नेपालीले भेटे आकाशगंगामा नयाँ रहस्य

काठमाडौं, २६ असाेज- ब्रह्माण्डको चारैतिर फैलिएर रहेको अदृश्य पिण्ड डार्कम्याटरबारे नेपाली खगोलशास्त्रीले नयाँ तथ्य फेला पारेका छन्। अस्ट्रेलियामा अनुसन्धानरत डा. प्रज्वल काफ्लेले आकाशगंगा (मिल्की वे) मा रहेको डार्कम्याटरको तौल यसअघि मानिएको भन्दा करिब आधा मात्र रहेको पत्ता लगाएका हुन्।

अस्ट्रेलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाअन्तर्गत इन्टरनेसनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च (आइसिआरएआर) मा कार्यरत जनकपुर नगरपालिका–४ का काफ्लेको अनुसन्धानअनुसार डार्कम्याटरको तौल ८ खर्ब सूर्य पिण्डबराबर मात्र छ।
यो अनुसन्धानले ‘सौर्यमण्डलसमेत रहेको आकाशगंगालाई परिक्रमा गर्ने ठूलो आकाशगंगा तीन वटा मात्रै किन छन्?’ भन्ने खगोलशास्त्र क्षेत्रमा दुई दशकदेखि जारी खोज–अनुसन्धानको जवाफ दिएको छ।
काफ्लेले आफ्नो मापनबाट करिब २ दशकदेखि खगोलशास्त्रीका लागि टाउको दुखाइको विषय बनेको मिसिङ सेटलाइट समस्याको समाधान दिएको दाबी गरे। खगोलशास्त्रीहरुले अहिलेसम्म सौर्यमण्डलसमेत रहेको आकाशगंगालाई परिक्रमा गर्ने करिब १ सयवटा मात्रै सेटलाइट आकाशगंगा पत्ता लाएका छन्। ‘साना–साना आकाशगंगा पत्ता लगाउन कठिन हुने भए पनि ठूला आकाशगंगासमेत नभेटिएपछि त्यसलाई मिसिङ सेटलाइट समस्याका रुपमा व्याख्या गरिँदै आएको थियो,’ काफ्लेले आफ्नो उपलब्धिबारे प्रस्ट पार्दै भने, ‘तर हामीले अध्ययन गर्दै आएको सिद्धान्तमा नभई हामीले प्रयोग गरेको मापन विधिमा रहेको कमजोरीले त्यस्तो समस्या उत्पन्न भएको थियो। त्यसलाई अहिलेको नयाँ मापनले समाधान गरिदिएको छ।’
काफ्लेको विद्यावारिधि थेसिस यही विषयमा केन्द्रित थियो। ‘पिएचडी थेसिस पनि आकाशगंगाको उत्पत्ति, विकासको अध्ययन गर्ने सिद्धान्त ल्याम्डा कोल्ड डार्क म्याटर (एलसिडिएम) माथि थियो,’ काफ्लेले भने, ‘मैले गरेको मापन एलसिडिएमलाई थोरै भए पनि समाधान गर्न सफल भएको छ।’
३१ वर्षीय काफ्लेले गत वर्ष सिड्नी विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। त्यतिबेला पनि उनको थेसिसलाई विश्वविद्यालयले भौतिक शास्त्रतर्फको सबैभन्दा उत्कृष्ट थेसिस घोषणा गरेको थियो।
काफ्लेको पछिल्लो मापन परियोजनामा एक भारतीय र दुई अस्ट्रेलियाली खगोलशास्त्रीको सहयोग थियो। एक सूर्यको पिण्ड २० अर्ब खर्बको खर्ब (२ को पछि ३१ वटा शून्य) किलोग्राम बराबर हुन्छ। सौर्यमण्डल रहेको आकाशगंगामा ३ खर्ब तारा रहेको अनुमान गरिन्छ। सबैको तौल सूर्यको पिण्डबराबर मानेर मापन गरिन्छ।
‘हामीले आँखाले देखेको तारा, धुलो, तपाईं र म पूरै ब्रह्माण्डको चार प्रतिशत अंश मात्रै हो,’  काफ्लेले भने, ‘ब्रह्माण्डमा करिब २५ प्रतिशत डार्कम्याटर र बाँकी डार्क इनर्जी छ।’ डार्क इनर्जीका विषयमा गरिएको अनुसन्धानका लागि सन् २०१२ मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
काफ्लेले एक वर्ष लगाएर आकाशगंगाका विभिन्न स्थानमा रहेका करिब ५ हजार ताराको गति र दुरीको अध्ययन गरेका थिए। पृथ्वीबाट झन्डै करिब ५ लाख खर्ब किलोमिटर परसम्मका ताराको दुरी र गति अध्ययनमा समावेश गरिएको थियो। एक शताब्दीअघि बेलायती खगोलशास्त्री सर जेम्स जिनले विकास गरेको विधिको प्रयोग गरेर काफ्लेले यो मापन गरेका हुन्।
आकाशगंगाको गुरुत्वाकषर्णले सूर्यसहितका सबै तारालाई पृथ्वीले सूर्यलाई झैं आफ्नो कक्षमा निरन्तर परिक्रममा गरिरहेका हुन्छन्। अमेरिकी वैज्ञानिक भेरा रुविनले सन् सत्तरीकै दशकमा डार्कम्याटरको सिद्धान्त अघि सारेकी थिइन्। उनकै सिद्धान्तका आधारमा आकाशगंगाको प्रणाली कसरी सञ्चालन हुँदै आएको छ भन्ने अध्ययन गरिन्छ।तर त्यसअनुसार डार्कम्याटर अध्ययन गर्दा अन्य खगोलशास्त्रीहरुले अहिले अनुमान गरिएको त्यसको तौल दोब्बर भएको अनुमान गरेका थिए।
‘हामीले गरेको मापनको अन्यको भन्दा कम्युरेट छ,’ काफ्लेले भने, ‘अन्यको हिसाब निकाल्दा मार्जिन अफ इरर ३० देखि ४० प्रतिशतसम्म राखेका हुन्थे। हाम्रो मापन भने १५ देखि २० प्रतिशत मात्रै छ।’ कसै–कसैले शतप्रतिशतसम्म पनि राख्ने गरेका छन्।
प्लस टुसम्म जनकपुरमा अध्ययन गरेका काफ्लेले त्रिचन्द्र कलेजबाट बिएससी र केन्द्रीय क्याम्पस कीर्तिपुरबाट भौतिक शास्त्र मास्टर्स गरेका थिए। पिएचडी अध्ययन थाल्नुअघि उनले काठमाडौंका विभिन्न कलेजमा अध्यापन गर्थे। सन् २०१० फेब्रुअरीमा उनी पिएचडी गर्न सिड्नी गएका थिए।
काफ्ले खगोलशास्त्र अध्ययनका लागि नेपाल उत्कृष्ट ठाउँ भएको मान्छन्। ‘हामी खगोलशास्त्री रातमा प्रस्टसँग तारा, पिण्डहरु हेर्न टेलिस्कोप विश्वभरका अग्लो र सकेसम्म अँध्यारो ठाउँ खोज्दै हिँड्छौं। हामीकहाँ यो दुवै कुरा जताततै पाइन्छ,’ उनले भने, ‘भारत र चीनजस्ता अन्तरिक्ष अनुसन्धानमा निकै अघि बढेका देशका बीच रहेको हामीले सानो लगानीमा राम्रो अध्ययन केन्द्र खोल्न सक्छौं। इन्टरनेटका कारण विश्वका जुनसुकै स्थानमा सबेर तथ्यांक लिन सकिन्छ। मैले पनि अमेरिका रहेका दुरविनबाट तारा हेरर अध्ययन गरेको हुँ।’

के हो डार्क म्याटर

डार्कम्याटर ब्रह्माण्डको चारैतिर रहेको मानिएको अदृश्य पिण्ड हो। यसले प्रकाश परावर्तन गर्दैन र शोषण पनि। त्यसैले यो अदृश्य रहन्छ, सामान्य आँखाले त के, टेलिस्कोपबाट समेत प्रत्यक्ष हेर्न सकिँदैन। यद्यपि, गुरुत्वाकर्षण प्रभावका आधारमा खगोलशास्त्रीले यसको अस्तित्व भने स्विकार्दै आएका छन्। उनीहरु ब्रह्माण्डमा डार्कम्याटरको अवस्थितिलाई अँध्यारो कोठामा टर्चलाइट बाल्दाको अवस्थासँग तुलना गर्छन्। अँध्यारो कोठामा टर्चलाइटको प्रकाश जति भागमा पर्छ, त्यति मात्र देखिन्छ। त्यसको अर्थ कोठाका अन्य भागमा कुनै पनि वस्तु छैन भन्ने होइन। डार्कम्याटर छ भन्नेमा वैज्ञाानिकहरु आश्वस्त छन् तर त्यो कस्तो हुन्छ र कहाँ रहन्छ भन्ने अझै रहस्यमै रहेको मान्छन्।
याे खबर अाजकाे नागिरक दैनिकमा छापिएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय