साउदीमा चार नेपालीको मृत्यु 

काठमाडौं, असोज ८ -साउदी अरेबियास्थित मुस्लिमहरूको पवित्र स्थल मक्कामदिनामा हज गर्न गएका चार नेपालीको बिहीबार मृत्यु भएको छ। मक्कामदिनाबाट केही किलोमिटर पूर्व मिना भन्ने स्थानमा बिहीबार बिहानै भागदौड हुँदा किचिएर तीनजनाको मृत्यु भएको हो। त्यस्तै सुनसरी घर भएका एक हजयात्रीको बसेकै स्थानमा बिहीबार मध्याह्न मृत्यु भएको छ।

साउदी अरेबियाका लागि नेपालका कार्यवाहक राजदूत आनन्द शर्माले टेलिफोनमा दिएको जानकारीअनुसार मक्कामदिनानजिक भागदौडमा परी मृत्यु भएका नेपालीमा पर्साका जाकिर हुसैन, बाराका इजहार मियाँ र सुलेमानिया छन्।  

शर्माले सुनसरी घर भएका मृतक नेपालीको भने पहिचान खुल्न बाँकी रहेको बताए। अर्का एक नेपाली हजयात्री भागदौडमा परी घाइते भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय हज समितिको संयोजनमा गत भदौ २२ देखि २९ गतेसम्म एक हजारजनाभन्दा बढी नेपाली मुस्लिम हजयात्री मक्कामदिना गएका थिए। हजयात्री लिएर गएका केन्द्रीय हज समितिका अध्यक्ष ताजमोहम्मद मियाँले भागदौडमा परी नेपालीको मृत्यु भएको जानकारी बिहीबार अपराह्न रियादस्थित नेपाली दूतावासलाई गराएका थिए।

हज गर्न जाँदा मृत्यु भएकाहरूको अन्तिम संस्कार मुस्लिम परम्पराअनुसार मक्कामदिनामै गर्ने चलन छ। कार्यवाहक राजदूत शर्माले हजमा मारिएका नेपालीका नेपालस्थित आफन्तलाई यसबारे जानकारी गराइने बताए।

रोयटर्सका अनुसार उक्त भागदौडमा परी विश्वका विभिन्न मुलुकका झन्डै आठ सय हजयात्रीको मृत्यु भएको छ। त्यस क्रममा आठ सयभन्दा बढी घाइते भएका छन्। यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले मक्कामदिनामा भागदौड हुँदा हजयात्रीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्। 

साउदी राजा सलमानलाई सन्देश पठाउँदै कोइरालाले दुःखद् घटनामा निधन भई जीवन गुमाएका तीर्थयात्रीका परिवारमा व्यक्तिगत, सरकार र नेपाली जनताका तर्फबाट गहिरो समवेदना प्रकट गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए। कोइरालाले उक्त घटनाबाट आफू मर्माहत भएको पनि उल्लेख गरेका छन्।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय