दसैंले बढाएको व्यस्तता

जनकपुर, आश्विन १३ – दसैं आगमनसँगै दुर्गा भगवतीका मूर्ति बनाउने कलाकारलाई भ्याइनभ्याइ भएको छ । एउटै समूह चार-चार शक्तिपीठमा मूर्ति बनाइरहेका छन् । यस भेगकै चर्चित माटोका मूर्ति बनाउने शिल्पी जोगी पण्डित जनकपुरको रामानन्द चोक, महोत्तरीको बनौली, बनौटा तथा आफ्नै गाउँ धनुषाको बहुअर्वामा समेत मूर्ति बनाउन व्यस्त छन् । उनलाई छोरा अमरजित पण्डित, मनोज दास तथा सन्तोष ठाकुरले सहयोग गरिरहेका छन् । राम्रो कमाइ देखेर अमरजित कक्षा ९ को पढाइ छाडेर मूर्ति निर्माणमा जुटेका हुन् । जोगी पण्डितसँगै धनुषा ललियाका बिकाउ मण्डल, रूपैठाका धनुषी पण्डित, मिथिलेश्वर मौवाहीका मटुक पण्डित, फूलगामाका रामचन्द्र मण्डल खत्वे, गिद्धा ९ बेलापट्टीका मदन पण्डित र प्रभात पण्डितलगायत ५० शिल्पी अचेल धनुषाका विभिन्न शक्तिपीठमा दुर्गाका प्रतिमा बनाउन जुटेका छन् । माटोका भाँडावर्तन, सामाचकेवासँगै गणेश, लक्ष्मीलगायतका मूर्ति बनाउने काम कुम्हार (पण्डित) जातिका कलाकारले मात्र गर्ने गरेको भए पनि हाल अन्य जातिले पनि यो पेसा अँगालेका छन् । नेपाल प्रजापति कुम्हाकार संघका केन्द्रीय उपाध्यक्ष एवं अवकाशप्राप्त सह-प्राध्यापक रामसागर पण्डित भन्छन्, ‘भाँडावर्तन र मूर्ति बनाउने काममा पहिले कुम्हारकै एकाधिकार थियो तर पछिल्लो समय मूर्ति बनाउने कार्य अन्य जातिका कलाकारहरूले पनि अँगालेका छन् ।’ उनी यसलाई अन्यथा मान्दैनन् । भन्छन्, ‘यो कलासँग सम्बद्ध विषय हो र कलाकारको कुनै जाति हुँदैन ।’ दुर्गा पूजा, कृष्णाष्टमी, करिया कुम्मरी, विश्वकर्मालगायतका धार्मिक अनुष्ठानहरूमा माटोका मूर्ति निर्माण गर्नेहरूलाई धार्मिक तथा तान्त्रिक विधिको जानकार हुनु आवश्यक मानिन्छ । जोगी पण्डितका अनुसार मूर्ति निर्माण गर्न बाँस काट्ने (बाँसकट्टी) दिनदेखि प्रतिमालाई आँखा प्रदान गर्ने दिन (मैथिलीमा नेन पर्ने दिन) सम्म धार्मिक तथा तान्त्रिक विधिविधानको पालना गर्नुपर्छ । उनी भन्छन्, ‘बाँसकट्टीको दिन बाँसमा सिन्दुर, पिठार -चामलको पिटोको झोल) फूल, पानलगायतले पूजा गर्नुर्पर्छ ।’ मूर्ति बनाउन सुरु गर्नुअघि कलाकारहरू आफ्ना गुरुको पूजा गर्छन् । त्यसपछि सरस्वती, लक्ष्मीलगायत अराध्य देवीदेवताको पूजा गर्छन् । ‘नेन’ पर्ने अर्थात् मूर्तिमा आँखा प्रदान गर्नु अत्यन्तै महत्त्वपूर्ण तथा संवेदनशील उपक्रम भएको कलाकारहरू बताउँछन् । शक्तिपीठका प्रमुख पुजारी मन्त्रद्वारा पानको पातमा घिउ राखेर काजल (कालो) बनाउँछन् । यसै काजलबाट दुर्गाको प्रतिमामा आँखा प्रदान गरिन्छ । पण्डित रामेश्वर झा भन्छन्, ‘सामान्य पण्डित पुरोहितले काजल बनाउन सक्दैनन् ।’ तीन-चार जनाको समूहले अधिकतम सात दिनमा माटोका मूर्तिको सेट निर्माण गर्छन् । सेटमा दुर्गा, महिषासुर, भैंसी, गणेश, सरस्वतीलगायतका मूर्तिहरू हुन्छन् । एक सेट मूर्ति निर्माण गर्न कलाकारहरूको समूहले २० देखि ५० हजार रुपैयाँसम्म ज्याला पाउँछन् । जोगी पण्डित भन्छन्, ‘सबै खर्च कटाएर एक वर्षमा दुईदेखि तीन लाख कमाइ हुन्छ ।’ ekantipur.com बाट