नत्र सयपत्रीको मन रुन्छ, मखमलीको आँसु चुहिन्छ

प्रिय बहिनी, नेपालका हरेक एफ एम रेडियो तथा स्थानीय टेलिभिजन च्यानलहरुका पृष्ठभूमिमा मालश्रीको धुन गुञ्जिरहेको बेला म पनि त्यसको अलिकति झल्कना मेटाउन दशैँ तिहारको शुभकामना लेख्न बसेको छु । पोहोर झैँ तिमीले त्यहाँ थुप्रै शुभकामना बटुलिसकेको हुनुपर्दछ ।

म तिमीलाई दशैँ तिहार बिशेष सम्झिएर अञ्जुलीभरिको शुभकामना पठाईरहेको छु । मलाई लाग्छ, तिमीलाई पनि नेपालमा दशैँ तिहारको उमंगले छोइसकेको हुनु पर्दछ ।

सुनेको छु, दसैँ तिहार पहिलेको जस्तो मनाईन्न रे आजकल नेपालमा । किन हो थाहा छैन । पृथकताको अप्ठ्यारो आकांक्षा पनि भन्छन् कसैले । यो त हाम्रो होईन, फलानोको चाड भन्ने अभियान कहाँबाट कसले कुन स्वार्थका लागि उव्जायो थाहा छैन । बहिनी मेरो त एउटै बिन्ती छ, नेपाली नेपालीमै बिभाजन ल्याउने यो भावनाले दशैँ तिहारलाई नछोओस् ।

हो ! हृदय भरि आशिष र शीर भरि जमरा ढल्काएर हिँड्ने संगीनीहरुको कथा तिमीलाई अहिले अतित भैसकेका होलान् । तर दशैमा निधार भरि अक्षेता र कानभरी जमरा सिउरेर हिँड्न पाउँदा तिमी पक्कै रमाउनेछ्यौ ।

तिहारमा तिमी पक्कै पनि बारुली कम्मर मर्काएर छम्छमी नाच्नेछ्यौ भैलेनीहरुसंग । हरेक नेपाली आँगनमा तिम्रा नाचका सीप पोखिनेछन् । अझ तिमी नेपाली पारम्परिक साडी चोलीमा सजिएर नाच्दा कति लोभ लाग्दी देखिन्थ्यौ हौली बहिनी ?

बहिनी, यतिखेर तिमी चाडवाडको उत्कर्षमा छ्यौ । सडक पेटीमा खाल थापेर जुवाको पूर्वाभ्यास गर्ने डाइसे फुच्चेहरु दसैँवर बाट नै तातिईसकेका होलान् । अनि साँच्चै दसैँमा मौलाहरुमा पनि थुप्रै मार हानिनेछन् होला हगि ?

मन्दिरमा ठेलमठेल घुईंचो बढ्नेछ होला यस पालाको दसैँमा पनि । यति खेर गाउँघर तिर घटस्थापनाको दिन देखि नै चण्डीपाठको मुग्ध ध्वनिले गाउँनै गुञ्जायमान भएको होला । तर आज तिमी संग यो मनमा रानी काँडो बिझेको जस्तै संग्रहित केहि आत्मिक दुखेसो पोख्न मन लागेको छ बहिनी ।

आस्था आफ्नै छ । विश्वास आआफ्नै छ । दशैँको बिधि बिधान माने पनि नमाने पनि चाडवाडको उमंगले यति बेला हाम्रो गाउँघरलाई पनि सर्वत्र रंगमुछेल बनाएको होला हगि बहिनी ? जो कोहिले पनि टिका लगाउने नलगाउने स्वेच्छाको कुरा हो । तर दसैँ विदाले हामी सबै नेपाली दाजुभाई दिदी बहिनीलाई एउटा विशेष अवसर जुटाएको छ । भेला हुने, मिठो खाने, आशिष थाप्ने र सवैभन्दा पहिले आफन्तजनबीच शुभकामना साटासाट गर्ने ।

अनि यति बेला त गाउँघरतिरका करेसावारी ढकमक्क भएका होलान् सयपत्री जाइ जुही, बेली चमेली र सुपारे फूलले । शरद ऋतुको कुमारी घामले सुवासित पारिजात फूलका कौमार्यमाथि धावा बोल्दै यति खेर रात्रिकालिन चौथो प्रहरमा पारिजातको प्राकृत यौवनासंग इत्रिदै र मरेतुल्य बनाउँदै भुईं झार्न सहाय बनिरहेका होलान् ।

ति फूलले पनि म जस्तै परदेशिएका दाजु भाईको प्रतिक्षामा स्वागतको लागि मौनता साँधेर पर्खिरहेका होलान् हगि बहिनी ? चाडवाडको यस पावन अवसरमा तिम्रो मोहोडा मेरो स्मृतिपटलमा मानचित्र झैँ बरालिईरहँदा परदेशको यो बेस्वादिलो कृत्रिम सहर भित्र मैले मेरो मनको बलेसी भित्र पसिसकेको दशैं तिहार सहितको हरेक चाडपर्व बाहेक केहि देखेको छैन बहिनी ।

चाडवाडको उमंग सहितको जीवनको स्वाद मैले मेरै गाउँघरमा नै देखेको छु । आफ्नै माटोमा देखेको छु । यद्यपि पोहोर परार ताका सवै गाउँ घरमा दसैँको उमंग त्यत्ति जम्न सकेन भनेर छिमेकीको हातमा हाते चिठी भित्र लेखेर पठाएकी थियौ ।

अहिले मेरो मातृभुमिमा कतै कतै दसैँ मान्न हुन्न भन्ने प्रचार पनि बेस्सरी चलिरहेको छ रे । गाउँघरतिर बंगुरका खुट्टामा फूलैफूल उनेर बाजागाजा सहित ढाकरका ढाकर सगुन पठाउने एउटा हार्दिक चलन अस्ताउन थालेको छ रे ।

हाम्रै घरछेउको पञ्चनदी पारीकी मास्केनी आमाले कोदो कुट्दै भनेकी थिईन् परार साल, “कान्छा, आजभोली त खै टिका पनि “नालागाउनु” रे, “सागुन” पनि “नापाठाउनु” रे । मन मान्दैन बाबै, बाजे बराजुको पाला देखि मान्दै आएको रीतिथितिलाई कसरी चटक्क भुल्न सकिन्छ र ? हामी दसैँमा पीङ्ग खेल्न पनि “नाजानु” त ।”

मास्केनी बजुको आकांक्षामा तुषारापात परेकोमा मलाई नरमाइलो लागेको थियो त्यस क्षण । र अहिले नेपाली दाजुभाई बीचको आपसी सद्भावमा आएको कोपभाजनले गर्दा आफैँलाई अनौठो लाग्छ, के राष्ट्रिय संस्कृति पनि जात जातीको छुट्टाछुट्टै हुन्छ र ? अनि गुनासो गर्न मन लाग्छ तिनीहरुसंग कसैले सोच्दै नसोचेको कृत्रिम कथा निकालेर गाउँ गाउँमा बिभाजनको आकांक्षा छर्नेहरु देखेर ।

मान्छेको स्वभाव पनि कति बिचित्र हगि बहिनी ? मलाई संकीर्णतासंग असाध्यै डर लाग्छ । लाग्छ, दसैँलाई कुनै संकीर्णताको परिभाषाले छोप्न थालियो भने रातो माटोले दलिन पोतिरहेकी हजारौँ मास्केनी आमाहरुको अपमान हुन्छ । तिहारलाई तिहारकै रुपमा मानिएन भने सयपत्रीको मन रुन्छ । मखमलीको आँसु चुहिन्छ ।

जसरी म जस्तै हजारौँ परदेशिएका छोराहरु चाडवाडमा घर फर्किएनन् भने बुढा बा र बुढीआमाको आँखामा आँसु टुपुल्किन्छ । खाडीमा बस्ने २० लाख दाजुभाईका चेलीहरु पनि पारिवारिक अमिलनको परम पीडामा डाँको छोडेर मजेत्रोले मुख छोप्दै भक्कानिएर रुनेछन् ।

बहिनी, मलाई लाग्छ । चाडवाडमा नबुझेका चित्तहरुपनि बुझाउनु पर्छ । नखुलेका मनहरु निर्धक्क फुकाउनु पर्छ । धर्म सम्प्रदायका कथा जे सुकै हाले पनि जनश्रुतिका कुरा जे सुकै उराले पनि चाडवाड एउटा सवैको मिलन सन्दर्भ हो । कुनै वर्ग, जातिको पेवा हैन यस्ता सन्दर्भहरु । चाडवाड त देशको मौलिक परिचय हो ।

त्यसैले बहिनी म जुनसुकै चाडवाडमा पनि रमाउने गर्छु । ल्होसारमा पनि म उत्तिकै रमाउने गर्छु । चण्डीनाचमा पनि मलाई उत्तिकै उफ्रिन मन लाग्छ । रोधीमा रम्नु त मेरो नेपाल छँदा ताका दिनचर्या जस्तै भएको थियो । त्यसैले म दसैँलाई दशा ठान्दिन । तिहार त मेरो सर्वप्रिय चाड हो ।

बिन्ती छ बहिनी यसपाली तिमीले आफ्नो घरको मूलढोका अघि भैलो खेल्नै पर्छ । घरमा आमाले तामाको पालामा दियो सल्काउँदा तिम्रो मुहार पनि उज्यालो हुनु पर्छ । हाम्रा अरु चेलीहरुले हे ! औंसीवारको ताल ठोक्दा तिम्रो कम्मर पनि मरक्क मरक्क मर्किनै पर्छ । यो मेरो आग्रह सबै परदेशिएका दाईहरुको तर्फबाट समग्र नेपाली चेलीहरुका लागि समष्टिगत् आग्रह हो ।

तिमीसंग चाडवाडको कुरा गर्दा यतिखेर मेरो मथिंगलमा गाउँघर झल्झली घुमिरहेको छ । मैले गाउँघरका लिङ्गेपीङ्ग र रोटेपीङ्ग झल्झली सम्झीरहेको छु । देउसी खेल्न जाँदाको “रातोबाटो र चिप्लोबाटो” मोहोडा भरि सम्झिरहेको छु । यिनै उल्लासपूर्ण हरेक चाडपर्व र गाउँ घरको सम्झना र झल्कनाले प्रवासमा रहने तिम्रा सबै दाई भाईहरुको मन धरधरी रुवाएको छ । जे भएपनि देश आफ्नै हो संस्कृति आफ्नै हो ।

हो, दशैँ कुनै कारणले सर्वस्वीकार्य छैन भने, अव्यवहारिक छ भने त्यसको सट्टा अरु कुनै चाड माने पनि हुन्छ । तर राष्ट्रिय चाडको गर्व संगाल्ने कुनै अवसर चाहिँ हुनै पर्छ । हिन्दु, बौद्ध, मुस्लिम, किराँत, क्रिश्चियन, सवै सवै एकै ठाउँमा समेटिने चाड ।

साँच्चि नै भन्नुपर्दा मलाई लाग्छ, दसैँ तिहारहरु हामी सबैका लागि त्यस्तै चाडका रुपमा परिचित थिए । भोलिका दिनबाट कसैले हाम्रो चाड र अर्काको चाड भनेर पूर्वाग्रह नराख्ने हो भने, जनश्रुति र कथालाई सच्याएर सिंगो नेपाली पर्वको प्रारुप दिने हो भने, दसैँलाई दसैँ जस्तो गरी नै मान्न पाउनु पर्छ, तिहारलाई तिहारकै रुपमा मान्नु पाउनु पर्छ ।

मलाई हिन्दुको दशैँ होइन नेपालीको दशैँ मन पर्छ । म हरेक नेपाली पर्वहरुलाई काँध थापेर नेपालीत्वको वकालत गर्न रुचाउँछु बहिनी । अन्त्यमा परदेशमा बस्ने २० लाख दाजुभाईहरुको तर्फबाट घरदेशमा रहने समग्र चेलीहरुलाई दशैँ तिहारको शुभकामना । बहिनी तिमीलाई धेरै धेरै शुभकामना ।

रवि रोषी, दोहा कतार

rabiroshi@gmail.com

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय