सार्वजनिक सवारी चालक नियमावलीको विरोध

काठमाडौं, यातायात क्षेत्रमा क्रियाशिल प्रमुख तीनवटा ट्रेड युनियनले सरकारले ल्याएको सार्वजनिक सवारी चालक नियमावलीको विरोध गरेका छन् ।

नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारि गर्दै यातायात मजदुरहरु पेशामा रहनै नसक्ने गरी तथा नयाँ चालकहरु उत्पादन हुनै नसक्ने गरी नियमावली जारी गरिएको बताउँदै उनीहरुले खारेज गर्न माग गरेका छन् । बिज्ञप्तिमा भनिएको छ– ‘दुर्घटनाको अन्य कारणहरुका बारेमा मौन रहेर सबै दोषहरु चालकमाथी थोपर्दै समग्र यातायात मजदुरहरुलाई बदनाम बनाउने सरकारी अदुरदर्शीताको हामी विरोध गर्दछौं ।’

यातायात क्षेत्रका समस्या समाधानका लागि संगठनहरुले दिएका सुझावहरुलाई वेवास्ता गर्दै एकांकी रुपमा नियमावली ल्याउनुले सरकार निरंकुश बन्न खोजेको नेपाल यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राईले बताए ।

‘देशमा पछिल्लो समय बढीरहेको सडक दुर्घटनाका विषयमा हामी तिनवटै संगठनहरु गम्भिर छौं’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महसचिव भीमज्वाला राई भन्छन्, ‘दुर्घटनामा भएको जन, धनको क्षती प्रति गहिरो दुख व्यक्त गर्दै आफ्ना कमि कमजोरीप्रति सजायको भागीदार समेत बन्न तयार छौं तर दुर्घटनाका अन्य दोषीहरुलाई समेत समाजमा उजागर गर्दै कारवाहीको भागीदार बनाउनु पर्दछ ।’

देशभरिका यातायात मजदुरहरुलाई आतंकीत तथा विस्थापित बनाउने गरि नियमावली ल्याएको बताउँदै अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिंखडाले नियमावली तत्काल खारेज नगरे तिनवटै संगठनहरु आन्दोलनमा उत्रने चेतावनी दिए ।

दिनहुँ दुर्घटनाका दुःखद खबर आउन थालेपछि सरकारले मंसिर २५ गते सार्वजनिक सवारी चालक नियमावली ल्याएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय