
”यो जुनिमा रङ्गीचङ्गी देख्न सकिन । जन्मैदेखि यस्तै भयो । यस बाहेक अरु के मा कम छु र ? बाँसुरी, मादल र बच्छेबाजा राम्ररी बजाउँछु । यतिमात्रै कहाँ हो र मादल र बच्छेबाजा एकै पटक बजाउन सक्छु । गित गाउन स्वरपनि राम्रो छ । मुडा बनाउने सीप देखिहाल्नु भयो । के गर्नु ? सपना त कलाकार बन्ने थियो । सानैदेखिको सपना । तर, न समुह मिल्यो न त अवशर । कहिलेकही गाउँघरमै पर्ब, मेला, बिहेमा बाजा बजाएर, गित गाएर गुजारा नचल्ने । टाढाटाढा जाउँ एक्लो ज्यान, कसरी जानु ?” मोरङ, उर्लाबारीका दिष्ट्रबिहीन रुद्र दर्जीले आफ्नो दक्षता र कठिनाइ एकैसाथ सुनाए ।
बिगत कोट्याउदै उनले भने ‘बेलामौकामा बाजा पनि बजाउने । अनि दैनिक अलिअलि कमाइ हुने उपायको खोजिमा थिएँ । सोचेको थिएँ भरिसक्के एकै ठाउँमा बसेर गर्न सकिने काम होस् । थोरै पैसाले सुरुगर्न सकियोस् । बिक्रीगर्न टाढा जानु नपरोस । दुइ–चारदिन बिक्री नहुँदा पनि नबिग्रीयोस ।
त्यस्तो के काम होला ? कसैगरि उपाय त निक्लेला तर, म त्यो काम गर्न सक्छु कि सक्दीन ? महिनौ दिन मनमा अनेक कुरा खेले । साच्दैमा धेरै रातहरु नसुतेरै बिते । आफ्नै मनलाइ बारम्बार सोधें । अहँ मनले केहि भनेन । दाजुभाउजुसंग बस्दथे ।
उहाँहरुलाई के गर्दा हुन्छ भनेर सोधें ? अनि चिनेजानेका धेरैलाई के गर्दा हुन्छ ? उपाय देखाइ दिन अनुरोध गरें । तर, धेरैले खै तिमीले के गर्न सक्छौ र ? आँखै देख्दैनौ । आँखै नदेख्नेलाई के काम देखाइ दिनु ? भने । मनै गरुङ्गो हुन्थ्यो । गरुङ्गो मनलाई रोएरै हलुङ्गो पार्थे ।’
अलिक आक्रोसित हुँदै उनले भने ‘मेरो भोगाइमा हेर्नु र देख्नुमा फरक छ । आँखा हुनेहरु सबैले हेर्छन । तर, थोरैले मात्र देख्दैनन् । देख्नत मन चाहिन्छ, मन । यसले कति ठूलठूला कुरा गर्यो भन्नुहोला । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । के गर्नु ? बिगतका कुरा बिर्सन खोज्छु । तर, कहिलेकही हावाहुरीझै आउँछ । यसो भन्दाभन्दै गित पो गाउन थाले नारायण गोपालकै झल्को दिनेगरि
‘यो सम्झने मन छ म बिर्सु कसोरी …….’
उनले थपे ‘धन्न उर्लाबारीका दृष्ट्रिबिहीन जोडि राजकुमार र इन्दीरा राईसंगको भेटले यो सीप सिक्ने प्ररेणा मिल्यो । उनीहरु पनि मुडा नै बनाएर बेच्दा रहेछन । छोरी सहित तीनजनाको परिवार मुडैमा अडेको रहेछ । उनीहरुकै सल्लाह अनुसार मुडा बनाउन सिक्ने निधो गरें । र, उर्लाबारीकै ब्यास दाइ (ब्यास लिम्बु)संग सिकें ।
यी देखिहाल्नु भयो अहिलेसम्म दाइसंगै काम गर्दै छु । एक बर्ष भयो खनखाँचोको लागि पैसा सापटी माग्नु परेको छैन । यसैबाट चल्दैछ । अलिक हात बसेपछि छुट्टै बसेर गर्ने बिचारमा छु ।
अहिलेसम्म मुडा बेच्न बजार लानु परेको छैन । खोजिखोजि किन्न यही आउँछन । सुरुसुरुमा सक्दीन कि जस्तो लाग्थ्यो । तर, अव त मेरो मन मुडैमा बसिसक्यो । त्यसैले अब हातखुट्टा चलुनजेलसम्म यही काम गर्ने हो’ रुद्रले भने ।
अप्ठ्याराहरु के के छन् त ? उनले लामो सास तान्दै भने ‘ सिन्काको लागि बाँस ल्याउन सक्ने कुरै भएन । सबैभन्दा अप्ठ्यारो त यही हो नि । साइकलको टायर, प्लाष्टिकको डोरी बजारबाट किनेर ल्याउन, बाँसलाई टुक्रा पार्न र कप्टेरा बनाउन सक्छु । तर, कप्टेरालाई ताछेर एकै आकारका चिल्ला सिन्का बनाउन निकै गाह्रो हुन्थ्यो ।
धन्न ब्यास दाइले सिन्का बनाउने औजार (मेसिन) बनाएपछि सजिलो भएको छ साथसाथै छिटोपनि । झट्ट हेर्दा ओदान जस्तो देखिएपनि माथिल्लो भाग क्रमश साँघुरो छ । र, माथिल्लो भागमा कप्टेरा छिर्ने गरि बाहिरी भाग अलिक धार भएको रिङले बाधेको छ । त्यही रिङमा कप्टेरा राखेर काठको मुङग्रोले बिस्तारै ठोक्दा कप्टेरा क्रमश रिङबाट छिर्दा एकै आकारका चिल्ला सिन्का बन्दारहेछन । उनले बनाएर देखाए । मान्नुपर्छ ब्यासको सिर्जना ।
खुकुरीले बनाउँदा एक दिनमा मुस्कीलले १ सय वटा सिन्का बन्दारहेछन । तर, यस्को प्रयोगपछि ६ सयसम्म सिन्का बनाउन सकिन्छ । न हात काट्ला भन्ने डर न त साना–ठूला होलान भन्ने पीर नै । ब्यासको सिर्जना, आवश्यकताले गरेको आविश्कार दृष्ट्रिबिहीनहरुलाई बरदान नै भएको छ । चार–पाँच महिना भएछ यो औजार प्रयोगमा ल्याएको । त्यसैले धेरैलाई थाहा छैन । हेर्दा पो सामान्य र सानो तर, काम त ठूलो रहेछ ।
उनको बारेमा शारीरिक अपाङ ब्यासले भने ‘मैले १०/१२ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई मुडा बनाउन सिकाएँ । सिकाएका मध्ये सबै भन्दा सिपालु यिनै हुन । आँखा देख्नेहरु भन्दा पनि सिपालु ।’
राजन पौडेल, बिराटनगर (पौडेलले रुद्र दर्जीसँग गरेको कुराकानीका आधारमा तयार पारिएको सामग्री)