काठमाडौं- खाडीको एउटा देशबाट निकाला भएको व्यक्ति (कामदार) अर्को देशमा रोजगारीका लागि पस्न नसक्ने गरी चाँडै प्रतिवन्ध लाग्ने दुवईका एक सरकारी अधिकारीले बताएका छन् । गल्फ न्यूजका अनुसार यो नियम लागु भएपछि एउटा देशबाट निकाला भएको कामदार सवै ६ वटा मुलुक प्रवेश गर्न पाउने छैनन ।
यस अघि नै युएईसँगै कतार, बहराइन, कुवेत, साउदी अरेविया तथा ओमनले यसमा सहमति गरिसकेका छन् भनें सोही अनुरुपको डाटाबेस तयार पारिरहेका छन् । खाडीमा सुरक्षाका हिसावले पनि सो कानून चाँडै लागु हुने ति सरकारी अधिकारीलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।
यो कानून लागु भएपछि खाडीका ६ वटा देश मध्ये जुनसुकै देशबाट निकाला गरिएको भएपनि त्यस्ता व्यक्तिको हातको औंलाको रेखाको स्क्यान गरिएको रेकर्ड सवै देशलाई पठाइने छ । त्यसको आधारमा कुनै देशबाट कुनै खराव आचारणको अभियोगमा निकाला गरिएको व्यक्ति रोजगारीका लागि अर्को मुलुक पस्न पाउने छैनन् । खाडीका देशमा चर्को श्रम शोषण तथा अमानविय व्यवहारका कारण थुप्रै व्यक्ति श्रम सम्झौता अवधि पुरा नगरी स्वदेश फर्केर अर्को देशमा जाने गरेका छन् । यसैगरी कतिपय भनें भागेर अन्यत्र काम गरी केहि अवधि पछि स्वदेश फर्किने गरेका छन् ।
नयाँ कानूनले त्यस्ता कामदारलाई अप्ठ्यारोमा पार्न सक्नेछ । यो श्रम कानूनलाई उदार बनाउन अन्तराष्ट्रिय दवाव परिरहेको सन्दर्भमा खाडीका देशहरु सुरक्षाको नाममा अझ कडा हुने संकेत हो ।
