
अत्तरिया-कैलालीको फूलबारी गाविस स्थित ई गाउँका चारजना कामदार मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया गएका रामबजारे चौधरी, प्रकाश चौधरी, सीताराम चौधरी र बाबुराम चौधरी अलपत्र परेका उनका परिवारका सदस्यहरुले जानकारी दिएका छन् । मलेसियाको एलएच गोल्डेन रिसोर्सेज कम्पनीमा काम गर्न गएका उनीहरु अहिले घर फर्कन चाहे पनि आवश्यक कागजात नहुँदा मलेसियाको राजधानी क्वालालम्पुरमा लुकेर बस्दै आएको रामबजारेकी श्रीमती सुस्मिता चौधरीले बताइन् । उनीहरु नूर अपर्चुनिटीका स्थानीय प्रतिनिधि अशोक सुवेदीमार्फत मलेसिया पुगेका थिए । जनही १ लाख २५ हजार बुझाएर मलेसिया गएका उनीहरुको ‘कन्ट्र्याक्ट भिसा’ भएकाले धेरै समय काम गर्न नपाएपछि अलपत्र परेको बताइएको छ । यस्तै सोही म्यानपावर कम्पनीमार्फत मलेसिया गएका कैलालीको गदरिया गाविस–१ का माघु चौधरी पनि अलपत्र परेका छन् । अलपत्र परेका उनीहरुलाई घर फर्किने व्यवस्था गरिदिन आफन्तजनले आग्रह गरेका छन् । रासस