
घनश्याम पराजुली (कृष्ण), दोहा । प्रवासमा लोक संस्कृतीको जगेर्ना गर्ने साथै नयाँ प्रतिभाको खोजीका लागि कतारमा प्रवासी नेपाली सिंगीङ्ग आईडलको कार्यक्रम शुरु भएको छ ।
प्रवासी नेपाली सांगितिक परिवार कतार र समाज सेवा अभियान रुपन्देहीले संयुक्त रुपमा गायन क्षेत्रका नयाँ प्रतिभाको खोजी कार्य शुरु गरेको हो । शुक्रवारका दिन कतारको सल्वा रोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा ५७ जना सहभागीहरुले आफ्नो नाम दर्ता गराईसकेका छन भने पहिलो अडिसन आगामी १९ डिसेम्वरमा हुनेछ । अडिसनको दिनसम्म पनि आफ्नो नाम दर्ता गराउन सकिने व्यवस्था रहेको जानकारी कार्यक्रममा दिईयो । सहभागीहरु अझै थपिने अनुमान गरिएको छ ।
सदावहार गायिकाको उपाधि पाएकी चर्चित पप गायिका नलिना चित्रकारको उपस्थितीले उद्घाटन कार्यक्रमलाई थप रौनक बनायो । ‘चाहिंदैन हिरा मोती माया भए पुग्छ’ बोलको गितबाट आफ्नो प्रस्तुती शुरु गरेकी उनले ‘तिमी हामी यसरी भेट भाको बेला’, ‘मै छोरी सुन्दरी’, ‘सालको पात टपरी गाँसेर’ जस्ता गितले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरिन ।
कार्यक्रममा क्यूएन व्याण्डको पप गित ‘गौरव लाग्छ नेपाली हुनुमा’, गैर आवासिय नेपाली तारा गायक वीरेन्द्र श्रेष्ठले ‘आफु रोएर पनि’, चितवन आईडलका रनअरअप नवराज श्रेष्ठले ‘फूल पूुलेको टिप्नलाई’, लोकदोहोरी गायिका कविता तामाङ्ग ‘डाँडै काटी जाउ बरु निरमाया सम्झनाले मुटु जलाउँछ’ , सुरसंगम साधना केन्द्रका गायक राकेश चाम्लिङ्गले ‘हेर्दैछु म धोको फेरी झरेको कहानी’ गाएर दर्शकलाई मनोरञ्जन गराए । साथै कार्यक्रममा गायक छविलाल मगर, विजय शाही, प्रेम गुरुङ्ग लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रह्यो ।
एनआरएनएका सल्लाहकार तथा व्यवसायी आरके शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सञ्जय रजकले सभापतित्व गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी र प्रतिनिधिको उपस्थिीति थियो ।
कार्यक्रमका संयोजक शक्ति क्षेत्रीले एकल स्वर मालाको रुपमा कार्यक्रम रहने बताउदै प्रवासमा नयाँ प्रतिभाको खोजी कार्य शुरु भएको बताए । प्रमुख अतिथी शर्माले प्रवासमा विभिन्न समस्याहरु झेल्दा झेल्दै पनि आफ्नो कलाको जर्गेना गर्ने कार्य देशका लागि अतुलनिय योगदान रहेको बताए ।
उनले जीवन र संगितको सम्वन्ध अति गाढा रहेको भन्दै कार्यक्रम सफलताको शुभकामना सहित कतारी रियाल ५ हजार सहयोग गरेका थिए । कार्यक्रमका लागि युवा समाजसेवी ईश्वर काफ्लेले कतारी रियाल ४ हजार, राजु भट्टराईले १ हजार रियाल, दिल सुनार र उमाकान्त पोख्रेलले ५ सय रियाल सहयोग गरे ।
कार्यक्रमको दोश्रो पुरस्कारका लागि पर्वत युवा सेवा समाजका निर्वतमान अध्यक्ष पुर्ण बहादुर नेपाली र तेश्रो पुरस्कार पर्वत युवा सेवा समाजका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले प्रदान गर्ने भएका छन ।
प्रतियोगिताको पहिलो विजेताले रु १ लाख, दोश्रोले रु ५० हजार र तेश्रो विजेताले २५ हजार पुरस्कार पाउनेछन । पहिलो विजेतालाई निःशुल्क एल्बम रेकडिङ्गको व्यवस्था मिलाईदिने समेत कार्यक्रममा बताईयो । निर्णायक मण्डलमा दिपक लिम्बु, देविका केसी र सन्तोष गुरुङ्गको भुमिका रहनेछ ।
गत बर्ष तमु समाज कतारको आयोजनामा यसरी नै गैर आवासिय नेपाली तारा आयोजना गरिएको थियो जो अहिले प्रवासबाट उदाएका गायकको रुपमा नेपाली आकाशमा घन्की रहेका छन । नेपालमा जस्तै तामझामका साथ शुरु भएको यस कार्यक्रमले फेरी अर्को तारा जन्माउने अपेक्षा गरिएको छ ।
तपाईके विचार लेख्नुहोस्