बिदेशबाट फर्केर गोलभेंडा खेतीले मालामाल

म्याग्दी, पुस १२– वैदेशिक रोजगारी त्यागेर गाउँमै टनेलमा गोलभेँडाखेती गरेका म्याग्दीका एक युवा मनग्य आम्दानी गर्न सफल भएका छन् । ताकम गाविस–५ का ३६ वर्षीय धनबहादुर पौडेल टनेलभित्र लगाएको गोलभेँडा र तरकारी बिक्री गरेरै मालामाल बनेका छन् ।

छ वर्ष भारत, चार वर्ष साउदी र तीन महिना बहराइनमा काम गरेर गाउँ फर्किएका पौडेल पाँच वर्षदेखि निरन्तर तरकारीखेतीमा सक्रिय रहँदै आएका छन् । हाल उहाँले बेनी–दरवाङ सडकको छेवैमा पर्ने दरवाङ–२ ढाँडखर्कमा पाँच रोपनी जग्गा भाडामा लिएर छवटा टनेलमा लटरम्म गोलभेंडा फलाएका छन् ।

यसका साथै सिमी, साग, बन्दा, काउलीलगायतका तरकारीखेती गरेका पौडेलले वार्षिक रु तीन लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएको बताए । दुई वर्ष ताकममा तरकारीखेती गर्दा सफलता पाएका पौडेलले बजार नजिक भएकाले वार्षिक रु १२ हजार भाडा तिर्ने गरी ढाँडखर्कमा जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् ।

उनले उत्पादन गरेको तरकारी दरवाङ बजारमा खपत हुन्छ । विदेशमा रु आठ/दश हजारका लागि अरूको अधिनमा रहेर, शोषण सहेर दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा परिवारसँगै रमाएर तरकारीखेती गर्दा धेरै सुख, आम्दानी र सन्तोष मिलेको पौडेलको अनुभव छ ।

पहिले सामान्य आर्थिक अवस्था भएका पौडेलले तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि दुई छोराछोरीलाई निजी विद्यालयमा पढाएका छन् । पौडेलले पछिल्लो मौसममा एउटै टनेलबाट सात हजार किलोग्राम गोलभेँडा उत्पादन गरेर रु ४२ हजार आम्दानी गरेको सुनाए । तापक्रम र वातावरण सन्तुलन राख्न सघाउ पुग्ने भएकाले प्लास्टिकको टनेलभित्र गोलभेँडा लगायतका बेमौसमी तरकारी उत्पादन गर्न सकिने र आम्दानी पनि बढी हुने कृषक पौडेलको भनाइ छ ।

पौडेलले तरकारीखेतीसँगै बाख्रा र कुखुरापालन गर्ने योजना बनाएका छन् । तरकारी खेतीका लागि गैरसरकारी संस्था सहमति र लघुउद्यम विकास कार्यक्रमले एक/एकवटा टनेल सहयोग गरेका छन् भने कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेको पौडेलले उल्लेख गरे ।

रातोपाटीबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय