विनोद चौलागाईं, धादिङ, १० असोज – बिदेशिएका धेरै युवाको सपना हुन्छ स्वदेश फर्किएपछि शहरमा चिटिक्क परेको घर बनाउने । बाँकी जीवन खुसी साथ विताउने । त्यसैले गाउँबाट शहर पस्नेहरुको संख्या पनि बर्षेनी बढ्दो क्रममा छ । विदेशमा दुईचार वर्ष काम गरेर फर्केकाहरु मध्ये कतिपयले थोरै भएपनि शहरमा जग्गा जोड्ने गरेका छन् । यसले शहरमा घरजग्गाको भाउ आकाशिएको पनि छ । तर धादिङ सत्यदेवीका रणबहादुर तामाङको कथा भनें अलिक फरक छ । झण्डै पाँच बर्ष कोरिया बसेर नेपाल फर्किएका तामाङ हाल गाई फार्म चलाएर बसेका छन् । उनी २०६५ सालमा कोरियाबाट नेपाल फर्केका हुन् । पशुपालन र व्यवसायिक खेती गर्ने उद्देश्यले उनले गाउँमै मिलेको जग्गा खोजे । घाँस, पानी, वातावरण मिलेको जग्गा फेला पार्न उहाँलाई दुई बर्ष लाग्यो । मन मिल्ने अरु तीन जनाको समुह बनाएर ९० रोपनी जग्गा खरिद गरियो । ऐलानी सहित जोड्दा यो समुहको फार्म १ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । अनी सुरु भयो लाप्साङकर्पा एग्रिकल्चर एण्ड लाइभस्टक डेभलपमेन्ट प्राली । व्यवसायीक रुपमा गाईपालन सुरु गरेको तीन वर्ष भयो । चारवटा जर्सी गाईबाट सुरु गरिएको गोठमा अहिले २८ वटा गाई पुगेका छन् । दिनहुँ ७० लिटर दुध चारवटा व्यवसायिक समुह मिलेर गाउँमै खोलिएको डेरीमा विक्रि गरिन्छ । अन्य डेरीमा दुध विक्रि गर्दा डेरीले नैं बढी नाफा राख्ने र किसानको हातमा कम पैसा पर्ने भएकाले गाउँकै व्यवसायीक समुहहरु मिलेर डेरी खोलिएको तामाङको भनाई छ । गज्जवको कुरो त गाईको दुध विक्रिबाट भन्दा मलमुत्र विक्रि गरेर दोब्बर आम्दानी लिने गरेको तामाङ बताउँछन् । ‘दिनहुँ तीन सय किलो गोबर हुन्छ जसबाट एक सय किलो मल बन्छ ।’ तामाङ भन्छन् –‘एग्रोभेटले हामीबाट २० रुपैंया किलोमा किनेर लैजान्छ तर उपभोक्ताले यहि मल किलोको ५० रुपैंयामा किनिरहेका छन् ।’ मुत्र-गहुँत_ भनें १० रुपैंया प्रतिलिटरमा विक्रि हुने गरेको छ । पछिल्लो समयमा कौसी खेती, गमला खेती र नर्सरीले गर्दा पनि यस्तो मलको माग बढेको हो । तामाङ भन्छन् – ‘काठमाडौंमा पनि मल मागिरहेका छन् तर स्थानीय माग नैं पूरा गर्न सकिएको छैन ।’ तामाङले आफ्नो फार्ममा नमुनाको रुपमा अर्गानिक खेती पनि सुरु गरेका छन् । कागती, सुन्तला, मरिच, भुईकटहर जस्ता फलफूल तथा मसला खेती बढाउँदै लैजाने समुहको योजना छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to देश परदेश