प्रवासी श्रमिक र तिनिहरुका परिवारलाई मद्धत गर्ने उद्धेश्यले तयार पारिएका दुईवटा प्रविधि आधारित कामहरु काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सो अन्तर्गत सुरक्षित आप्रवासन सम्वन्धि सुचनाको एकिकृत माध्यम परदेशी डट ओआरजी डट एनपी (pardesi.org.np) वेबसाइट तथा प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्वन्धि तालिम सामग्री सार्वजनिक गरिएको हो । वेबसाइटलाई वैदेशिक रोजगारबाट फर्केका हेममाया राना मगर, श्याम लामा र संगिता थापाले शुरुवात गरे ।

सो अवसरमा रोयल होलोवे युनिभर्सिटीका तर्फबाट प्रो. जि. हरिन्द्र, प्रो. टीम, सुरक्षित आप्रवासका लागि राष्टिय सञ्जालका उपाध्यक्ष कृष्ण प्रसाद न्यौपाने, प्रवासी नेपाली समन्वय समितिका निवर्तमान अध्यक्ष कुलप्रसाद कार्की, पौरखीकी संस्थापक अध्यक्ष मञ्जु गुरुँग, आमकास नेपालकी संस्थापक अध्यक्ष विजया राई श्रेष्ठ, मेडेककी सल्लाहकार डा. मिना पौडेल लगायतले मन्तव्य राखेका थिए ।

आर्थिक बर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जान वैदेशिक रोजगार विभागबाट ७ लाख भन्दा बढी व्यक्तिले श्रम स्वीकृति लिएका थिए । यसले मुलुकभित्रै रोजगारीको सिमितताका कारण हरेक दिन २ हजारको हाराहारीमा नेपाली युवा विदेशिने गरेको तस्वीर देखाउँछ । अधिकाँश युवा खाडीका मुलुकहरु र मलेसिया जाने गरेकोमा पछिल्ला केहि बर्षयता पूर्वी युरोपका मुलुकहरुमा पनि जान थालेका छन् ।

एकातिर रोजगारीका लागि जानेहरुको संख्या ठूलो छ, अर्कातर्फ त्यसरी जानेहरु सही जानकारीको अभावमा ठगिमा पर्ने गरेका छन् । वैदेशिक रोजगारको प्रकृयाका विषयमा जानकारीको अभाव हुनु, गन्तव्य मुलुकका विषयमा ज्ञान नहुनु, रोजगारीका लागि जान चाहनेहरुलाई उपयुक्त सीप सिकाउने संस्थाहरुको बारेमा जानकारी नहुनु मुलभूत रुपमा देखिएका चुनौतिहरु हुन् । यसैगरी वैदेशिक रोजगारसँग सम्वन्धित अन्य विषयहरु जस्तै, वित्तिय साक्षरता, विप्रेषणको सदुपयोग, कल्याणकारी व्यवस्था, गन्तव्य मुलुकमा स्वास्थ्य सम्वन्धि सुविधा, गन्तव्य मुलुकको हावापानी, संस्कृति, खानपान लगायतका विषयहरुमा पनि रोजगारीका लागि प्रवास जानेहरुमा अनभिज्ञता रहेको देखिन्छ । यसले रोजगारीका लागि प्रवास जानेहरुलाई थप चुनौति सिर्जना गर्ने गरेको छ ।

रोजगारीका लागि जान चाहनेहरुलाई सुसूचित बनाउने प्रयास नभएको होइन । सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरु, ट्रेड यूनियनहरु तथा सञ्चार माध्यमहरुले यस्ता विषयमा जानकारी दिने प्रयास गरिरहेका छन् । तर त्यसरी तयार पारिएका जानकारीहरु एकैथलोमा उपलव्ध छैनन् । यहि अभावलाई मध्यनजर गर्दै नेपालको नागरिक समाज, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत संघसंस्था तथा व्यक्तिहरु, सुचना प्रविधिका जानकारहरु लगायतसँग धेरै चरणको छलफल पश्चात परदेशी डट ओआरजी डट एनपीको अवधारणा तयार पारिएको हो । यसले सवै संस्थाहरुले उत्पादन गरेका जानकारीमूलक विषयहरु एउटै माध्यममा उपलव्ध गराउने प्रयास गरेको छ । यसबाट सुचनाको खोजिमा रहेकाहरु लाभान्वित हुनेछन् । यसैगरी प्रविधि आधारित विषयको ज्ञानको अभावका कारण प्रविधिको सही प्रयोग गर्न नसक्दा पनि प्रवासी श्रमिकहरु ठगिमा पर्ने वा समस्यामा पर्ने गरेका छन् ।

यो अभावलाई मध्यनजर गर्दै तालिम सामग्रीहरु तयार पारिएको छ जुन नेपालीका साथै मैथिली, भोजपुरी, थारु, तामाङ तथा नेपाल भाषा(नेवारी) मा उपलव्ध छन् । त्यसले प्रवासी श्रमिक र तिनका परिवारलाई मोवाइल तथा अरु माध्यमहरुको प्रयोग कसरी गर्ने लगायतका जानकारीहरु समेटेको छ । https://pardesi.org.np/ तथा तालिम सामग्री तयार पार्न सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, पौरखी, आमकास नेपाल, प्रवासी नेपाली समन्वय समिति, देशपरदेश डटकम तथा प्रविधिको क्षेत्रमा कार्यरत संस्था औराएड र एनआइसी संलग्न छन् । यसलाई तयार पार्ने क्रममा नाइसर, सामी हेल्भेटास, युनेष्को काठमाडौं कार्यालय, जिएसएमए, आइएमई, हाम्रो पात्रो लगायतको सहयोग प्राप्त भएको थियो । यसमा रोयल होलोवे, युनिभर्सिर्टी अफ लण्डनका तर्फबाट प्रो. जि हरिन्द्रनाथ (हरी), प्रो. टीम उनविन तथा डा. मरिया रोजा लोरिनी लगायत संलग्न हुनुहुन्थ्यो ।

यो एउटा पहल र सुरुवात मात्र भएको र वेबसाइट आफैंमा निरन्तर समृद्ध गरिंदै लैजाने माध्यम भएका कारण यसमा भविष्यमा अद्यावधिक तथा थप जानकारीहरु समेट्दै लगिने आयोजकले बताएका थिए । यसमा नेपालका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, ट्रेड यूनियन, नागरिक समाज, सञ्चार माध्यम लगायतले हातेमालो गर्नेछन् भन्ने आयोजकले विश्वास प्रकट गरेका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय