
सिरहा, कमाउन भन्दै मलेसिया पुगेका सप्तरी महदेवा गाविसका १५ जना नेपाली कामदार अलपत्र परेका छन् । मलेसिया पुगेको तीन साता नवित्दै उनीहरु अलपत्र परेका हुन् ।
मलेसिया पुगेका भगवानलाल रजकले फोनमा भने, ‘जुन कम्पनीको कामका लागि एजेन्टले भनेको थियो, त्यो नभई इँटा बोक्ने काममा लगाइएको छ ।’ पेटभरी खान नदिएको, जंगलमा बस्न भनेको र रातिको समयमा कम्पनीमा आउने–जाने गर्नु परिरहेको रजकको भनाइ छ ।
मलेसिया पठाउने एजेन्टले १४ सय रिङ्गेट तलव पाउने बताए पनि १२ सयसम्म तलव पाइरहेको र त्यसमध्ये पनि बिभिन्न नाममा रकम काट्दा थोरै रकम बाँकी रहने गरेको उनीहरुको पीडा छ । समस्याका बारेमा केही बोल्दा त्यहाँका व्यक्तिहरुले कुटपिट र गालीगलौज समेत गर्ने गरेको फोनमा रुँदै भगवानलालले भने ।
भगवानलालका साथै सन्तोष रजक, कुशे साफीसहित १५ जना महदेवा गाविस ४ चकलाबाट दुई साता अगाडि मलेशिया उडेका थिए । सप्तरीकै गम्हरिया प्रवाहा गाविस ९ बिषहरिया निवासी एजेन्ट ओमप्रकाश साहलाई एक लाख ५० हजारका दरले रकम दिएर काठमाडौंको ब्रेड–वे आभेरसिजमार्फत उनीहरु एकैपटक मलेसिया गएका थिए ।
एजेन्ट साहले गाउँ आएर विदेश पठाएर राम्रो आम्दानी गराइदिने भन्दै पासपोर्ट बनाउन लगाएको र सबैको पासपोर्ट लिएर म्यानपावर कम्पनीमा बुझाएको कुशे रजकका पिता जितेन्द्र साफीले बताए । उनका अनुसार पासपोर्ट बुझाएपनि रकम अभावमा जान असमर्थता देखाएपछि एजेन्ट साहले पासपोर्ट नै फिर्ता दिन नमान्दा ऋण गरेर पनि धेरैलाई विदेश जानुपरेको एकसाथ राजविराज आएका पीडितका परिवारजनले बताएका छन् ।
‘केहि दिनमा ऋण चुक्ता गर्ने सोंच बनाएका थियौं तर अब त्यो सपना जस्तै भएको छ’, सन्तोषकी पत्नी सुनिताले भनिन्, ‘जसोतसो ऋण लिएर श्रीमान्लाई विदेश पठायौं । तर एजेन्टले आफ्ना पतिलाई अलपत्र पारिदिएकाले स्वदेश फकाईदिन सबैसँग आग्रह गर्दछु ।’
ताजा बहसबाट