रोजगारीको नयाँ गन्तव्यः उद्यम विकास सहजकर्ता

(देशपरदेश संवाददाता) काठमाडौं, असोज १०– नेपालमा रोजगारीको अवसर कम भएको भन्दै दिनहुँ १ हजार २ सय भन्दा बढी युवा बिदेशिन्छन् । तर स्वदेशमा नै सम्भावना पहिल्याउनेहरु पनि नभएका होइनन् । पछिल्लो समयमा सीप तथा प्राविधिक शिक्षा लिएका युवा स्वदेशमा नै बिदेशमा कमाए सरह आम्दानी गर्न थालेका छन् । अनी आफुसँग कुनै सीप भयो भने अवसर पनि पाईन्छ भन्ने चेतनाको विकास पनि हुँदै गएको छ ।

धेरै क्षेत्रका सम्भावनाहरु मध्ये प्राविधिक एसएलसी(टी एसएलसी) भनिने उद्यम विकास सहजकर्ता आउँदो दिनका लागि राम्रो सम्भावना बोकेको प्राविधिक शिक्षा हो । यो बिषय पढेका बिद्यार्थीले व्यवसाय गर्न चाहनेलाई उपयुक्त बाटो देखाउने काम गर्दछन् ।

यो बिषय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटी)द्वारा मान्यता प्राप्त छ । एसएलसी उत्तिर्ण गरेका बिद्यार्थीले पढ्न मिल्ने उद्यम विकास सहजकर्ता १५ महिने कोर्स हो । यसमा रोजगारका आधारभुत सिद्धान्त, लेखा सम्बन्धि सामान्य ज्ञान, व्यापार योजना निर्माण, सहजकर्ता तथा परामर्शदाताका रुपमा काम गर्ने शिक्षा दिईने सुदुरपश्चिमाञ्चल पोलिटेक्निकल इन्स्टिच्युटका लेखापाल सुनिल बडालले जानकारी दिए ।

उद्यम विकास सहजकर्ता पढेका बिद्यार्थीको अहिले सरकारी तथा गैरसरकारी संघसंस्थामा माग हुन थालेको छ । विभिन्न तालिम प्रदायक संस्थाले तालिम दिएका युवालाई उद्यमशील बनाउन परामर्शदाताका रुपमा यस्तो शिक्षा लिएका जनशक्तिको माग बढ्दै गएको बडालको भनाई छ ।

नेपाल सरकारले पनि देशका प्रत्येक गाविसमा एक–एक जना उद्यम बिकास सहजकर्ता राख्ने योजना प्रस्ताव गरेको छ । तर यो योजना कार्यान्वयनमा भनें आइसकेको छैन । यदि सरकारले यस योजनालाई कार्यान्वयनमा ल्याएमा जनशक्ति कम हुनेछ ।

सिटिईभीटीले यो प्राविधिक शिक्षालाई तह २ मान्यता दिएको छ । त्यो भन्दा माथिको पाठ्यक्रम बनिसकेको छैन । जनशक्ति बढ्दै गयो र आवश्यकता महशुस भयो भने माथिल्लो तहको पाठ्यक्रम बिकास हुनसक्ने सिटिईभीटीका उपनियन्त्रक नवराज कोईरालाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय