सरुवाको विरोधमा स्वास्थ्य सेवा विभाग घेराउ

काठमाडौं– सरुवा भएका कर्मचारीको पदस्थापना नहुँदैं स्वास्थ्य सेवा विभागले पुनः थप कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको भन्दै कर्मचारी संगठनहरुले विरोध जनाएका छन् । विरोधमा कर्मचारीहरुले बिहिबार दिनभर महानिर्देशकको कार्यकक्ष घेराउ गरेका थिए ।

विभागले गत कात्तिक ३० गते नर्सिङ र पारामेडिकल कर्मचारीको सरुवा गरेको थियो । तीन सय ९९ पारामेडिकल र एकसय १४ नर्सिङ कर्मचारीको सरुवा भएकामा तिनीहरुको पदस्थापना नहुँदैं थप दुईसयभन्दा बढी कर्मचारीको सरुवा गर्ने तयारी भएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनले विरोध जनाएका हुन् ।

पहिले सरुवा गरिएका कर्मचारीको पदस्थापना गरेरमात्र नयाँ कर्मचारीको सरुवा गर्नुपर्ने माग उनीहरुको छ ।

स्वास्थ्य खबर पत्रिकाको अनुसार नियमितविपरित सरुवा गरिएको भन्दै उजुरी परेपछि गत कात्तिक ३० गते भएको सरुवा विवादमा परेको थियो । विवादपछि स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको थियो । मन्त्री खगराज अधिकारीले बिवादबाट आफू बच्न जेनेभा जानुअघि महानिर्देशकलाई आफु निकट कर्मचारीको नाम दिएर सरुवा गर्न निर्देशन दिएको विभाग स्रोतको भनाई छ । मन्त्रीले नाम थप गर्नका लागि सरुवामा बिवाद भएको भन्दै छानविन कमिटि गठन गर्न आदेश दिएको स्रोतको दाबी छ ।

अहिले गर्न लागिएको सरुवा नियमावलीविरुद्धरहेको आरोप कर्मचारी संगठनको छ । कर्मचारीहरुले महानिर्देशकको कार्यकक्ष घेराउ गरेपछि प्रहरीले हस्तक्षेप गर्दै बाहिर निकालेको थियो ।

स्वास्थ्य सेवा नियमावलीअनुसार मन्त्रालयले असोजमा, विभागले कात्तिकमा, क्षेत्रीय कार्यालयहरुले मंसिरमा र जिल्ला जनस्वास्थ्यले पुसमा कर्मचारी सरुवा गर्ने व्यवस्था छ । विभागले कात्तिकमा सरुवा गरेपनि पुस लाग्ने वेलासम्म पनिपत्र नदिएको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेल स्वास्थ्य मन्त्रीले गरेको चलखेलका कारण सरुवा भएका कर्मचारीले पत्र पाउँन नसकेको बताए । घिमिरेले मन्त्रीको ध्यान पदस्थापनामा भन्दा सरुवामा मात्र केन्द्रित रहनु अस्वभाविक रहेको बताए । ‘पदस्थापना नगरि किन सरुवामा मात्र मन्त्रीको विषेश इन्ट्रेस्ट हुन्छ’, घिमिरेले भने ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रबहादुर कार्कीले विभागका केही कर्मचारीले आपूर्ति महाशाखाको बन्द कोठामा बसेर दुई जनाको सरुवाको टेण्डर खुलाउन लागेको आरोप लगाए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय