श्रीमान् कतारबाट आइपुगे, श्रीमति अर्कैसँग भागिछन्

चितवन, अभिषेक चेपाङ मकवानपुरका ख्यातिप्राप्त बाँसुरी वादक हुन् । उनी छतिवन जनसांस्कृतिक परिवारमा रहेर थुप्रै वर्ष सांस्कृतिक अभियानमा होमिए । वाद्यवादन र गायनमा राम्रो प्रतिभा रहेका उनी अभिनयमा समेत छाएका कलाकार हुन् । ‘दिलमा राम्रो ठाउँ छ’ भन्ने बोलको लोकगीतमा मोडलिङ गरेपछि उनी एकाएक चर्चामा आए ।

मकवानपुरका विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा उनको उपस्थिति अनिवार्य जस्तै रहेको छ । जनसांस्कृतिक परिवारमा सांस्कृतिक अभियानका क्रममा उनी प्रेममा परे पाख्रिन थरकी एक युवतीसँग । ती युवती पनि नाचगानमा बेजोड नै थिइन् । अन्ततः उनीहरुको प्रेमले बिहेको रुप धारण ग¥यो । र, उनीहरुले हात मिलाएर जनवादी बिहे गरे । 

दुबै कलाकार भएकाले उनीहरुको कमाइ राम्रै थियो । उनीहरु राक्सिराङ–८ चुरिधाराबाट बसाइँ सरेर चितवनको पदमपुर–८ सिमलबस्तीमा आए । केही जग्गा किने । बिहे गरेको एक वर्ष नपुग्दै उनीहरु एक छोराको धनी भए । त्यसपछि यहाँको कमाइले उनीहरुको खर्च धानेन । अभिषेकले अरुकै एल्बममा करिब ३० वटाजति गीतमा स्वर दिए पनि आफैंले एल्बम निकाल्ने सामथ्र्य नभएपछि बाध्यतावश कतार हान्निए । दुई वर्षको छोरा र श्रीमतीको खुसीका लागि विदेश गएको उनी सुनाउँछन् ।

कुल्ली कामको लागि मजदुरी गर्नु परे पनि उनलाई कत्ति पनि गाह्रो लागेन । राक्सिराङको चिसो ठाउँमा हुर्किएका उनी कतारको चर्को गर्मी खपेर काम गरिरहे । कलाकारलाई जहाँ गए पनि सम्मान । उनी कतारको दोहामा पनि बेस्मरी जमे । उनले खुरूखुरू श्रीमतीलाई पैसा पठाए । छोराको हेरचाह गर्न भने ।

परदेशको पीडा र परिवारसँग टाढा बस्नु परेकोमा उनी कैयौँपटक फोनमा रोए । र, छोरा र श्रीमतीको खुसीका लागि आफैंलाई सान्त्वना दिँदै आफ्नो काम जारी राखे । उनी २७ महिनापछि नेपाल फर्किए । पदमपुरमा रहेको फुसकै घर भए पनि उनका लागि स्वर्गसमान थियो । अलि राम्रो घर बनाउने, छोरालाई बोर्डिङमा पढाउने र एउटा राम्रो एल्बम निकालेर फेरि कला क्षेत्रमै रमाउने उनको सपना थियो ।

विडम्बना, त्यो सब भताभुङ्ग भयो । उनी जब घर फर्किए, तब थाहा पाए कि उनकी श्रीमती अर्कैसँग हिंडिसकिछन् । ६ वर्षको छोरा र उनले मिहिनेत गरी कमाएर पठाएको रकमसमेत लिएर पदमपुरकै वाइवा थर भएका व्यक्तिसँग श्रीमती भागेपछि उनको सपना चकनाचुर भयो ।

प्रेम बिहे गरेकी श्रीमती, त्यो पनि घरमा श्रीमती भएकै व्यक्तिसँग गएपछि उनलाई उठ्नुसम्म रिस उठेको छ । भन्छन्, ‘म जसका लागि परदेश गएँ, जुन सपना बोकेर कुल्ली काम गरेँ, त्यो सबै भताभुङ्ग भयो ।’ उनले भर्खरैमात्र श्रीमती लैजाने व्यक्ति पत्ता लगाउन सफल भए । तर उसैले उल्टै उनलाई तथानाम गाली गरेर थर्कायो । उनले यस घटनाको कानुनी उपचारका लागि इलाका प्रहरी कार्यालय, रत्ननगरको शरण लिएका छन् ।

श्रीमती लैजाने व्यक्तिको खोजीमा लाग्दालाग्दै उनी बिखर्चीसमेत भइसकेका छन् । उनी भन्छन्, ‘मेरोजस्तो हाल कसैको पनि नहोस् ।’ उनी अहिले आफ्नो छोरा र कमाएर पठाएको पैसा फिर्ता हुनुपर्ने र अर्को बिहेका लागि लाग्ने खर्चसमेत व्यहोर्नुपर्ने मागसहित प्रहरी कार्यालय धाइरहेका छन् ।

अत्यन्त निराश अवस्थामा भेटिएका उनले गीतकै भाकामा भने, ‘रोएको रोएैछ खुसी छैन मन ।’ उनी अझै पनि एउटा एल्बम भने निकाल्ने योजनामा छन् । भन्छन, ‘म आफ्नै जीवनमा घटेको घटनालाई समेटेर लोकगीतको एल्बम निकाल्ने तयारीमा छु, मेरो आत्मकथाले सबै स्रोतालाई धरधरी रूवाउने छ ।’ तर दुःखको कुरा, आर्थिक रुपमा उनी एल्बम निकाल्न सक्ने अवस्थामा उनी छैनन् ।

रेस्क्यू न्यूज अनलाइनबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: