कतारमा सुखद यात्राको दुखद अन्त्य

अंग्रेजी महिनाको फेब्रुअरी मसान्त मास । कतारमा शुक्रवारे छुट्टी मनाउने पूर्वनियोजित योजनाअनुरुप शुक्रवार आउनु अघि नै रात्रिकालिन १० बजे तिर नयाँ नम्वरको सेलफोनबाट ताराम्तार घण्टी बजिरह्यो । “हेलो तँ मान्छे बोलेको होस् नि होइन ?” अनौठो अपरिचित आवाज निकालेर प्रश्न गर्दै थियो कोहि मलाई । निसंकोच यस्तो भाउँतो प्रश्न गर्ने पक्कै पनि टाढाको मान्छे होइन भन्ने अन्दाज त मैले गरिसकेको थिएँ । तर यहि हो भनेर खुट्याउन मलाई हम्मे हम्मे नै पर्यो । मैले पनि जवाफ फर्काइदिएँ । “हो ख्वामित् म मान्छे नै हुँ । बरु हजुर चाहिँ को मान्छे पर्नु भयो नि ?” भन्दै विनयतापुर्वक छिल्लिएर प्रश्न गरेँ । “तैँले मलाई चिन्नु जरुरी छैन । म जे भन्छु सुरुक्क सुन् अनि खुरुक्क मान् । अव आउने शुक्रवार हामीसंग घुम्न जानु पर्छ । हैन भने……” भनेर कड्कियो । “म जान्न भनेर मैले असहमति जनाएँ भने कुन महल अन्तर्गतको सजाय भोग्नु पर्छ माई अनर ?” उसले आफ्नो कृत्रिमता धेरै बेर टिकाउन सकेन । हाँसोलाई थाम्न सकेन । गलल्ल हाँसिदियो । अभिनयबाट उ चिप्लियो । डङ्गरङ्ग पछारियो । मैले उसको हाँसोलाई च्याप्प समाएँ र मष्तिस्कमा घोल्दै एउटा आँखा ट्वाल्ल हेर्दै अर्को आँखा चिम्म पारी सिलिङ्ग तिर हेर्दै बिचारीले झैँ घोत्लिएँ । ए मणि तँ पो ? घुम्न जाने योजना सुन्ने बित्तिक्कै मेरो खुट्टा ससर्काउन थालिहाल्यो र एकैचोटी भएभरका मनमा उव्जेका प्रश्नको गुजमुज्ज डल्लो हुत्याईहालेँ । “कहाँ कहाँ जाने ?” “ को को जाने ?” “कतिजना जाने ?” यावत यावत नानाभाँति । अर्को आवाजमा प्रत्युत्तर आयो । “भूपति भट्टराई, दिपक पौडेल, राई रमेश गाउँले, मणि नहर्की, विनोद अर्याल, इन्जिनियर निमेश ताम्राकार, इखालु रमेश । कुमार कार्की, मनोज बस्नेत, तँ अनि म ।” यो बोल्ने राम थियो अर्थात् हाम्रै टिमको रामकुमार श्रेष्ठ । माथि उल्लेखित नामांकित टिम हाम्रो साथी बर्गको राम्रो फेमिली “हेज” हो । “हेज” अर्थात् बेढंगको बुट्यानलाई काँटछाँट गरी चाहे अनुसारको सुन्दर आकारमा ढालिएको होचा रुखबिरुवाहरु । जसले बागलाई थप सुन्दरता प्रदान गर्छ । यसै त हरेक बिहिवार दोहा हानिने मान्छे म । घुम्ने योजना तयार गरेको थाहा पाउने बित्तिक्कै दोहा जान झन् बढि आतुर भएँ । दोहा जाँदा मेरो बस्ने थात् थलो चाहिँ धेरैजसो बिनोदको रुम हो । उसले मलाई बहुत हेक्का राख्छ । हरेक सप्ताहन्तमा मलाई घर माईति गराईरहन्छ । नाम जस्तो हो स्वभाव त्यस्तै बिनोदी छ विनोद अर्याल । काँचो उमेरको मान्छे भएपनि परिपक्व पाको व्यवहार गर्छ । कसैलाई चित्त दुखाउन जान्दैन । बरु आफैँ पाकेर फतक्क हुन्छ । निमेषजी पेसाले एक ईन्जिीनियर, हँसमुख स्वभाव । थोरै बोल्नु हुन्छ तर मिठो र वजनदार । आवाजरहित वहाँको फिस्स हाँस्ने आकर्षक हँसाई मेरा निम्ति अर्को लोभलाग्दो पक्ष हो । भूपतिजी आफ्नै कन्सट्रक्सन कम्पनीको प्रवन्धनपति । अभिमान रहित देदीप्यमान स्वभाव । रंगीन मिजास । वहाँमा अभिमानी छनक कहिल्यै भेट्न सकिन । मलाई वहाँ मन पर्छ । दिपकजी मेरो उर्जाप्रदायक आत्मियमित्र । लेख्ने क्रममा म चिप्लिन खोज्दा धेरै पटक हात डोर्याएर ताते ताते गरी भरोसा दिएर थामिदिनु भएको छ । वहाँ मेरो बिर्सिनसक्नु बिश्वामित्र । बरु गायत्री बिर्सिएँ भने पाप नलाग्ला । वहाँलाई भुलेँ भने ठूलो अन्याय गरेको ठहर गर्नेछ मेरो मनोदलातले । मणि र राम मेरो त्यस्तै बिर्सिनसक्नु सुदामा । दोश्रो छिमल कतार आएर भक्कु चप्पल पड्काउँदै भौँतारिएर हिँड्दा मलाई ठूलो गुन लगाएको छ । हाम्रो एकदिने भ्रमण टोलीका अन्य सहयात्री कुमार, इखालु रमेश, मनोजहरु पनि समपेसाधर्मी तथा छोटो समयको घनिष्ट मित्र उनीहरुसंगपनि त्यत्तिकै दौत्यसम्वन्ध छ । रिढीको रुरु क्षेत्र देखि महाभारतको कुरु क्षेत्रसम्म त एक्लै घुमेर सिनित्त मैजारो पारेको यो ज्यानले साथीभाईहरुको हुलमा मिसिएर घुम्नुको मजा अलग्गै थियो । पूर्वयोजनाअनुरुप २९ फेब्रुअरीको बिहान हामी सवै आआफ्नो दुलोबाट निस्किएर दोहाको मुटुमा रहेको बाजेको होटेल अगाडि जम्मा भयौँ । १८ बसन्त कतारमा नै सिनित्त भ्याएर रैथाने जस्तो भईसकेका भूपतिजीका गाडीमा बिनोद र मणिलाई खाँदेर अगाडि पठाईदियौँ । निमेशजीको कारमा म र राम पस्यौँ । दीपकजीको कारमा कुमार, मनोज र इखालु रमेशहरु खाँदिन पुगे । यसरी लर्कनैको कार हिँडाईले गाउँ घरतिर जन्त गएको झल्कना पलायो । त्यसैमाथि भूपतिजीको कारमा बजेको नेपाली लोकदोहोरीको गीतले त्यसैमाथि झन रमाईलो गराईरहेको थियो । निमेषजी गम्भीर प्रकृतिको मान्छे वहाँको कारमा किशोर दा र महम्मद रफीका गीत गुञ्जिरहेको थियो भने दीपकजीको कारमा जगजीत र चित्रा सिंहका दम्पतिले गजलको राग उरालिरहेका थिए । कहिले भूपतिजीको गाडि अगाडि त कहिले निमेषजीको गाडि अगाडि गर्दै हामी साउदी अरबको सीमाक्षेत्र आबुसम्रा जाने बाटो उधिन्दै हान्निईरह्यौँ । त्यसको केहि यात्रा दौरानपछि आबुसम्रालाई देब्रे तिर छोडेर हामी दुखान तिर हानियौं । ला, दिपकजीहरुले त बाटो बिराउनु भएछ । भूपतिजीले मोवाइललाई कानबाट हटाउँदै भन्नुभयो । केहि समयको पर्खाईपछि वहाँहरु हामी भएतिर आउन सफल हुनु भयो । दुखान पुग्नु अघि चरनमा निमग्न रमीरहेको उँटको जत्था देख्ने बित्तिक्कै कुमार क्यामेरा लिएर दौडिदै उँटको छेउमा पुगेर दर्जनौँ पटक क्लीक क्लीक गरीरह्यो । उँटको बच्चा हाम्रा लागि अर्को आकर्षणको केन्द्रबिन्दु थियो । “ओई कुमार भाग भाग” उताबाट मणि चिच्याएर कुमारलाई हकार्दै थियो । साँच्चै उँटको बच्चाको माउ आफ्नो बच्चाको रक्षार्थ आक्रामक बनेर कुमारतर्फ नै हान्निदै आएको मैले हेक्कै नराखेको रहेछु । बिनोद चाहिँ गाउँघरतिर बालीनाली खान आएको गैँडालाई धपाएझैँ गरी उँटको माउलाई तर्साउन हईट् हईट् गरीरहेको थियो । के निहुँ पाउँ कनिका बुक्याउँ भनेर बस्नुभएको भूपतिजी र मणिले चितवनको आफ्नै गाउँमा राति बाली खान आएको गैंडा धपाएको याद आयो कि क्या हो विनोद ? भन्दै बिनोदलाई जिस्क्याएर खोईरो काढेर छोड्नुभयो भने नजिकै बसेर चर्तिकला हेरीरहनुभएको दीपकजी चाहिँ स्वस्थानी ब्रतकथामा सतिदेवीसंग पासा खेल्दा मुकुट डमरु हारेका महादेव हाँसेझैँ हि हि हि हि गरेर हाँसेर बसिरहनुभयो । फोटो खिच्ने कार्यक्रमको अन्त्य पछि हामी दुखानको हिमालयन रेष्टुरेन्टमा पुग्यौँ । त्यसपटकको मेलोमा भूपतिजी नै बाटो बिराएर अर्को बाटोतिर बरालिनु भएछ । रामले सेलफोन मार्फत लोकेशन बताउँदै हाई वे क्रसको माथिल्लो ब्रीजको राउण्डअवाउटबाट दायाँ कुइनेटोको तरपाया बाटो समाएर आउन निर्देश गर्यो । बिनोदलाई पनि अघि पहिलाको बदला लिनु थियो भूपतिजीसंग । भूपतिजी तर्फ हेर्दै झटारो हान्न विनोद पनि चुकेन । “१८ बर्ष कतार बसेको पायन पनि देखियो” भनेर विनोदले भुईं तल्ला र माथिल्लो तल्लाको दन्तेलहरले जिब्रो टोक्दै र आँखा चिम्रिक्क पार्दै भूपतिजीलाई जिस्कायो । त्यस क्षण खिस्स पर्ने पालो भूपतिजीको थियो । भोकले लखतरान परेका हामी रमाइलो गफसँगै खान खाँदै थियौं । तत्क्षण बिनोदको मोवाइलमा नेपालको अंकित नम्बरबाट ताराम्तार घण्टी बजिरह्यो । उसले हेल्लो भन्यो, थोरै बोल्यो धेरै सुन्दै गयो । मोवाइलमा कुरा गर्दा गर्दै उसको अनुहार कालो बादलले ढाकेको आकाश जस्तो भयो । खाँदाखाँदैको भात टक्रक्क छोडेर बाहिरियो । साथी भाईहरुले ट्वाइलेटको महसुस गरेर उठेको ठाने र हाँसोमा केहि कुराहरु पनि भयो त्यस पछि मणिले पच्छ्याउँदै गयो विनोदलाई । बल्ल मैले थाहा पाएँ । उसको भाई काठमाडौँ स्थित शिक्षण अस्पतालको अति सघनकक्षमा अक्सिजन दिएर राखेको रहेछ । अब जे पनि हुन सक्ने शकुन अपशकुन नानाभाँति सोचेर सानो बच्चा झैँ एकान्तमा बसेर पिल्ल रोईरह्यो । उसलाई मणिले सम्झाउँदै एकान्तमा लिएर गयो । म पनि खंग्रङ्ग भएँ । त्यत्ति रमाईलो हाम्रो यात्रा खल्लो र नीरस हुँदै गयो । बिचरो उ कोक्किईरह्यो । हामीले बाँकी यात्रालाई छोट्याउने तय गर्यौँ । दुखान, जुमेलिया हुँदै अलखोर निस्किएर दोहा तिर हानियौँ । (चितवनका स्थायी वासिन्दा रवि रोषी हाल दोहा कतारमा बस्छन् । उनी नेपाल पत्रकार महासंघ, कतार शाखाका अध्यक्ष हुन् ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय