
काठमाडौं, इजरायलमा नेपालीले राहदानी हराउने समस्या बढेपछि इजरायलमा रहेको नेपाली दुतावासले त्यसमा सचेत रहन आग्रह गरेको छ । दुतावासले विज्ञप्ती निकाल्दै दोहोर्याएर राहदानी बनाउनु पर्ने अवस्था नआओस् भनेर सचेत रहन आग्रह गरेको हो ।
दुतावासले निकालेको विज्ञप्तीमा अधिकांश राहदानी तेलअभिवको तखाना मर्काजितबाट चोरी हुने गरेको गुनासो आउने गरेकाले त्यस्ता क्षेत्रहरूमा हिडडुल गर्दा राहदानीको फोटोकपी मात्र वोकेर हिड्न अनुरोध गरिएको छ । कतिपय ठाउँमा चोरले झोला चोरेर लैजाँदा र कतिपय ठाउँमा लापरवाहीका कारण राहदानी हराएको निवेदन पर्ने क्रम बढेको भन्दै दुतावासले राहदानी जस्तो महत्वपूर्ण कागजात सुरक्षित रुपमा राख्न आग्रह गरेको छ ।
एमआरपी इन्टरपोलमा विवरण राखिने भएका कारण हराएको राहदानीले समेत भविष्यमा समस्या निम्त्याउन सक्ने भएकाले यसतर्फ सजग रहन समेत दुतावासले ध्यानाकर्षण गराएको छ ।
यसैगरी राहदानी हराएपछि नयाँ बनाउन समेत समय लाग्ने भएकाले तत्काल यात्रा गर्न समेत कठिनाई हुने भन्दै आफ्नो राहदानी सुरक्षित रुपमा राख्न दुतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध गरेको छ ।
हेर्नुहोस् दुतावासको सुचना