पनी तथा कसुरदारले पीडित परिवारलाई उपलब्ध गराउँछन्।
क्षतिपूर्ति रकमका लागि अदालतमा लामो समय मुद्दा लड्नुपर्ने भएकाले पीडितका पक्षबाट दूतावासले नै मुद्दा लड्ने गरेको छ। पीडित परिवारले क्षतिपूर्ति रकम पाउन कम्तीमा पनि मृत्य भएको डेढ–दुई वर्ष कुर्नुपर्छ।
नागरिक दैनिकबाट