
काठमाडौं , पुस ५ मलेसियाले भिसा सकिन लागेका ३ लाख ५२ हजार ४ सय ९३ विदेशी कामदारको भिसा एक बर्षका लागि थप गर्ने घोषणा गरेको छ । त्यहाँको सरकारले गैरकानुनी हैसियतमा रहेका उनीहरुलाई यसअघि सन् २०११ मा आममाफी कार्यक्रम अन्तर्गत बैध गराई रोजगारी दिइएयता समयावधि सकिन डेढसाता मात्रै बाँकी छँदा यस्तो निर्णय गरेको हो ।
उनीहरु सबैको यही बर्ष अन्त्यमा भिसा सकिंदैथियो । उसले कामदारको चर्को अभावका कारण मुलुकको अर्थतन्त्रमा असर पर्ने भएकाले ती कामदार फर्काइनुअघि नै भिसा नवीकरण गरेर रोजगारी यथावत दिने निर्णय गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
जानकारहरुका अनुसार अर्थतन्त्र विकासका लागि मलेसियालाई अझै २७ लाख कामदारहरुको आवश्यकता पर्दछ । कामदारहरुको चर्को अभाव झेलिरहेको मलेसियाले अर्थतन्त्रमा गिरावट आउन नदिन उक्त निर्णय गरेको गृह मन्त्रालयका एकजना अधिकारीलाई उध्दृत गर्दै प्रमुख अंग्रेजी दैनिक न्युस्टन टाइम्स लगायत अन्य स्थानिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सरकारले ठूलो संख्यामा भइरहेको कामदार अभावले मुलुकको व्यवसाय र अर्थतन्त्रमा असर पर्नसक्ने महसुस गरेको छ । बिहीबार विदेशी कामदारसम्बन्धी समितिको वैठकमा सहभागी गृहमन्त्रालयका कार्यकारी महासचिव अल्वी इब्राहिमले भनेका छन्, त्यसैले मन्त्रीपरिषद्ले अर्को एकबर्ष उनीहरुको भिसा थप्ने निर्णय गरेको छ । अब रोजगारदातालाई पनि नयां कामदार ल्याउन र पूरानालाई फर्काउने प्रशस्त समय मिलेको छ । बिहीबार मलेसियाली गृहमन्त्री अहमद हमिद जाहिदी र इण्डोनेसियाली जनशक्ति मन्त्री मुहम्मद हनिफ धाकिरीबीच छलफल भएको जनाइएको छ । इण्डोनेसिया मलेसियालाई सबैभन्दा धेरै कामदार दिने मुलुक हो ।
नेपालीको लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेको मलेसियाले सिक्स पी नाम दिइ विभिन्न ६ चरणमा सम्पन्न गरिएको उक्त कार्यक्रममार्फत दुइबर्षअघि करिब १४ हजार नेपालीले अस्थायी अनुमति सहित २ बर्ष काम गर्ने अवसर पाएका थिए । उनीहरुलाई यही बर्ष अन्त्यमा फर्काईंदै थियो । नयाँ निर्णयसंगै अब उनीहरुले आगामी बर्ष २०१५ को अन्त्यसम्म काम गर्न पाउनेछन् ।
मलेसियास्थित नेपाली दुतावासका अनुसार गैरकानूनी कामदारलाई बैध बनाई काम गर्न दिइएको उक्त कार्यक्रमा करिब ३३ हजार नेपाली दर्ता भएका थिए । तीमध्ये करिब १४ हजार नेपालीले बैधताका लागि दरखास्त दिए । यो निर्णयबाट हजारौं नेपाली लाभान्वित हुनेछन् । किनकी थप एकबर्ष काम गर्न पनि पाउने र बैधानिकता पनि कायमै हुने भयो ।
सन २०११ मा ल्याएको आममाफी कार्यक्रममार्फत करिब १० हजार गैरकानुनी हैसियतका नेपालीलाई बैधता प्रदान गरि सुरक्षागार्डमा रोजगारी दिएको थियो । सिक्स पी आममाफीपछि गैरकानुनी कामदारलाई बैधता दिलाउने सुनौलो कार्यक्रम थियो । मलेसियाली अधिकारीहरुले रोजगारदाताहरुलाई आफुसंग यसअघि सिक्सपिमार्फत दर्ता भएका कामदारहरुको भिसा नवीकरण समयमै गर्न र नयां कामदार भर्नापनि समयमै गर्न भनेका भनेका छन् ।
मलेसियाली रोजगारदाताहरुको संस्था मलेसिया इम्प्लोयर्स फेडेरेसनले गत सोमबार २ बर्षका लागि अस्थायी अनुमति पाएका कामदारहरुको भिसा नवीकरण गरिदिन सरकारलाई अपील गरेको थियो । ती कामदारहरुलाई यसैबर्ष स्वदेश फर्काइएको भए उनीहरुको ठाउंमा रोजगारदाताहरुले नयां कामदार भर्ना गर्न २ दशमलब ५ बिलियन रिंगिट खर्च हुने भन्दै रोजगारदाताले समस्या बुझिदिन सरकारलाई आग्रह गरेका थिए । गत २०११ मा गैरकानुनी आप्रवासी कामदार घटाउन मलेसियाले उनीहरुको दर्ता, बैधता, आममाफी, सुपरिवेक्षण, कारबाही अभियान र स्वदेश फिर्ती लगायत विभिन्न ६ चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । कान्तिपुरबाट