मरे भनेको मान्छे भेटिए मलेसियामा

काठमाडौं, ३ पुस– ‘बेकारमा ज्यानको बाजी लगाएर आन्दोलनमा लागिएछ है,’ एक वर्षअघि शिव बिँडारीले प्रदिपकुमार सिग्देलसँग यसरी दुःख पोखेका थिए । शिव २०६२/०६३ को जनआन्दोलनका घाइते हुन् ।  त्यतिबेला ट्रकको खलासी थिए शिव । धादिङको भुमेस्थान घर भएका उनी २० वर्षका मात्र थिए । एक कप चियाका भरमा आन्दोलनको अघिल्लो मोर्चामा उनी लगातार सहभागी भए । २०६३ साल चैत २६ गतेदेखि वैशाख ६ गतेसम्म उनी जनआन्दोलनमा सहभागी भए ।

जनआन्दोलन चैत २४ गतेदेखि सुरु भएको थियो ।  वैशाख ६ गते जनआन्दोलनको विरोधमा खटिएका प्रहरीसँग पौंठेजोरी खेल्दा शिवलाई टाउकोमा गोली लागेको थियो । गोली लागेपछि बेहोस शिवलाई मर्यो भनेर बारीमा फालिएको थियो । यद्यपि, शिव त्यतिबेला बेहोस मात्रै रहेछन् । तर उनी मारिए भनेर ‘को होला ऊ’ भन्ने उनको फोटोसहितको पोष्टर पनि सार्वजनिक गरिएको थियो ।

लडेर बेहोस भएका शिवलाई धेरै समयपछि चलमलाएको देख्नेले बोकेर अस्पताल लगे । काठमाडौं मोडल अस्पतालमा उपचारपछि उनको टाउकोमा लागेको घाउ निको भयो । जनआन्दोलन पनि सफल भयो । ‘तर, जनआन्दोलनपछि न त नेताहरुले घाइतेको वास्ता गरे न त देशमा  परिवर्तन विकासका लागि कुनै काम नै गरे,’ शिवको गुनासो छ ।

नेताहरुको व्यवहारबाट विरत्तिएका शिवले एकैदिन पिँडुलामा गोली लागेर घाइते भएका थानकोट ८ का प्रदिपकुमार सिग्देलसँग दुखेसो पोखेका थिए, ‘दाइ हामीले ज्यानको बाजी लगाएर लड्नुको कुनै उपलब्धि भएन ।’ उनले भनेका कुरा सम्झिँदै प्रदिपले चक्रपथलाई सुनाए, ‘नेपालमा जागिर पनि पाइँदैन । न त जनआन्दोलनको घाइते भनेर कुनै सुविधा नै छ ।’

समयमा संविधान बनाउन नेताहरुले सकेनन् । न त शिवले गतिलो रोजगारी नै पाए नेपालमा । देशको राजनीतिबाट बिरत्तिएका शिव एक वर्षदेखि रोजगारीका लागि विदेसिएका छन् । ‘दीगो शान्ति हुन्छ, समयमा नै संविधान बन्छ भनेर लडेका थियौं, ’ प्रदिप भन्छन्, ‘जनताको भावना नेताले बुझ्न सकेनन् ।’

२०६३ वैशाख ६ गते कलंकीमा प्रहरीले गोली चलाउँदा पाँच जना एकैपटक घाइते भएका थिए । दिनेश गोपाली पनि त्यतिबेलाकै घाइते मध्येका एक हुन् । उनको पनि टाउकोमा गोली लागेको थियो । ‘जनतामाथि ज्यादती गर्ने राजालाई हटाएर जनताकै शासन ल्याउने’ आसमा आन्दोलनमा गएका गोपाली प्रहरीको गोली लागेर घाइते भए ।  उनीहरुलाई उपचार गराइरहँदा काठमाडौं मोडल अस्पतालमा पुगेर एमाले र काँग्रेसका नेताले संयुक्त प्रतिबद्धता जनाएका थिए– हामी तपाईंहरुको लागि देश बनाएरै छाड्छौं ।

सुशील कोइराला, माधवकुमार नेपाललगायतका नेताले गरेको प्रतिबद्धता सम्झिँदा गोपालीलाई व्यङ्ग्य गर्न मन लाग्छ । भन्छन्, ‘नेताहरु बोल्ने मात्रै रहेछन्, देशका लागि यिनले केही गर्दैनन् ।’

यो समाचार प्रतिमा सिलवालले चक्रपथ डटकममा लेखेकी हुन् । 

तपाईको भनाई लेख्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय