
काभ्रे, पनौती १३ सम्लिटारकी शान्ति तामाङलाई धान काट्न आउ भन्नेको लर्को नै छ । उनलाई खेताला जान भ्याइनभ्याइ छ । त्यही स्थानमा रमेश थोकरलाई पनि पाकेको धान झार्न मारामार छ ।
शान्ति र रमेश एकै फाँटमा ज्यालादारी काम गर्छन् । तर रमेशले ६ सय रुपैंयाँ पाउँदा शान्तिले दैनिक ३ सयका दरले ज्याला पाउँछिन् । “पुरुषले भन्दा धेरै काम हामीले गर्नुपर्छ तर ज्यालामा चाहिं हामी नै ठगिन्छौं” शान्तिले गुनासो गरिन् ।
जिल्लामा पहिलेदेखि नै मजदुरले ज्यालामा विभेद खेप्दै आएका हुन् । बनेपा बस्दै आएका फलामेटारकी सपना बिश्वकर्मा र उनका पति राजु विश्वकर्मा ज्यालामजदुरी गरी परिवार धान्ने गरेको बताउँछन् । “हाम्रो जग्गा जमिन छैन, अरुकै काम गरेर परिवार चलाउने हो तर हामी दुईबीचमा दोव्वरको फरक छ” उनले भनिन् ।
दिनभरी पुरुषजत्तिकै खट्ने महिलाले आधा मात्र ज्याला पाउने गरेका छन् । बेलुका घरव्यवहार धान्ने जिम्मा समेत महिलाकै काँधमा छ । “बाहिर समानता भन्ने कुरा सुनिन्छ, लागू हुने कहिल्यै होइन” सपनाले भनिन् “हामी बुढाबुढी दिनभर एकै खेतमा काम गर्छौं, घरको सवै काम पनि मैले नै गर्नुपर्छ तर कमाइ हेर्दा आधै फरक छ ।”
“समान कामका लागि समान ज्याला पाउनु मौलिक हक हो” मानवअधिकारकर्मी भोजराज तिमिल्सिनाले भने । खेतीपातीमा मात्र नभएर उद्योग कलकारखाना लगायतमा पनि मजदुरी गरी गुजारा चलाउनुपर्ने महिलाले पनि यस्तै विभेद भोगिरहेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ