काठमाडौ, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा ६ हजार ३ सय २१ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणमा परीक्षामा सहभागी ४० हजार ५ सय ८० जना मध्ये ६ हजार बढी उत्तिर्ण भएका हुन् । तीन चरणमा सञ्चालन हुने भाषा परीक्षामा छनौट गरिने १६ हजार ४ सयमध्ये ६ हजार ३ सय २१ पहिलो चरणको परीक्षामा उत्तिर्ण भएका हुन् । दुई चरणका परीक्षा हुन बाँकी नै छ ।

पहिलो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशाधन विभाग (एचआरडी) ले मङ्गलबार राति सार्वजनिक गरेको हो ।

पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको दोस्रो चरणको सीप परीक्षण हुनेछ । त्यसका लागि आगामी वैशाख ९ देखि १५ सम्म सीप परिक्षण हुनेछ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सञ्चालन गरिने सीप परीक्षामा सहभागी परीक्षार्थीले साथमा राहदानी, प्रवेशपत्र अनिवार्य लिएर आउनुपर्ने इपिएस शाखाले जनाएको छ । सीप परिक्षणमा सहभागि नहुनेहरुको नाम भाषा परीक्षा उत्तिर्ण गरेकाहरुको सूचिबाट हट्नेछ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने सो शाखाकी निर्देशक मैया कँडेलले जानकारी दिइन् ।

भाषा परीक्षाका लागि १ लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकामा १६ हजार चार सय छनोट गरेर पठाउने योजना रहेको छ । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ । कोरियाले रोस्टरमा रहेका युवालाई त्रैमासिक रूपमा छनोट गर्ने गरेका कारण हाल पास भएका युवालाई यो वर्ष दोस्रो छनोट तालिकाभित्र पार्ने योजना नेपालको छ ।

दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ सालमा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकामा २०२४ सालको हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् । अन्य देशको तुलनामा नेपाली कम अवैधानिक बस्ने र मेहनती भएको बताउँदै कोरियाले यो वर्षका लागि निर्धारण गरेको १५ हजार कोटामा थपेर १६ हजार चार सय बनाएको छ ।

यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय