‘तालिम तालिमका लागि होईन, रोजगारीका लागि हो’

हेल्भेटास स्वीस इन्टर्कोअपरेसन नेपाल अन्तर्गतको रोजगार कोषले युवालाई सीपमुलक तालिम दिनुका साथै उद्यमी बनाउने कामका लागि सहयोग गर्दै आएको छ । झण्डै ६ बर्ष देखि कोषको परियोजना नेपालमा सञ्चालन भैरहेको छ । नेपाली युवामा तालिमले जुराएको अबसर, आउँदो दिनको सम्भावना र सीप किन जरुरी छ भन्ने सन्दर्भमा रहेर कोषका टीम लीडर बलराम पौडेलसँग देशपरदेशका लागि सुनिल न्यौपानेले गरेकोे कुराकानी । युवाहरुलाई सिप सिकाउन रोजगार कोषले कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ? युवाहरुले कस्ता सीप सिके भने रोजगारी पाउन सक्छन भनेर हामीले पहिला बजार अध्ययन गर्छौं । कुन–कुन सीपको बजारमा माग छ, के सिक्यो भने उनीहरुले काम पाउँछन् भन्ने आँकलन गरेर सार्वजनिक आव्हान मार्फत बजार अनुकुलको सीप सिकाउने र सीप सिकेपछि तुरुन्तै काममा लगाउने । आफ्नो व्यबसाय गर्न चाहनेलाई व्यबसाय गर्न प्रेरित गर्ने र अरुकोमा काम गर्न चाहनेलाई सम्बन्ध स्थापित गरिदिने गर्छौं । त्यसपछि पनि एक बर्षसम्म नियमित सहयोग गर्छौं । तपाईहरुको बजार अध्ययनले कस्ता खालका सीप भएका मान्छेको बढी माग भएको देखाउँछ ? बजार अध्ययनले कुन ठाउँ तालिम दिने हो त्यो अनुसारको त्यो ठाउँमा बिक्ने तालिम दिनुपर्ने देखाउँछ । कृषिमा अथाह सम्भावना छ । पर्यटनमा निकै ठुलो सम्भावना छ । जलस्रोत अर्थात हाईड्रोपावरमा काम गर्नेखालका दक्ष जनशक्तिको ठुलो माग छ । पर्यटन, कृषि, हाईड्रोपावर, बिद्युत तथा निर्माण क्षेत्रलाई हामी उर्वर क्षेत्र मान्छौं । यहि क्षेत्रभित्रको वरिपरि सम्भावना धेरै छ । हामीकहाँ कृषि क्षेत्र व्यबसायिक बन्दै गएपनि धेरै किसान परम्परागत शैलीमैं कृषि पेशा अंगालीरहेका छन् । कृषिलाई व्यबसायीकरण गर्न कस्ता तालिम कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ? व्यबसायीक कृषिमा ठाउँअनुसार कस्तो खालको कृषि उपजको माग छ त्यो हेरेर उहाँहरुले आफ्नै खालको व्यबसाय सञ्चालन गर्न सक्नुहुन्छ । पोल्ट्रीको सम्भावना राम्रो छ । सानो लगानीमा पनि राम्रो काम गर्न सक्छौं । यद्यपी केहि समय अगाडी समस्या देखियो । अरु नगदे वालीमाचैं जुनसुकै बाली गरेपनि राम्रो बजार छ । बेमौसमी तरकारी खेती गर्ने, प्रशोधनको कामहर गर्ने उच्च मुल्य भएका बालीहरुमा काम गर्न सकिन्छ । हर्बलमा पनि काम गर्न सकिन्छ । साझेदार संस्थाहरुमार्फत तपाईहरुले कृषिमा काम गर्नुभएको छ की छैन ? साझेदार संस्थामार्फत हामीले कृषिमा केहिचैं काम गरेका छौं । त्यत्रो ठुलो काम गरेका छैनौं । कृषिभन्दा बढी अहिले निर्माणमा काम भइरहेको छ । हस्पिटालिटि, इलेक्ट्रिकल इलेक्ट्रोनिक्सको क्षेत्रमा काम भइरहेको छ । रोजगार कोषले लामो समयदेखि सीपको क्षेत्रमा काम गर्‍यो । कुन क्षेत्रको सीप सिकेका युवा बढी सफल भएका छन् ?  नतिजालाई हेर्दा तीन वटा क्षेत्र निकै आकर्षक रुपमा अगाडी आइरहेको छ । एउटाचैं निर्माण क्षेत्र भयो । निर्माण क्षेत्रको दायरा निकै ठुलो छ । यसभित्र इलेक्ट्रिकल इलेक्ट्रोनिक्स, मेशीनरी, फर्निचर, प्लम्बिङ जस्तै विभिन्न बिधा छन् । दोस्रो, हस्पिटालिटि हो । यसभित्र कुक, वेटर, वेट्रेस, बेकरी, वरिस्ता जस्ता विभिन्न खालका बिधामा हामीले काम गरिरहेका छौं । अर्को क्षेत्र कृषि हो । कृषिमा हामीले पोल्ट्री, हर्बल, माहुरी पालन, बेमौसमी तरकारी खेती तथा च्याउ खेतीमा काम गरेका छौं । यहि क्षेत्र भित्र ठुलो सम्भावना छ, रोजगारीको बाटो छ र युवाहरुको आकर्षण यसमैं छ । सीप सिक्न आएका युवाले सीप सिकेपछाडी रोजगारीको अपेक्षा राखेका हुन्छन् । उनीहरुको रोजगारी सुनिश्चितताको आधारचैं के छन् ? रोजगारी सुनिश्चित गर्ने कुरा निकै महत्वपुर्ण हो । त्यसैले तालीमचैं हाम्रा लागि कृयाकलाप मात्रै हो । तालिम तालिमका लागि होईन, रोजगारीका लागि हो । तालिम दिनुभन्दा अगाडी कसले कहाँ काम गर्ने भन्ने कुरा सुनिश्चित गरेर मात्रै हामी तालिम दिन्छौं । सुरुमा हामी युवाहरुसँग छलफल गर्छौं । आफ्नो काम गर्ने हो की अरुकोचैं काममा जाने हो । त्यो कुरा निक्र्यौल गरिसकेपछि यदि आफ्नो व्यबसाय गर्ने हो भने त्यसको लागी पुँजी कति जम्मा हुन्छ । त्यसको लागि कस्तो खालको ‘सपोर्ट सिस्टम’ जरुरी छ । त्यो सबै निक्र्यौल गरिसकेपछि आफ्नो व्यबसायमा जाने युवाहरुलाई त्यहि अनुकुलको सपोर्ट हामी गर्छौं । यदी ज्यालामा काम गर्ने हो भने कस्ले कहाँ–कहाँ काम गर्ने हो भन्ने कुरा निक्र्यौल गरेर मात्रै हामी तालिम दिन्छौं । काम गर्न सक्ने ठुलो संख्याका युवा बिदेश गइरहेका छन् । तालिम लिएकामध्ये कति स्वदेशमा काम गरिरहेका छन् कति बिदेशमा गएका छन् ? तालिमको तथ्यांक हेर्दा आधाभन्दा बढी महिला हुनुहुन्छ । उहाँहरु अधिकांश स्वदेशमैं काममा हुनुहुन्छ । अरु बाँकी पुरुषहरुमा पनि ९० प्रतिशत देशभित्रै काम गर्ने खालको लगाव देखिन्छ । सीप र रोजगारीको समबन्ध हेर्‍याे भने सीप सिकेका युवाहरु जसले देशभित्रै आठ/दश हजार कमाउने सम्भावना छ, कमाईरहेका छन् तीनीहरु बिदेश जानका लागि इच्छुक छैनन् । जो सीप सिकेर बिदेश गएका छन् उनीहरुको आम्दानीको स्तर सीप नसिकेका युवाको भन्दा फरक छ ? सीप सिकेर बिदेश जाँदा र सीप नसिकि बिदेश जाँदा धेरै फरक पर्छ । आम्दानीको हिसाबले सीप सिकेर जाँदा कम्तिमा पनि नसिकि गएको व्यक्तिले भन्दा दुई गुणा बढी उसले कमाउन सक्छ । प्लम्बरचैं यहाँ तीन महिना तालिम लिएर गयो र प्लम्बरकै रुपमा काम गर्‍याे भने बिदेशमा ३० हजार कमाउन सक्छ भने लेबरले १५ हजार मात्रै कमाउन सक्छ । सीप सिकेर जाँदा देशभित्रै काम गर्दा राम्रो अबसर छ । देशबाहिर गयो भनेपनि आम्दानी पनि राम्रो छ । सामाजिक प्रतिष्ठा राम्रो छ । सीप सिकेर बाहिर गयो भने उसले त्यहि काममा थप निखार ल्याउन सक्छ । यहाँबाट सामान्य सीप सिकेर गएको छ भनेपनि बिदेशमा कस्तो खालको काम गर्नेरैछ, कस्तो खालको प्रविधि रैछ त्यसमा ज्ञान लिन सक्छ । त्यसैले हामीले हेर्दाखेरी सीप सिकेर गएकाहरुले राम्रै प्रगती गरेका छन् । नेपालमा सिकाईने सीप र बिदेशमा आबश्यक पर्ने सीपको स्तरका कत्तिको फरक छ ? यो निकै महत्वपुर्ण कुरा हो । त्यसैले हामीले बिदेशमा कस्तो खालको सीप आबश्यक हुन्छ भन्ने कुरा अध्ययन गरेर मात्रै हामीले सीप सिकाउनुपर्नेहुन्छ । आधारभुत कुरा केहि मिल्न सक्छ तर प्रविधिगत हिसाबले बिदेशका प्रविधि निकै ‘एडभान्स’ छ । त्यहाँको आबश्यकता अनुसारको सीप हामीले दिन सक्ने क्षमता यहाँ छैन । तालिमको क्षेत्रमा तपाईहरुको लामो अनुभवका आधारमा भन्नुपर्दा समस्याचैं कस्ता आउँदारैछन् ? सीप र रोजगारीको क्षेत्रमा ठुलो सम्भावना छ । अहिले देखिएको सबैभन्दा ठुलो समस्या ‘स्किल मिसम्याच’ हो । बजारमा कस्तो खालको सीप आबश्यक छ भन्ने हामीले थाहा नपाउने, रोजगारदाताहरुसँग धेरै छलफल नगर्ने समस्या छ । रोजगारदातासँग छलफल नगर्दा उहाँहरुलाई कस्तो खालको मान्छे आबश्यक छ भन्ने कुरा थाहा नपाईकन त्यत्तिकै तालिम दिइराख्दाखेरी माग अनुसारको मान्छे उत्पादन नहुने एउटा ठुलो खतरा छ । त्यसलाई न्युनिकरण गर्न हामीले रोजगारदाताहरुको सहभागिता बढाउने, निर्णय प्रकृयामा सहभागि गराउने, तालिममाचैं उहाँहरुलाई ल्याउने, उहाँहरुबाट मुल्यांकन गराउने, उहाँहरुको बिचार लिने त्यो कार्यक्रम हामीले गरिराखेका छौं । तपाईहरुले सञ्चालन गरिरहनुभएका परियोजनालाई आउँदा दिनमा अझ राम्रो बनाउन के गर्नुहुन्छ ? हामीले अहिले दुईवटा कार्यक्रम सञ्चालन गरिरहेका छौं । एउटा कार्यक्रम अति विपन्नका लागि सीप र रोजगारी भन्ने कार्यक्रम छ । ज्यालामा काम गर्न जाने, आर्थिक हिसाबले अति बिपन्न, सामाजिक हिसाबले पछि पारिएकाहरुलाई प्रविधि सिकाउने, व्यबस्थापकीय ज्ञान दिने, उहाँहरुलाई जीवनपयोगी शिक्षाहरु दिने त्यसपछाडी उहाँहरुलाई काममा लगाउने एउटा ‘कम्पोनेन्ट’ छ । अर्को, म केहि गर्छु भन्ने युवाहरुलाई आफुसँग केहि पुँजी छ, आफ्नो उद्योग गर्न चाहने, आफुमात्रै रोजगारमा जाने हैन की आँफैले काम सिर्जना गर्न सक्ने, युवाहरुलाईचैं उद्यमशीलताको ज्ञान दिने, प्रविधि पनि दिने र व्यबसाय सुरु गर्नलाई सघाउने दोस्रो कम्पोनेन्ट छ । त्यसैले हामीले दुईटा क्षेत्रमा काम गर्दैछौं । एउटाचैं उद्यमीहरु बिकास गर्ने अर्कोचैं सीपयुक्त जनशक्ति बिकास गर्ने । त्यहि हिसाबले हामीले देशका ६० भन्दा बढी जिल्लामा सीप र रोजगारीको कार्यक्रम सञ्चालन गरिरहेका छौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय