काठमाडौं, साउदी अरब नेपालसँग एकमहिना भित्रमा श्रम सम्झौता गर्न इच्छुक देखिएको छ । संयुक्त अरव इमिरेट्स (युएई) मा सम्पन्न भएको अबुधावी डाइलग कार्यक्रमको समयमा आयोजित साइडलाइन छलफलमा साउदी अरबले सो रुचि देखाएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको छलफलका क्रममा साउदी अरेबियाका मानव संसाधन तथा सामाजिक विकास मन्त्री ई. अहेमद बिन सुलाईमान अल राझीले यस्तो प्रस्ताव गरेका हुन । नेपाल र साउदी अरेबियाबीच प्रस्तावित श्रम सम्झौतालाई अन्तिम रुप दिई एक महिना भित्र हस्ताक्षर गर्ने अवस्थामा पुर्याउन दुवै पक्ष तयार भएको श्रम मन्त्रालयले जनाएको छ ।

यसैगरी साउदी अरेबियाले सीपमुलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न हालसालै प्राप्त सहयोगलाई निरन्तरता दिने एवं भाषा र सीप जानेका श्रमिक उत्पादनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । कफाला प्रणाली निरुत्साहन, विभिन्न कारणले मृत्यु भएका श्रमिकको शव छिट्टै नेपाल फिर्ता पठाउने, सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्थालाई निरुत्साहित गर्ने लगायतका विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।
यसैगरी श्रम मन्त्री भण्डारीसँग भएको साइडलाइन छलफलमा कतारले घरेलु श्रमिकको सन्दर्भमा बढी चासो राखेको थियो । कतारले यसअगाडी देखि नै नेपालबाट घरेलु श्रमिक लैजान जोडबल गर्दै आएको छ ।

श्रम मन्त्री भण्डारीसँगको छलफलमा कतारका श्रम मन्त्री डा. अलि बिन समिख अल मारीले घरेलु कामदारका निम्ति पर्याप्त सुरक्षाका व्यवस्थाहरु गरिएको हुँदा भाषा र सीप सिकाएर सम्मानित रुपमा पठाउन तालिम प्रदान गर्ने प्रतिवद्धताजनाएका थिए । यसैगरी यस अगाडी नेपाल र कतारबीच भएको श्रम समझदारीलाई परिमार्जन सहित नविकरण गर्न पनि दुवै पक्ष सहमत भएका छन् । सो समझदारी कतारका अमिरको नेपाल भ्रमणको समयमा हस्ताक्षर हुने गरी तयार पार्ने जनाइएको छ । त्यसमा सीप विकासमा साझेदारी तथा श्रमिकहरुको हकहित सुरक्षाका विषयवस्तु थप गरिने श्रम मन्त्रालयले जनाएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा यही फेब्रुअरी १० देखि ११ सम्म आयोजित अबुधावी डाइलगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सम्बोधन गर्दै युवा लक्षित उपयुक्त कार्यक्रममार्फत सीपमुलक रोजगारमा जोड दिनु पर्ने धारणा राखेका थिए । लचिलो श्रम नीतिमार्फत श्रम बजारमा लैंगिक समता प्रवर्द्धन गर्न जरुरी रहेको भन्दै मन्त्री भण्डारीले श्रम बजार सूचना प्रणाली स्थापनामार्फत सूचनाको आदान प्रदान गर्ने व्यवस्था मिलाउन सहभागी सबै मुलुकहरुलाई आह्वान गरेका थिए ।

रोजगारदाता तथा श्रमिक दुबै पक्षका आवश्यकताहरुको सम्बोधन गर्ने गरी विद्यमान नेपालको श्रम नीतिको पुनरावलोकन गर्ने काम भईरहेको विषयमा जानकारी दिंदै श्रम बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेका सरकारी तथा गैरसरकारी संस्थाहरुबीच विश्वासिलो वातावरण सिर्जना गरिनुपर्नेमा उनको जोड थियो । श्रमिकहरुको न्यूनतम ज्यालाको प्रत्याभूति दिनेतर्फ अबुधावी डाइलगले प्रतिबद्धता जनाउनु पर्ने उनले धारणा राखे । सदस्य राष्ट्रहरुबीच नेटवर्किड कायम गर्ने र साझा सिकाईलाई प्रवर्द्धन गर्दै श्रम बजारलाई बढी दक्ष र उत्पादनमुलक बनाउँदै भविष्यमा प्राप्त हुनसक्ने अपार सम्भावना एवं आधुनिक प्रविधिलाई आत्मसाथ गर्नसक्ने गरी दक्ष जनशक्ति तयार गर्न निश्चित कार्ययोजना तयार गर्न पनि उनले आव्हान गरे ।

अबुधावी डाइलग श्रमिक पठाउने र श्रमिक लिने मुलुकहरुको साझा मञ्च हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: