दुवई, जेठ २४ – राम्रो रोजगारीको प्रलोभनमा टुरिष्ट भिषामा युएई आएका ५ जना युवा रोजगारी नपाएर अलपत्र परेका छन् । उनीहरुलाई नेपालबाट एड्को नामको कम्पनीमा रोजगारी दिने प्रलोभनमा मोटो रकम लिएर पठाइएको थियो ।
त्यसरी आएका मध्ये सिरहाका श्रेष्ठ, रौतहटका आचार्य र सर्लाहीका रायमाझी थरका युवा जनही ५ लाख तिरेर आएका छन् । यसैगरी काभ्रेका अर्का युवा ३ लाख ५० हजार तथा भक्तपुरका अर्का युवा ३ लाख तिरेर आएका हुन् । उनीहरुले आफ्नो नाम प्रकाशित नगरिदिन अनुरोध गरे ।
उनीहरुलाई राजधानीको कोटेश्वरस्थीत सी सार्क कन्सल्टेन्सीले युएई पठाएको हो । यसरी पठाइएकाहरुलाई युएई पुगेपछि दिइने रोजगारीको सम्झौतापत्र पनि नक्कली भेटिएको छ । मे १९ मा युएई आएर अलपत्र परेकाहरु हाल शारजहाँको एक अपार्टमेण्टमा बसिरहेका छन् ।

ति युवालाई युएई पठाउने सी सार्कका सञ्चालक सोम खत्रीले आफू युएईको एजेण्टका कारण फसेको बताए । “हो उनीहरुलाई टुरिष्ट भिषामा पठाएको मैले नै हो” खत्रीले भने “तर युएईको एजेण्टका कारण म समस्यामा परेको छु ।” उनले आफूले अहिले ति युवाहरुलाई खाने र बस्ने व्यवस्था मिलाइरहेको र रोजगारी दिलाउन प्रयास गरिरहेको बताए ।
बैदेशिक रोजगारमा पठाउने अनुमति नलिई कसरी मान्छे पठाउनु भयो भन्ने प्रश्नमा खत्रीले सवै काम सहमतिमा भएको बताए । उनले आफूले कर गरेर कसैलाई नपठाएको दावी गरे । उनीहरुलाई प्रति महिना २७ सय दिरहम(नेरु झण्डै ७३ हजार) तलव हुने भन्दै नक्कली अफर लेटर दिइएको थियो । त्यो उनीहरुले युएई आइसकेपछि मात्र पत्तो पाएका थिए ।
हेर्नुहोस् नक्कली करारपत्र

त्यसरी गएकाहरु सोही कन्सल्टेन्सीमा केहि समयको तालिम लिएर गएका थिए । खत्रीले सैद्धान्तिक तालिम नेपालमा गराउने र व्यवहारिक चाहिं गन्तव्य मुलुकमा नै हुने दावी गरे । अलपत्र परेकाहरुले भनें आफूहरु नेपाल फर्किन चाहेको बताएका छन् । खत्रीले पनि आफूले उनीहरु नेपाल फर्किन चाहेमा फर्काउने बताएका छन् ।
आफूहरुको भिषा समेत नक्कली भएको उनीहरुले बताएका छन् । “हामीलाई कुनै देशमा गएर पुनः युएई फर्केर रोजगारी गर्न मिल्ने भन्दै ५ जनालाई नै होटलबाट एउटै गाडीमा राखेर एयरपोर्ट लैजाने भन्दै हिंडेको एजेण्ट बीचमै गायव भयो, अहिले उसको फोन अफ छ” पीडितले भने । यसरी टुरिष्ट भिषामा आउनेहरुलाई एकपटक ओमान वा नजिकैका कुनै देश पठाएर पुनः ल्याउने गरिन्छ ।
पछिल्लो समयमा टुरिष्ट भिषामा युएई लगायतका देशमा आएर अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएको छ । लाखौं रकम तिरेर त्यसरी आएकाहरु रोजगारी नपाएर अलपत्र पर्ने गरेका हुन् । तर नेपालमा भनें एजेण्टले आफूले रोजेजस्तो काम पाइने भन्दै टुरिष्ट भिषामा युवालाई पठाउने गरेका छन् ।
यो पनि पढ्नुहोस्
बैदेशिक रोजगारीबाट कमाएको रकम पठाउँदा ६ प्रतिशत कर लगाउने तयारी
