
काठमाडौं, कात्तिक २६ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा मृतक कामदारको शव नेपाल ल्याउन विभिन्न देशका दुतावासहरुलाई रकम पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि गत कात्तिक १६ गते विदेशमा नेपाली कामदार अलपत्र परेर नेपाल फर्किन खोज्दा रकम अभावका कारण फर्किन नसकेको भन्दै आवश्यक रकमको व्यवस्था एक हप्ताभित्र मिलाउन सरकारलाई निर्देशन दिएको थियो । अख्तियारको निर्देशन तथा संविधानसभाका सदस्यहरुको आग्रहपछि बोर्डले रकम उपलव्ध गराएको हो । बोर्ड मार्फत पठाइएको रकम मलेसियामा रहेको नेपाली दुतावासलाई २० लाख रहेको छ । यसैगरी साउदी अरव तथा कतारमा १५ १५ लाख र यूएई तथा कुवेतका नेपाली दुतावासलाई ५ लाखका दरले रकम पठाइएको छ । यसका साथै कतार र साउदी अरवमा सुरक्षित आवास गृह सञ्चालनका लागि थप ५ ५ लाख उपलव्ध गराइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी रकम उपलव्ध गराई अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने कदमको प्रशंसा गरेको छ ।