‘एजेण्टलाई प्रशिक्षण चाहिन्छ’

वैदेशिक रोजगारको क्षेत्रमा एजेन्टको कामको आलोचना हुने गरेको छ । तोकिएभन्दा धेरै रकम उठाउने, भनेको काममा नपठाउने र पासपोर्ट अल्झाएर राख्ने गरेको आरोप एजेन्टहरु माथि लाग्दै आएको छ ।त्यसैले वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने एजेण्टहरुलाई संगठित र व्यवस्थीत गर्ने उद्धेश्यले तीन बर्षअघि गठन गरियो नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एशोसिएसन । नेपालमा छरिएर रहेका वैदेशिक रोजगार एजेन्टहरुलाई एकत्रित र व्यवस्थीत गर्ने उद्धेश्यले गठित एशोसिएसनमा हाल ६ सय २१ जना सदस्य रहेका छन् ।

तीन बर्षअघि एशोसिएसन सुरु गर्दा शाखा कार्यालय सञ्चालनको अनुमति लिएका केवल दुईजना एजेन्ट मात्र रहेकोमा हाल त्यसको विस्तार हुँदै गएको छ । यसै सन्दर्भमा एशोसिएनका अध्यक्ष खड्गबहादुर श्रेष्ठसँग देश परदेशका लागि सुनिल न्यौपानेले गरेको कुराकानी ।

प्रश्नः नेपालको वैदेशिक रोजगारमा एजेण्टको भूमिका के छ ? 

उत्तरः वैदेशिक रोजगारमा मुख्य पाटो नै एजेण्टहरु हुन् । नेपालका हरेक कुनाकाप्चा जहाँबाट युवा विदेश जान चाहन्छन् त्यो ठाउँमा पुग्ने भनेको एजेण्ट नै हो । पासपोर्ट बनाउँदा देखि नै एजेण्टको भूमिका हुन्छ । पासपोर्ट कसरी बनाउने भनेर सहयोग गर्नेदेखि सुरु हुने उसको भूमिका म्यानपावर कम्पनीसम्म ल्याएर बुझाउने कामसम्म हुन्छ । डिमाण्ड ल्याउने र उडाउने काम त म्यानपावरकै हो । तर गाउँमा कसरी मान्छेलाई जानकारी दिने, उनीहरुलाई ल्याउने भनेको एजेण्टले नै हो । त्यसैले अहिले हामीले प्राथमिकताका साथ उठाइरहेको भनेको एजेण्टलाई प्रशिक्षण दिनुपर्छ भन्ने हो । तर राज्यले अहिलेसम्म पनि त्यो दिएको छैन । त्यसैले यस क्षेत्रमा विकृति, विसंगति पनि देखिएको छ ।

प्रश्नः के एजेण्टले चाहिं उनीहरुको भूमिका ठिक ढंगले निर्वाह गरिरहेका छन् त ? उत्तरः एकदम गरिरहेका छन् । तर एजेण्ट ओझेलमा परिरहेका छन् । गाउँ तहमा बसेर काम गर्नुपर्ने दायित्व एजेण्टको छ तर म्यानपावर कम्पनी, राज्यका निकाय वा नागरिकले चाहिं एजेण्ट बदमास हुन् भन्ने ढंगले व्याख्या गरिरहेका वा बुझिरहेका छन् । हाम्रो एसोसिएसन सुरु गरेको दुई बर्ष पुगेर तीन बर्ष लाग्यो, यसबीचमा एजेण्टप्रतिको धारणामा केहि परिवर्तन त भएको छ । तर गर्नुपर्ने काम अझ पनि धेरै नै बाँकी छन् ।

प्रश्नः अहिले पनि ठूलो संख्यामा इजाजत नलिइ काम गरिरहेका छन् । त्यसले इजाजत लिएर काम गरिरहेकाहरुलाई कस्ता समस्या परेको छ ? उत्तरः अहिले पनि धेरैले इजाजत नलिइ र थोरैले मात्र इजाजत लिएर काम गरिरहेको अवस्था छ । यो अवस्थामा धेरैजसो बदमासी त्यसरी इजाजत नलिइ काम गरिरहेकाहरुले गर्छन् तर त्यसको आक्षेप चाहिं इजाजत लिएर काम गरिरहेकाहरुलाई पनि पर्छ । त्यो समस्या छ । त्यसले इजाजत लिएर काम गरिरहेका एजेण्टलाई हतोत्साही गर्छ ।

प्रश्नः के त्यसो भए इजाजत लिएका सवै एजेण्टले सही ढंगमा नै काम गर्छन् त ? उत्तरः सवै दुधले नै धोएका छन् त म भन्न सक्दिन, एकाध समस्या इजाजत लिएकाहरुले पनि पारेका छन् । तर धेरैजसो बदमासी त्यस्ता मान्छेले एजेण्टको नाममा गरेका छन् जसले कानूनी इजाजत लिएका छैनन् । उनीहरु छोटो समयमा एकदुईलाख लिएर भाग्न चाहन्छन् त्यस्ता मान्छेले धेरैजसो यो पेसाको बदनाम गरेका छन् । उनीहरुलाई एजेण्ट भन्नु नै गलत हुन्छ, ति ठग हुन् र त्यहि अनुसार कारवाही गरिनुपर्छ । समग्रमा जसले इजाजत लिइसकेका छैनन् ति सवै फटाहा हुन् भन्ने पनि छैन र जसले इजाजत लिएका छन् ति सवै शतप्रतिशत ठिक हुन् भन्ने पनि होइन ।

प्रश्नः १० औं हजार मान्छेले एजेण्टको रुपमा काम गरिरहेको अवस्थामा किन ६ सय २१ जनाले मात्रै इजाजत लिएका हुन् ? किन उनीहरु कानूनी रुपमा काम गर्न इच्छुक छैनन् त ? उत्तरः हामीले संगठित गर्न सुरु गर्दा केवल दुईजनाले शाखा कार्यालयका रुपमा काम गर्नेगरी इजाजत लिएका थिए । हामीलाई संगठन बनाउन ७ जना पुर्याउन ७ महिना लागेको थियो । अहिले ६ सय २१ जना पुगेका छौं । अहिले पनि ५ सय भन्दा धेरै साथिहरु इजाजत लिन चाहन्छन् । तर हाम्रो कानून अनुसार त्यसरी इजाजत लिन म्यानपावर कम्पनीले सिफारिस गरिदिनु पर्छ । म्यानपावर कम्पनीहरु सिफारिस नै गर्न चाहँदैनन् । त्यसैले इजाजत लिन समस्या परेको छ । दुईलाख रुपैंयाँ धरौटी राखेर काम गर्छु भन्दा पनि पाएका छैनन् ।

प्रश्नः १५ दिन वा महिना दिनमा भिसा आउँछ भन्दै महिनौं कुनै व्यक्तिलाई झुलाउने काम पनि त एजेण्टले गर्छन् नी हैन ? उत्तरः त्यसो होइन । म्यानपावर कम्पनीहरुले १५ दिन वा एक महिनामा भिसा आउँछ भनेर एजेण्टलाई भन्ने गर्छन् । उनीहरुले त्यहि अनुसारको कुरा स्थानीय तहमा बताउने हो । त्यहि कुरा अनुसार पासपोर्ट संकलन गरी म्यानपावरसम्म ल्याएर बुझाउने काम एजेण्टले गर्छन् । तर त्यो अनुसार भिसा आउँदैन । अनी दोष जति एजेण्टको थाप्लोमा हाल्ने काम गरिन्छ । ढँटुवा, ठग भनेको एजेण्ट नै हो भन्ने कुरा स्थापित गरिएको छ जुन सरासर गलत छ ।

प्रश्नः एउटा काम भनेर पासपोर्ट लिने अर्कै काममा पठाउने गरिन्छ । त्यसमा पनि एजेण्टको भूमिका हुन्छ होला नी ? उत्तरः हो यो समस्या हामीले भोगिरहेका छौं । म्यानपावर कम्पनीले एउटा काम आउँदैछ भनेर पासपोर्ट माग्छन् । एजेण्टले पनि त्यहि भनेर पासपोर्ट संकलन गरेर बुझाउँछ । १०/२० वटा पासपोर्ट बुझाएको हुन्छ, कतिको महिनौं हुँदा पनि भिसा आउँदैन र कतिपयको एउटा कामको साटो अर्कै काममा भिसा आउँछ । त्यो अवस्थामा मान्छे जान मान्दैन । त्यो स्थीतिमा बर्षदिनसम्म पनि बाँकी पासपोर्ट न फिर्ता दिन्छन् म्यानपावर कम्पनीले न त विदेश नै उडाउँछन् । यो समस्या हामीले भोगिरहेका छौं । कतिपय त्यस्ता उजुरी हाम्रो एसोसिएसनमा पर्छन् र हामीले समाधान गर्नुपरेको छ ।

प्रश्नः तपाईहरुको सदस्य भएको, इजाजत लिएको एजेण्टले बदमासी गरेमा चाहिं के कारवाही हुन्छ त ? उत्तरः त्यस्तालाई त कानून अनुसार कावाही गरिनुपर्छ भनेर हामी पनि भन्दछौं । तर यहाँ मुख्य समस्या अर्कै छ । हामीकहाँ कानून छ तर त्यसको जानकारी आम मानिसलाई छैन । त्यसैले कानून अनुसार के गर्नुहुन्छ, के गर्नु हुन्न भन्ने जानकारी गराउन सचेतनाका कार्यक्रमहरु, प्रशिक्षणहरु चलाउनु पर्छ भनेर हामीले आवाज उठाइरहेका छौं । त्यसो हुन सकेमा अहिलेका बेथिति धेरैहदसम्म कम भएर जानेछन् । तर हामी प्रष्ट छौं बदमासी गर्नेहरुलाई संरक्षण गर्नुहुन्न ।

प्रश्नः गाउँमा दुवैथरी मान्छेले काम गरिरहेका छन्, एकथरी अनुमति लिएर बैधानिक एजेण्टको रुपमा काम गर्ने र अर्कोथरी अवैधानिक रुपमा काम गर्ने । कोहि व्यक्ति बैधानिक एजेण्ट मार्फत जाँदा त्यो जाने मान्छेलाई के फाइदा हुन्छ ? उत्तरः धेरै फाइदा छन् । पहिलो कुरा त्यसरी बैधानिक एजेण्ट मार्फत जाँदा भोली कुनै समस्या आइपरेमा त्यो एजेण्टलाई समात्न सजिलो हुन्छ । उसको तीनपुस्ते रेकर्ड हामीकहाँ, बैदेशिक रोजगार विभागमा र म्यानपावर कम्पनीमा हुन्छ । त्यसैले पनि बैधानिक एजेण्टले गलत काम गर्दैनन्, गलत काम गरिहालेमा पनि समात्न र क्षतीपूर्ती तिराउन सजिलो हुन्छ । जसले अवैधानिक रुपमा काम गरिरहेको छ उसको परिचय भनेको केवल उसको मोवाइल नम्वर हो । गलत काम गरि मोवाइलको सिमकार्ड फ्याँकेर हिंडेमा उसलाई खोज्ने अरु कुनै उपाय हुन्न ।

प्रश्नः यो त एउटा पाटो भयो । तपाईको सदस्य एजेण्ट मार्फत कोहि व्यक्ति विदेश जाँदैछ भनें उसलाई भविष्यमा आइपर्ने समस्याका बारेमा तपाईहरुको संगठनले पनि कुनै सहयोग गर्छ ? उत्तरः हो यस्तो पनि व्यवस्था गरेका छौं । विदेश गएर फर्केर आउनु परेमा क्षतीपूर्ती तिर्दा म्यानपावरले लिएकोे रकम म्यानपावरले र एजेण्टले लिएको रकम एजेण्टले तिर्ने चलन नै बनेको छ । त्यसैले हामीले हाम्रा सदस्यहरुलाई सहयोग पुगोस् भनेर एउटा कोष बनाएका छौं । हामी वैदेशिक रोजगारमा जाने कामदारसँग थप रकम असुल्दैनौं । हाम्रा सदस्यहरुबाट उठाएको शुल्कबाट जम्मा गरेको रकमको उपयोग गरी यदि हाम्रो नियम अनुरुप कोहि व्यक्ति फर्किएमा उसलाई हाम्रो एजेण्ट मार्फत १५ हजार राहत उपलव्ध गराउँछौं । यसैगरी हामीले हाम्रा सदस्यलाई ५ लाखको दुर्घटना बिमा गरेका छौं भनें राम्रोे काम गर्नका लागि प्रेरित गर्न सदस्यहरुलाई पुरस्कारको व्यवस्था पनि गरेका छौं ।

प्रश्नः हजारौंको संख्यामा अवैधानिक एजेण्टले काम गरिरहेका छन् । यो सिलसिला कहिलेसम्म चलिरहला ? उत्तरः यो वैदेशिक रोजगार ऐन परिवर्तन नभएसम्म चल्छ भन्ने लाग्छ । हामीले हाम्रोतर्फबाट त प्रयत्न गरिरहेका छौं तर सकिएको छैन । अव कानूनमा संशोधन भएपछि हामी पनि यसलाई कडा रुपमा कार्यान्वयन गरिनुपर्छ भनेर लाग्छौं । आशा छ कानून ढिलोमा आगामी जेठ भित्रमा संशोधन हुनेछ र एजेण्ट व्यवस्थापनको काम पनि त्यसपछि दु्रत रुपमा हुनेछ । त्यसमा हामी पनि राज्यपक्षलाई सहयोग गर्न तम्तयार छौं ।

प्रश्नः एजेण्ट एसोसिएसनले बैदेशिक रोजगार व्यवसायीबाट खोजेको सहयोग कस्तो हो ? उत्तरः बैदेशिक रोजगार व्यवसायी र एजेण्टबीचमा नङ र मासुको जस्तै सम्वन्ध छ । हुन त उहाँहरु बेलाबेलामा एजेण्ट आवश्यक छैन भन्नुहुन्छ तर हाम्रो अभावमा उहाँहरुको आवश्यकता पुरा हुनेछैन । अर्को कुरा उहाँहरुले एजेण्टलाई सत्यकुरा भनिदिए पुग्छ । १५ दिनमा भिसा आउँछ भनेर ६ महिनासम्म अल्मल्याउनु भएन । यसले एजेण्टलाई गाउँमा ठगको रुपमा चित्रित गर्दैछ । अर्को कुरा एउटा काम भनेर पासपोर्ट लिने र अर्को कामको भिसा ल्याएर विदेश उडाउन जोेरजवर्जस्ती गर्न मिल्दैन । अनी एजेण्टको कमिसन कति हो ? त्यसलाई वैधानिक बनाइदिए एजेण्ट र म्यानपावर कम्पनीबीच सम्वन्ध सहज हुनेछ । यसले समग्रमा वैदेशिक रोजगारीलाई नै ठिक बाटोमा ल्याउनेछ ।

प्रश्नः अनी राज्यसँग तपाईहरुको अपेक्षा के छ जसले एजेण्टहरुले ठिक ढंगले काम गर्न सक्छन् ? उत्तरः विद्यमान कानूनलाई नै कार्यान्वयन गरिदिएको भए पनि पुग्थ्यो । जस्तो इजाजतप्राप्त एजेण्ट राखेर तिनिहरु मार्फत मात्र पासपोर्ट संकलन गर्नु भन्ने व्यवस्थालाई कार्यान्वयन गरिदिएको भए अहिले यस क्षेत्रमा देखिएका बेथिति हुने थिएनन् । अर्को कुरा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गर्नुपर्ने काम नै गरेन । उसले सुचना, प्रशिक्षणहरु चलाउनु पर्नेथियो त्यो नै गरेन । त्यसैले यस्ता कुरामा सरकारी निकायको ध्यान पुग्नु पर्छ । र, विद्यमान वैदेशिक रोजगार ऐनमा तत्काल संशोधन गरी कार्यान्वयन गरिदिएमा नेपालीको वैदेशिक रोजगार धेरै हदसम्म सुरक्षित हुनेछ र अहिले देखिएको समस्याको सम्वोधन पनि हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय