‘परिश्रम गर्न चाहन्छु भन्ने युवाका लागि अनुदान’

पशु उत्पादन निर्देशनालयले पशुपालनमा लाग्न चाहने युवाका लागि प्रोत्साहन गर्ने उद्देश्यले गएको बर्षदेखि अनुदान दिने कार्यक्रम सुरु गरेको छ । विदेशबाट फर्किएका तथा स्वदेशमैं रहेर परिश्रम गर्न चाहन्छु भन्ने युवाका लागि अनुदान रकम वितरण हुन्छ । यसै सेरोफेरोमा रहेर निर्देशनालयका बरिष्ठ पशु बिकास अधिकृत डा.लोकनाथ पौडेलसँग देशपरदेशका लागि विनोदकुमार चौलागाईले गरेको कुराकानी ।

पशु उत्पादन निर्देशनालयले पशु पालन व्यबसायमा लाग्ने युवाहरुलाई आकर्षित गर्न अनुदानको व्यबस्था गरेको छ । यो खासगरि कस्ता युवा लक्षित छ ?

डा.लोकनाथ पौडेल

पशुपालनको क्षेत्रमा युवाहरुलाई आकर्षण गर्नको लागि युवा लक्षित बिशेष पशु उत्पादन कार्यक्रम हामीले ल्याएका छौं । यो गएको बर्षबाट सुरु भएको कार्यक्रम हो । बिशेषगरी युवाहरुलाई गाईभैंसी पालनको क्षेत्रमा व्यबसायीक रुपले अगाडी बढाउने र देशको आबश्यकता परिपुर्ति गर्ने कुरालाई पनि ध्यान राखेर र देशमा रोजगारी नपाएर युवाहरु बिदेशीएको अबस्था छ त्यसलाई रोक्नको लागी यो कार्यक्रम सुरु भएको हो । र अर्को, विदेशमा गएर फर्किएर आएका युवाहरु जसले विदेशको भुमिमा केहि ज्ञान सीपहरु सिकेर आएका छन्, केहि अर्थोपार्जन पनि गरेर फर्कनुभएको छ उहाँहरुलाई पनि पशुपालनको क्षेत्रमा लाग्न प्रेरित गर्ने भनेर हामीले बिशेष पशु उत्पादन कार्यक्रम खासगरि व्यबसायीक गाईभैंसी पालन कार्यक्रम भनेर ल्यायौं ।

गएको बर्ष हामीले ४ सय ५४ जना युवाहरुलाई ४ करोड ८८ लाख ३० हजार रुपैंया गाईभैंसी पालनको क्षेत्रमा मात्रै अनुदानको रुपमा दियौं । हाम्रा तीनवटा मापदण्ड थिए । साना, मझौला र ठुला । ५ देखि १० वटा दुहुना गाई पालेकालाई साना व्यबसायी, १० देखी ५० सम्म गाई पालेकालाई मझौला र ५० भन्दा बढी दुहुना गाइ पालेकालाई ठुला व्यबसायी भनेका थियौं । सानालाई एक लाख, मझौलालाई दुई लाख र ठुला व्यबसायीलाई चार लाख रुपैंया विनियोजित गरेका थियौं । जुन रकम कृषकको हातमा पुगेको थियो । यो बर्षपनि त्यस्तै खालको कार्यक्रम स्विकृत भएर आएको छ ।

विदेशबाट फर्किएर आएका युवाका लागि प्राथमिक कार्यक्रम केहि छन् ?

विदेशबाट फर्किएर केहि सीप सिकेर आएका युवाहरु हाम्रो कार्यालयमा दिनहुँजसोनै आउनुहुन्छ । उहाँहरु ‘हामी केहि सीप आर्जन गरेर आएका छौं, हामीसँग केही लगानी गर्ने पैसा छ, निर्देशनालयले हामीलाई के सहयोग गर्न सक्छ’ भनेर जिज्ञासा राख्नुहुन्छ । उहाँहरुकै मागलाई सम्बोधन गरेर नेपाल सरकारले केहि रकमको विनियोजन गरेको हो । अहिले राम्रो सुरुवात पनि भएको छ ।

भैंसी र गाई पाल्ने किसानहरुका लागि हाम्रो अनुदानको कार्यक्रम ४० जिल्लामा छन् । जहाँ गाईभैंसी पाल्नका लागि उपयुक्त छ । उच्चहिमाली र उच्चपहाडी जिल्लामा गाईभैंसी पालन फलदायी नहुनेभएकाले त्यस्ता ठाउँमा कार्यक्रम प्रवद्र्धन गरिएको छैन ।

विदेशबाट फर्किएका र विदेश नगई यहिं काम गर्न खोज्ने युवाहरुले सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्छ । कार्यविधि अनुसार छनौटमा परेका युवाहरुका लागि अनुदान दिने व्यबस्था गरिएको छ । सहि काम गर्न खोज्ने कृषक हो भने हामीले आर्थिक तथा प्राविधिक सहयोग गर्ने सम्भावना प्रशस्त छ । यो बर्ष अनुदान रकम पनि दोब्बर भएको छ । गएको बर्ष ५ करोड अनुदान रकमका लागि बजेट छुट्याईएको थियो भने यो बर्ष १० करोड ३७ लाख रुपैंया विनियोजन भएको छ ।

यहि बर्ष अनुदान कार्यक्रममा सहभागि हुन चाहने युवाका लागि ठाउँ छ कि छैन ?

एकदमै छ । हामिले गएको बर्षको निर्देशिकालाई संशोधन गर्न तयार गरेर पठाईसकेका छौं । अनुदान रकम बढेको छ एक लाखको दुई लाख, दुई लाखको तीन लाख बनाईएको छ । मुल्यांकन जिल्लालाई गर्न दिएका छौं । निर्देशिका स्विकृत भएर आउने वित्तिकै राष्ट्रिय मिडियामा सुचना जारि हुन्छ । सम्भवत यो हप्ता/पन्ध्र दिनमा विज्ञापन हुन्छ । त्यसकारण अझै समय छ ।

मेनपावर धाईरहेका युवाहरु रोकिएर पशु पालनमा लाग्छु भन्नु कत्तिको उत्तम हो ?

विदेश नजाउन्जेल विदेश गएर सबै हुन्छ भन्ने सोचिन्छ । तपाईहामी पनि सोच्छौं विदेश गएपछि ठुलै रकम पाईहालिन्छ भन्ने हुन्छ । कहिंपनि पसिना नबगाईकन पैसा कमाउन सकिन्न । विदेशबाट फर्किएका युवाहरु कहाँ के व्यबसाय गर्दा ठिक हुन्छ भनेर तड्पिरहनुभएको छ । त्यसकारणले त्यस्ता युवाहरुलाई समस्या नहोस् भनेर पशुपालन सम्बन्धि राम्रोसँग जानकारी समेटेर पुस्तिका प्रकाशन गरेका छौं । त्यसबाट धेरै ज्ञान लिन सकिन्छ ।

नेपाल सरकारले अनुदान दिन्छ रे भनेर अनुदानका लागि आउने मान्छेका लागि त म प्रोत्साहन गर्दिन । तर, हामी परिश्रम गर्छौं भन्ने युवाका लागि प्रशस्त अवसर छन् । हामीले लगानी भएकोमा २० देखि ३० प्रतिशत मुनाफा भएको स्पष्ट देखेका छौं । परिश्रमी र व्यबसायमुखी उद्देश्य भएका युवा हुनुहुन्छ भने उहाँहरुजस्ता युवाले विदेश धाउनै पर्दैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय