मेरो कथाकी पात्र

रामप्रसाद ढुंगेल, युएई नेपालमा सुसारे, खाडीमा खदामा, इजरायलमा केयर गिभर । पदलाई जहाँ जसरी परिभाषित गरे पनि उस्तै हो काम, उस्तै हुन् कामको चटारो । उस्तै हुन् बाध्यता अनि उस्तैै हुन् दुःखले भरिएका कहानीहरु । तर, कमाइका दृष्टिले उत्तम थियो इजरायल ऊबेला । छ अझै पनि आकर्षक कमाइ । युरोप वा अमेरिकामा जति नै कमाए पनि इजरायलमा जोगिने पैसामा खासै ठूलो अन्तर थिएन र छैन अझै पनि । त्यही पैसाका कारण रित्तिदैछन् नेपाली बस्तीहरु । खाडीले तानेको छ धेरै तन्नेरीहरुलाई । बलियाबांगा छैनन् गाउँघरमा । रोधीमा भेटिन्नन् युवाहरु, साकेला र धाननाच उस्तरी जम्न छाडेको छ । देउडामा पनि बुढाबुढीमात्र देखिन्छन् । न त जन्तीमा छन् युवाहरु, न त मलामीमा नै । छोटो समयमा धेरै धन कमाएर बुढेसकालमा सुखी जीवन जिउने मिठो सपना कसको हँुदैन ? कमाउने जिम्मा अब पुरुषको मात्र रहेन । बुढाबुढीको सेवा गर्ने भिसामा नेपाली महिलाहरु इजरायल पुग्न थाले केयर गिभर भन्दै । बिदेसिनु कसैको रहर होइन । तर, इजरायलको सपना देख्न थालेपछि धेरै कुरामा आँखा चिम्लिदिन्छन् नेपाली आमाहरु । छोराछोरी रातारात होस्टलमा कैद हुन पुग्छन् आमाको भिसा लागेपछि । नानीहरुको मातृत्व खोसिन्छ । निरस बन्छ बाल्यकाल बच्चाहरुको । होस्टलमा बसेका अधिकांश बालबालिका पारिवारिकभन्दा बढी यान्त्रिक हुन्छन् भविष्यमा । यस्तो कुरामा टेन्सन लिँदैनन् नेपाली आमाहरु इजरायलको भूत चढेपछि । बरु श्रीमान् बाहिर पल्केर घरबार बिग्रेला कि ? भनी हरदम सताउँछ इजरायलमा पुगेकाहरुलाई । काम गर्ने भूगोल फेरियो । परिचय फेरियो । अव उनहिरु फेसबुक का भित्ताहरुमा झुल्किन्छन् । तिनिहरुमा कतै माया, प्रेमका कुरा हुन्छन् कतै विरहका गन्थनहरु । अनी धेरैजसो भेटिन्छन् तरह तरहका फोटोहरु । कतै झुन्डिएका हुन्छन् कुण्ठा त कतै गजलका नाममा फजलहरु । सुन्दर तस्वीरहरुको प्रतिस्पर्धात्मक अपडेटले त लाग्छ इजरायल साँच्चीकै फूलबारी पो हो कि ? कतारमा कार्यरत एक जना मेरा कवि मित्र इजरायललाई नयाँ ससुराली भनी सम्बोधन गर्थे । इजरायलमा कार्यरत नयाँ केटी साथीसँग रातभर स्काइपमा भिडियो च्याट गरेको बताउँथे । दिउँसोको डियुटी उङेर मुस्किलले पूरा गर्थे । विवाहित मेरा साथी आफ्नी नेपालबासी श्रीमतीलाई भन्दा बढी समय इजरायलतिर दिन्थे । भन्थे कि ऊ पनि विवाहित हो । दुवै फगत आफ्ना कुण्ठा साटासाट गरिरहेका थिए । समयको अन्तरालमा मेरा पनि फेसबुकमा करिब १२ सय साथी पुगेछन् । ती १२ सयमा १२ जना जति इजरायलमा कार्यरत केही मित्रहरु पनि परेका होलान् सायद तर यसमा आफ्नी बहिनी, साली, दिदी, पूर्व सहकर्मीहरु पनि छन्, जो पूर्व परिचित । केही पूर्व अपरिचितहरु पनि छन् । अन्ततः हामी पनि साथी बन्यौं फेसबुकमा । कसले पठायो रिक्वेट, कसले एक्सेप्ट गर्यो, कहिले भयौं साथी, किन भयौं साथी, केही थाहा छैन । भेटिन थाल्यौं अनलाइनमा । राम्री पनि होइन, नराम्री त हुँदै होइन । कर्ली कपाल, करिब ३० देखि ३५ वर्ष हुनुपर्छ उमेर । केटीको उमेर नसोध्नू भन्छन् त्यसै पनि । जान्ने मोह पनि छ्रैन खासै । नाम साया बस्नेत, घर इटहरी, सुनसरी, माइत सोधेकै छैन, दुई वा तीन जना भन्थिन् छोराछोरी । श्रीमानबारे मैले सोध्दा नेपालमा मात्र लेखिपठाएकी थिइन् । भर्खरै लाइसेन्स पाए पनि फिक्स डिउटी पाएको थिइनँ मैले । कहिले यता, कहिले उता, जता खाली उतै जानुपथ्र्यो मैले । त्यो रात म डियुटी सकेर फर्केको थिएँ । भोलिपल्ट मेरो छुट्टी थियो । फेसबुक खोलें, एकान्तको मनपर्दो साथी जो बनेको छ फेसबुक । यो बिनाको जीवन कति निरस हुँदो हो ।अनलाइनमा टुप्लुकिइन् उनी । सन्चै हुनुहुन्छ ? मबाटै च्याट संवाद सुरु भएथ्यो । हो त, छोटो उत्तर आयो इजरायलबाट । खाना खानु भो त ? भो त । फ्रि हुनुहुन्छ ? छु त । छोटा प्रश्नहरुका छोटै आइरहे उत्तरहरु । मलाई एउटा हेल्प गर्नुहुन्छ ? प्रश्न मेरो थियो । कस्तो हेल्प ? प्रश्नै बनेर आयो रिप्लाई । म एउटा रिसर्च गर्दैछु, मैले लेखेथें । उसले ठाडै सोधी, मैले के गर्नु त ? मैले लेखेको थिएँ कि मेरा केही प्रश्नहरुको उत्तर दिनुपर्छ । इजरायलबाट सोध्नुहोस् भन्ने स्वीकारोक्ति आयो । बिनाकारण अफलाइन होली भन्ने चिन्ताले म प्रशंसाको पुल बाँध्न थालें र लेखें मलाई तपार्इंको ऊ मन परो । उसले ‘ह्वाट ?’ लेखिपठाई अनि तत्कालै लेखी कि सब लोग्नेमाग्छे उस्तै हुन्छन्, सबै जना ऊ मात्र मन पराउँछन्, ऊ मात्र गर्न खोज्छन् । लोग्नेमान्छेको सबभन्दा खराब पक्ष भनेकै ऊ लोग्नेमान्छे अर्थात् भाले हुनु हो । अन्य अपशब्दहरुको प्रहार सुरुमै खप्नुपर्यो मैले । मैले उनलाई कुल बनाउन च्याट बक्समा लेखें, सरी, गलत अर्थ लाग्यो । मेरो आशय त्यो थिएन ।मैले त तपाईंको कर्ली कपाल पो मन परो भन्या त । मेरो रिसर्च त सुरु नहुँदै अन्त्य हुने परो नि । उसको चित्त बुझेछ क्यार, ‘ल ल, गो अहेड’ लेखेर पठाई । मैले सतर्क हुँदै लेखें कि म तपाईंलाई पाँचवटा प्रश्न सोध्छु, हरेकको २० मार्क हो । तपाईं तयार हो ? उताबाट ‘यस आई एम रेडी’ अंग्रेजीमा टाइप भएर मेरो ल्यापटपमा टुप्लुकियो । मेरो पहिलो प्रश्न थियो, ह्वाट इन लाइफ ? उत्तर तत्काल आयो कि लाइफ इज पजल । ह्वाट इज लभ ? दोस्रो प्रश्न थियो मेरो । हुरीझंै आयो उत्तर लभ इज ए क्रेजी गेम । अब के सोधौं भएँ म । मेरो केही तयारी थिएन । महाभारतमा यक्षले युधिष्ठिरलाई सोधेका प्रश्नहरु अचानक मनमा आए । त्यही प्रश्न हुत्याएँ, संसारमा सबैभन्दा ठूलो को हो ? उसले डयाड् लेखी । नारी भएर पनि आमाको सट्टा बाबुलाई ठूलो किन ठानेकी होली भनी गम्दै चौथो प्रश्न पनि यक्षकै सापटी लिएँ, परदेशको मित्र के हो ? उसले दुःखको साथी लेखेकी थिई । पाँचौ प्रश्न अलि विवादास्पद पनि बन्न सक्थ्यो । सोधौं कि नसोधौंको अन्योलतामा पौडिरहेको थिएँ । उसैले सोधी खोइ त लास्ट प्रश्न ? मैले आए आँप गए झटारो सम्झेर लेखिदिएँ कि ह्वाट इज सेक्स ? प्रश्न पठाइसके पनि म डराएको थिएँ । फेरि गाली खानु पर्ला भनी तयारी गर्दै थिएँ, उत्तर ‘थाहा छैन’ भनेर आयो । उत्तर अमूर्त आए पछि म झनै अन्योलमा परें । अब कसरी अगाडि बढ्ने भनी सोच्दै थिएँ, उसले प्रतिप्रश्न गरेर आफ्नो रिजल्ट मागी । तपार्इं चलाख, परिपक्व, समझदार र लजालु महिला हुनुहुँदो रहेछ । १०० पूर्णांकमा तपाईंले ८० स्कोर गर्नुभयो । अब दोस्रो चरणका प्रश्नहरु सोधौं ? मैले फटाफट आफ्ना कुरा च्याट बक्समा टाइप गरी रिप्लाइमा क्लिक गरें र किचनबाट जुस लिएर आएँ, लामो च्याटले तन र मनको तिर्खा जो जागेको थियो । उसले दोस्रो चरणका प्रश्नहरुको पनि उत्तर दिने र मेरो रिसर्चलाई सफल बनाउनमा पूर्ण सहयोग गर्ने बताई । ऊ खुसी रहेको उसका शब्दहरुले बताइरहेका थिए । यो चरणमा त अलि अफ्ठ्यारा प्रश्नहरु हुन्छन् नि, मैले सचेत गराएँ उसलाई अगाडि नै । उसले फ्याट्ट लेखी ‘के आज मेरो इन्टरभ्यु हो ?’ मैले सम्झाउने कोसिस गरें कि रिसर्चमा यस्तै हुन्छ, यसरी खोजी गर्दै जाँदा ठूल्ठूला रिपोर्टदेखि लिएर कथा, उपन्यास र सिनेमा पनि बन्न सक्छन् । सिनेमाको कुराले उसलाई छोएछ क्यार लेखी ‘फिलिम पनि बन्छ र ?’ मैले बन्न सक्छ, केही फिल्महरु यस्तै रिसर्च, इन्टरभ्युबाट बनेको प्रसंग जोडें । फेरि फुर्कयाएँ कि यो प्रोजेक्टले फिलिमको रुप लियो भने तपाईं हिरोइन पक्का । उसले खुसी भएको संकेत स्टिकर पठाएर गरी र स्काइपमा आउन आग्रह गरी । मैले पहिलो भेटमा स्काइपमा कुरा नगरौं पछि प्रोजेक्ट सफल भयो भने प्रत्यक्ष भेट भइहाल्ला भनेर टार्न खोजें । उसले त्यसो हो भने तपाईंले जे सोधे पनि उत्तर दिन्छु भनेर लेखी । मैले नेपाली चलचित्रमा हिरोइनहरुले कथाले मागेजति अंग प्रदर्शन गर्न तयार छु भन्ने गरेको अभिव्यक्तिसँग उसको भनाइलाई तुलना गरिहेरे । मैले यस्तै केके सोचेर बिलम्ब गरे पछि उसैले सोधी खै त प्रश्नहरु ? सकिए ? वास्तवमा मसँग रेडिमेड प्रश्नहरु थिएनन् । पूर्वनिर्धारित थिएन हाम्र्रो च्याटवार्ता । जे पायो त्यही सोधेर भड्काउनु पनि भएको थिएन । म अलि प्रसंगहीन भएर सोध्न थालें तपाईंको नाम साया नै हो ? उसले आफूलाई साया नाम मन परेर राखेको बताई र रियल नाम रियल भेटमा मात्र भन्ने जनाई । सायाहरु त निर्दयी पो हुँदा रहेछन्, मैले टाइप गरेको थिएँ । किन र कसरी एकै पटक मेरो स्क्रिनमा देखापरे । समर लभ भन्ने उपन्यासमा साया नाम गरेकी पात्रले विदेश गएपछि आफ्नो श्रीमान्लाई वास्ता नगरेको प्रसंग मैले बताएँ । उसले तत्काल प्रतिक्रिया दिई, मैले त आफ्नो श्रीमान्लाई भुलेकी छैन क्यारे । मैले पनि लेखे भन्न त सबैले त्यसै भन्छन् नि ? उसले प्रसंग बाहिरिन दिइन, खै त प्रश्नहरु ? एग्रिमेन्टमा हस्ताक्षर भए पछिमात्र दोस्रो चरणका प्रश्नहरु सोधिने अडान कसें मैले । एग्रिमेन्टमा हस्ताक्षर भएपछि पारिश्रमिक कति दिने भनी सोध्न बेर गरिन उसले । मैले पारिश्रमिक अनलिमिटेड र केही प्रतिशत रोयल्टी पनि पाइने दर्साएँ । उसले प्रतिशतको मात्रा जान्ने इच्छा गरी । मैले आपसी सहमतिमा १० देखि १५ प्रतिशतसम्म हुन सक्ने जनाएँ । उसले रोयल्टी थोरै भएको संकेत गरी । मैले पनि त्यही अनुपातमा पाउने कुरा बताएँ र यो प्रोजेक्टको आउटपुट पुस्तक भए प्रकाशक या फिलिम भए निर्माताले धेरै प्रतिशत लिने बताएँ । मैले फेरि लेखें कि कथाको पात्रलाई रोयल्टी दिने चलन कतै छैन र, भए पनि मेरो जानकारीमा नरहेको कुरा हो यो । अझ स्पष्ट पार्न मैले फेरि लेखें कि म पात्रको खोजीमा छु । कस्तो पात्र ? ऊ प्रश्न बनेर आई म पनि उत्तर बनेर इजरायल पुगें, कथाकी पात्र । उसले सोधी मैले के गर्नुपर्छ ? मेरा सबै प्रश्नहरुको जवाफ दिनुपर्छ । मलाई के फाइदा हुन्छ ? ऊ अलि प्रोफेसनल बन्दै सोध्न थाली । मैले उसलाई झनै प्रष्ट पार्नुपर्ने आवश्यकता बोध गर्दै भूमिका बाँध्न थालें । यो प्रोजेक्टले कथाको रुप लियो र त्यस्तै अन्य कथाहरुको संग्रह पुस्तकका रुपमा आयो भने र त्यस संग्रहले छापामारको छोराको स्तर चुम्यो भने हामी रातारात हिट हुनेछौं । त्यसरी नै यसले उपन्यासको रुप ग्रहण गर्यो भने र त्यो उपन्यास राधा, सेतो धरती वा दामिनी भीरको समकक्षमा पुग्यो भने त्यसबापत पाइने मदन पुरस्कारको राशिको २ लाख मध्ये १ लाख तपार्ईंको भागमा पर्नेछ । फिलिम भए त तपाईं स्वयम् हिरोइन । मैले फेरि लेखेको थिएँ कि म पृथक कथाधारी र फरक भूमिका निर्वाह गर्न सक्ने पात्र खोजिरहेछु । अनि हिरो चाहिँ को होला त ? तपाईं नै होला नि ? उसले विषयको गम्भीरतामा ध्यानै नदिएर सोधेकी थिई हिरोको बारेमा । मैले उसलाई बुझाउन सकिरहेको थिइनँ । फेरि टाइप गरें म त लेखक मात्र, तपाईंको हिरो हुन लायक छुइनँ म । ह्यान्सी हुनुहुन्छ त ? ऊ पनि प्रशंसाको जालो बुन्न माहिर भइसकिछे । प्रसंग निकै बाहिरिएको महसुस गरी मैले आग्रह गरें सोधौं त प्रश्नहरु ? उसले स्वीकृति जनाएपछि मैले सोधे, गल्फका केटाहरु त इजरायललाई नयाँ ससुराली भन्छन् त ? प्रायःका केटासाथी हुन्छन् रे नि ? तपाईंका कति होलान् केटासाथी ? अलि भूमिका बाँधेर सोध्नुपर्ने प्रश्नलाई ठाडै सोधेको थिएँ मनभरि डर बोकेर । केही क्षणको मौनता र पर्खाइ चिर्दै उनको रिप्लाई आयो, केटासाथी त टन्नै छन् नि । आजै देखि अर्को थपिएको छ, पत्रकार जस्तो छ । पत्रकार भनेपछि मेरो ध्यान त्यतैतिर गयो र सोधें, पत्रकार रे, नाम भन्न मिल्छ, कुन मिडिया हाउसको ? उसले लेखिथी, आफैंलाई नचिन्ने ? हुस्सु । म झनै अन्योलतामा डुबें । रातको दस बजे सुरु भएको हाम्रो च्याट विषयवस्तुको नजिक पुग्दा बाह्र बजिसकेको थियो । उसले फ्टट सोधी इन्टरभ्यु सकियो ? मैले लेखें बल्ल सुरु भयो । हे भगवान्, कुन जालमा परे नि म भनी उसले दिक्दारी झल्काई । मैले लेखिपठाएँ, ढुक्क हुनुहोस् मायाजालमा चाहिँ होइन । जालमय प्रश्नोत्तरको सिलसिलामा उसले थपी महाजालमा चाहिँ परिसकें । रिसर्च त लामो प्रक्रिया हो, महिनौं पनि लाग्न सक्छ तर आजको लागि अन्तिम तथा महत्वपूर्ण प्रश्न सोधौं भनी अनुमति मागें मैले । उसले अफकोर्स लेखेकी थिई । रातको एक बज्न लागेको थियो । करिब तीन घन्टा पगारे पछि प्रश्न हुत्याइदिएँ, इजरायलमा त नेपाली केटाहरुलाई त मोज छ रे नि ? महिना महिना दिनमा गर्लफ्रेन्ड फेरिन्छ भन्छन् त ? कि मैले गलत समाचार सुनें ? मलाई भूमिका बाँध्न मन पर्दैन । जे हो, सिधा प्रश्न गर्न मन पराउँछु, पत्रकारिता जो गरिटोपल्छु सहायक पेसाका रुपमा । सिधा उत्तरको अपेक्षा गर्छु । तर अलि गम्भीर प्रश्नलाई सहजताका साथ सोधेको थिएँ । मनमा त्रास त थियो नै ।तर उत्तर आउने झिनो आशा थियो । म अधैर्य भएँ । आत्मग्लानिको भुतभुतेमा डड्न लागेको अनुभूति भयो केही क्षण । नसोध्नु प्रश्न सोधिसकेको थिएँ, समस्या आफैले सिर्जना गरेको महसुस भयो मलाई । डराएर र भागेर पनि के हुन्थ्यो र । उनको रिप्लाईको प्रतीक्षा गर्नुको बिकल्प थिएन । कसैले भनेको छ कि प्रतीक्षाको घडी लामो हुन्छ । करिब आधा घन्टापछि उनको रिप्लाई मेरो इनबक्समा आएको थियो । हो, हामी बिरानो मुलुकमा छौं । हामी रहरले आएका होइनौं यहाँ । तपाईंहरुले सुनेको जस्तो सजिलो छैन काम । हामी रात वा दिन केही नभनी खट्छौं । छुट्टी विरलै पाइन्छ । यता आउँदाको ऋन तिर्नै धेरै समय लाग्छ । बस्दै गएपछि अलिअलि कमाइन्छ, जोगाइन्छ पनि । धेरैले पैसा बचाएकै छन् । मिठो खान पाएका छन्, राम्रै लगाएका छन् । पेट भर्ने समस्याबाट मुक्ति पाएपछि अनेक इच्छा र आकांक्षाहरु पलाउँछन् । केही भौतिक त केही शारीरिक इच्छाहरु । यी मानवीय र जैविक गुण हुन् । इच्छालाई कसैले दबाएर राख्छन्, कसैले बाहिर प्रकट गर्छन् । हो, आफ्ना शारीरिक इच्छाहरुलाई नियन्त्रण गर्न नसक्नेहरु यहाँ पनि छन्, त्यहाँ पनि होलान्, नेपालमा मात्र होइन, संसारभरि छन् । यो स्वाभाविक हो । तर, इजरायलका सबै नेपाली महिलाहरुलाई एकै नजरले हेर्नु मूर्खता हो र यो सम्पूर्ण नारीहरुप्रतिको अपमान हो । उसको रिप्लाई पढ्दै थिएँ । ऊ त गुडनाइट लेखेर अफलाइन भइसकिछे, मैले बाई भन्ने समय नै पाइनँ । धन्यवाद, कथाको एउटा प्लट त तयार भयो, अब यसलाई उपन्यास बनाउने वा कथामै पूर्णबिराम लगाउने ? सबै तपाईंकै जिम्मा, अफलाइन म्यासेज पठाएर म पनि सुत्ने तयारी गर्न थालें । डे सिफ्टमा ड्युटी जाने साथीहरु उठिसकेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय