म्याग्दी । वैदेशिक रोजगारीका क्रममा कतारमा ७ वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का संकेत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । त्यसपछि उनले तरकारी खेती गर्ने सोच बनाए ।

५ वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको ३ रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु गरे । अहिले उनको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन् । गत वर्ष तरकारी बेचेर ४ लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्षदेखि सुन्तला र कागती खेतीसमेत विस्तार गरेका छन् ।

बेनी नगरपालिका–२ बञ्चरेढुंगाका ५३ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । ३ दशकअघि २० वर्षे उमेरमा साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले १० वर्ष साउदी अरब र ५ वर्ष भारतमा काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए ।

घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने उनको जीवनमा हरियाली छाउन थालेको घिमिरे बताउँछन् । अहिले जीवनको उत्तरार्धमा व्यावसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको उनले बताए ।

पुन र घिमिरेजस्तै बेनी–२ खबराका शोभित शर्मा, चन्द्रबहादुर कार्की, रोहोटेका चन्द्रबहादुर घिमिरे, मंगला–५ का टीकाकुमारी खत्रीलगायत किसानले गाउँकै थोरै खेतबारीमा पनि व्यावसायिक रुपमा गरेको तरकारी र फलफूल खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार पछिल्लो समय खाडीमुलुकबाट गाउँ फर्केर व्यावसायिक कृषिमा लागेका युवाको संख्या बढ्दै गएको छ । उनीहरुले मनग्य आम्दानी पनि गर्दै आएका छन् ।

सन् २०२१ मा कोरोना महामारीको समयमा युएईबाट गाउँमा फर्केर तरकारी खेती सुरु गरेका मालिकाकै टेकबहादुर सिउथानीको बारीमा बाह्रै महिना तरकारी खेती हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो विदेश जान नपरेको उनके भनाइ छ ।

ुपहिला विदेशको भूत चढ्यो, विदेश गए पछि के के न गरिएलाजस्तो लाग्यो र ऋणधन गरेर विदेश गएँ । विदेश गएको अर्को वर्ष कोरोना महामारी सुरु भयोु, उनले भने, ु काम नपाएपछि गाउँमा फर्केर सुरु गरेको तरकारी खेतीले अहिले खानबस्न समस्या छैन ।ु उनले आफूले मोबाइलमा युट्युब हेरेर बेमौसमी तरकारी खेती गर्ने तरिका सिकेको बताए ।

म्याग्दीमा पछिल्लो समय तरकारी र फलफूल खेतीप्रति युवाको आकर्षण बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका एक सय बढी व्यक्ति व्यावसायिक तरकारी खेतीमा लागेका छन् । त्यसैगरी फलफूल खेतीतर्फ पनि उत्तिकै आकर्षण छ । यस वर्ष जिल्लाबाट २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष जिल्लामा ७ सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेकामा ४ सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइएको थियो । उक्त क्षेत्रफलमा ३ हजार ६ सय मेट्रिक टन सुन्तला फल्दा न्यूनतम मूल्य प्रतिकिलो रू ५५ का दरले बिक्री गर्दा पनि कृषकले रू १९ करोड ८० लाख आम्दानी गरेका उनले जानकारी दिए ।

यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौँ, चितवन, मुग्लिनलगायतका बजारमा निकासी भएको केन्द्रले जनाएको छ ।

म्याग्दीको भकिम्ली, राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैंचा रहेका कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताए ।

केन्द्रका अनुसार आर्थिक वर्ष ०७८र०७९ मा २ हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा १३ करोड जिल्लामा भित्रिएको थियो । गत आवमा करिब ३ हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा १९ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यस वर्ष मंसिर अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय