काठमाडौं, भदौ २७ -बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले खाडी र मलेसियाका दुतावासहरुमा छिट्टै कानूनी सहयोग गर्ने कर्मचारी थपिने बताएका छन् । गन्तव्य मुलुकमा नेपाली समस्यामा पर्दा हाल कानूनी सहयोग गर्न मुस्किल परिरहेको भन्दै छिट्टै त्यो समस्या हल हुने कार्यकारी निर्देशक काफ्लेले आशा व्यक्त गरे ।
खाडी र मलेसियाका दुतावासहरुमा कर्मचारीहरु थपिएको, श्रम सहचारीहरु थपिएको भन्दै उनले यसले हाल त्यहाँ दुतावासबाट सेवा पाउन नसकेको भन्ने नेपालीको गुनासो कम हुने विश्वास व्यक्त गरे ।
शनिवार काठमाडौंमा प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) को छैठौं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै काफ्लेले कृषिमा आधारित नेपालको अर्थतन्त्र विस्तारै बैदेशिक रोजगारमा आधारित हुँदै गएको धारणा राखे । हरेक बर्ष नेपालमा बार्षिक बजेटको हाराहारी रकम खाडीका मुलुक र मलेसियाबाट भित्रिरहेको भन्दै काफ्लेले नेपालीको बैदेशिक रोजगारप्रतिको निर्भरता बढ्दो अवस्थामा रहेको बताए ।
बैदेशिक रोजगार दिगो विकल्प नभएको भन्दै काफ्लेले नेपाल प्राकृतिक सम्पदा लगायतमा धनी भएपनि त्यसको सदुपयोगमा ध्यान दिन नसकिएको बताए । उनले बैदेशिक रोजगार नेपालका लागि अल्पकालिन अवशर भएकाले स्वदेशमै उद्योग कलकारखानाको स्थापनामा सरकारको ध्यान पुग्नुपर्ने बताए । तत्कालै नेपालले बैदेशिक रोजगारलाई रोक्न नसकेपनि त्यसलाई क्रमशः घटाउँदै लैजाने तफै सोच्नुपर्ने उनले बताए ।
नेपालजस्तो मुलुकको सरकारले हरेक विषयलाई उत्तिकै ध्यान दिन नसक्ने भन्दै आफ्नो क्षेत्रका समस्याका बारेमा सम्वन्धित क्षेत्रले नै बढी झक्झक्याउनुपर्ने काफ्लेको धारणा थियो । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बैदेशिक रोजगारीका लागि प्रवद्र्धन गर्ने नभई नेपालीको सुरक्षा लगायतका विषयमा आफूहरुको मुख्य चासो रहेको काफ्लेले बताए ।
हाल धेरैजसो नेपालीहरु खाडीका मुलुक र मलेसियामा रोजगारीका लागि गइरहेको भन्दै त्यो बाध्यताको बैदेशिक रोजगारीलाई अन्य सम्पन्न मुलुकतर्फ जाने अवशर सिर्जन ागर्न सकिएमा त्यसबाट नेपालीले अझ धेरै लाभ प्राप्त गर्न सक्ने काफ्लेको भनाई छ । नयाँ गन्तव्यको खोजीमा सरकार लागि परेको भन्दै त्यसका केहि सकारात्मक नतिजा छिट्टै प्राप्त हुने आशा काफ्लेले प्रकट गरे ।
हालसम्म कतारसँग मात्र द्धिपक्षिय श्रम सम्झौता भएको र अन्य चारवटा मुलुकसँग सामान्य सम्झौता भएको भन्दै काफ्लेले नेपाली कामदारको हित हुनेगरी श्रम सम्झौता गर्न आवश्यक रहेको धारणा समेत काफ्लेले प्रकट गरे ।
सोही अवशरमा बोल्दै सुरक्षित आप्रवासन परियोजना सामी हेल्भेटासका वरिष्ठ कार्यक्रम अधिकृत बसन्त कार्कीले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या थपिएसँगै चुनौति पनि बढेको धारणा राखे । विदेशमा समस्यामा परेका घटनालाई सुल्झाउन निक्कै मेहनत आवश्कय पर्ने भन्दैै त्यसका लागि प्रवासी नेपाली समन्वय समितिले गरिरहेको काम प्रशंसनिय रहेको कार्कीको भनाई थियो ।
सो अवशरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका महासचिव निलाम्वर बडाल, प्रवासी नेपाली सेवा समितिका संस्थापक अध्यक्ष तारानाथ भण्डारी, देशपरदेश डटकमका सम्पादक सुनिल न्यौपाने लगायतले आफ्ना धारणा राखेका थिए ।
