
काठमाडौं, इन्टरनेट र सामाजिक सञ्जालको सुविधाले विश्वलाई जति साँघुरो बनाइरहेको छ, यसको दुरुपयोगले त्यति नै समस्या पैदा गरेका छन्। केही समयअघि एक प्रतिष्ठित कलाकारको फेसबुक एकाउन्टबाट ठूलो अजिंगर भएको भिडियो सेयर भएको थियो। तर, भिडियो खोल्दा अजिंगर नभई अन्य चिज देखापरे। त्यो त पोर्नोग्राफी साइटको विज्ञापन रहेछ। कलाकारलाई पनि कसैले पठाएको रहेछ। र, उनले खोल्न खोज्दा सबैलाई सेयर भएछ।
यस्ता भिडियोले सामाजिक सञ्जालको दुरुपयोगकर्ताको बिगबिगी देखाउँछ। सामाजिक सञ्जाल प्रयोगकर्तालाई लाइक वा सेयर गर्नुअघि १० पटक सोच्नैपर्ने पाठ सिकाउँछ यो घटनाले। भिडियो च्याटका लागि प्रख्यात छ, स्काइप। भक्तपुरका साकारलाई एक अपरिचितले स्काइपमा आउन अनुरोध गरे। उनले तुरुन्तै स्काइप खोले।
तर, भिडियो कन्भर्सेसन अन गर्दा उनी तर्सिए। उता लाइभ सेक्स चलिरहेको थियो। विश्वव्यापी रूपमा फैलिरहेका यस्ता फेक एकाउन्टका कारणले सामाजिक सञ्जालमा रमाउनेहरू बेलाबेलामा तनावमा पर्छन्।
झन्डै ८६ लाख इन्टरनेट प्रयोगकर्ता रहेको नेपालमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने पनि चानचुने संख्यामा छैनन्। तर, साइबर क्राइमका थुप्रै घटना प्रहरीसम्म नपुग्दै बिलाउँछन्।
केही उदाहरण फेसबुकमा अभिव्यक्त सामान्य कमेन्टकै कारण सप्तरीका अब्दुल रहमानले २० दिन थुनामा बिताउनुपर्यो। उनले लेखेको कमेन्टलाई लाइक गरेकै भरमा सप्तरीकै पुनम पोखरेल र मनोहर पोखरेललाई प्रहरीले बयान लियो। सेयर बजार साप्ताहिकमा प्रकाशित समाचार फेसबुकमार्फत सेयर गरेको अभियोगमा उक्त साप्ताहिकका सम्पादक दिनेश आचार्यलाई पक्राउ गरी विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाइयो।
नेपाल हेडलाइन्समा प्रकाशित समाचारको आधारमा विद्युतीय कारोबार ऐनको कसुर गरेको भन्दै पत्रकार सुशील पन्त पक्राउ परे। समाज खबर डटकममा प्रकाशित समाचारका विषयमा प्रकाशक–सम्पादक नकुल अर्याललाई बोलाएर सोधपुछ र मौखिक स्पष्टीकरण लिइयो।
सामाजिक सञ्जालमा केही लेख्दा, कमेन्ट गर्दा, लाइक गर्दा, रिट्विट गर्दा वा पत्रपत्रिकामा छापिएका कुरालाई सामाजिक सञ्जालमा सेयर गर्दासमेत ऐन आकर्षित भई कारबाहीमा पर्न सकिन्छ। साइबर क्राइमका घटनालाई नजिकबाट अध्ययन गरिरहेका प्रहरी एवम् कानुनविद्हरू भन्छन्, विद्युतीय माध्यमबाट हुने घटनाको असर पत्रपत्रिकामा प्रकाशित भएका सूचनाभन्दा बृहत् हुन्छन्। विद्युतीय माध्यमबाट प्रसारित एवम् प्रेषित कुनै पनि सूचनाको असर विश्वव्यापी हुने भएकाले यो बढी खतरनाक हुन्छ।
हात–हातमा स्मार्टफोन बोक्ने आजको पुस्ता वाइफाई र सोसल साइटलाई दालभातभन्दा महत्वपूर्ण कुरा मान्छन्। फेसबुकमा कमेन्ट नलेखी खाएको खाना पनि नपच्ने जमाना आएको छ। साइबर कानुनमा दख्खल राख्ने अधिवक्ता बाबुराम अर्याल भन्छन्, कुनै कुरा फेसबुकमा लाइक गर्दा वा सेयर गर्दा त्यो हरेक लाइक वा सेयरलाई एक नयाँ प्रकाशनसरह मानिन्छ। अथवा, त्यसको स्रोत व्यक्ति तपाईं हुनु भयो भन्ने बुझिन्छ। यदि कसैले कुनै गलत वा भ्रामक कुरा पोस्ट गरेको रहेछ र तपाईंले त्यसलाई लाइक वा सेयर गर्नुभयो भने अब त्यो लाइक गरेबापत तपाईंले त्यो भ्रामक कुरालाई पुनर्प्रकाशित गर्नुभयो। र, तपाईं पनि सजायको हकदार बन्नुभयो।
अपराधसम्बन्धी रिपोर्टिङ गरिरहेका पत्रकार केपी ढुंगाना भन्छन्, अहिले प्रहरीले सामाजिक अपराध र गम्भीर अपराधलाई एकै डालोमा राखेर अनुसन्धान र सजायको सिफारिस गर्ने गरेको छ। यो कदापि जायज होइन। जस्तो, फेसबुकमार्फत ज्यान मार्ने धम्की दिनु र कसैको विचारमा प्रतिक्रिया जनाउँदा एकै प्रकृतिको दण्ड सजायको सिफारिस गर्नु कसरी सही हुन्छ ?
सामाजिक सञ्जाल आफ्ना मनको बह पोख्ने उत्तम थलो हो। मूलधारका पत्रपत्रिकासम्म पहुँच नभएकाहरूका लागि यो आफ्ना कुरा खुलेर राख्ने राम्रो डबली बनेको छ। तर, यसै डबलीको दुरुपयोग गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
साइबर क्राइम वर्तमान समयको आधुनिक र विकराल अपराधको रूपमा विश्वभर फैलिरहेको छ। विभिन्न देशले साइबर क्राइमलाई आ–आफ्नै ढंगले परिभाषित गरी कानुन तयार गरेका छन्। तर, नेपालमा यो विकराल साइबर क्राइम के हो रु के के गर्दा साइबर क्राइम गरेको ठहरिन्छ भन्ने कुरालाई स्पष्ट परिभाषित गर्ने ऐनको अभाव छ।
विद्यमान विद्युतीय कारोबार ऐन भए पनि पूर्ण र स्पष्ट छैन। सामाजिक सञ्जालमा लेखिएका, सेयर र लाइक गरिएका कुरालाई साइबर क्राइमका रूपमा परिभाषित गरिएकोमा पत्रकार उमेश श्रेष्ठ प्रश्न गर्छन्, के नागरिकको अभिव्यक्ति विद्युतीय कारोबार हो ? के लेख्ने, के नलेख्ने, के लाइक गर्ने जस्ता कुरा पनि राज्यले निर्देश गर्न मिल्छ ? अनलाइन र सामाजिक सञ्जालमा लेख्दा गरिएको कारबाहीले राज्यको नियत अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने देखिन्छ।
नागरिक दैनिकबाट