घरेलु श्रममा जान बन्देज खोल्ने विषयः कुरा भयो, काम भएन

वैदेशिक रोजगारका क्रममा घरेलु श्रममा जान लगाइएको बन्देज खुलाउने विषयमा धेरै छलफल भएपनि र नीति निर्माण तहमा रहेकाहरु सहमत भएपनि नतिजा नआएको भन्दै अविलम्व बन्देज खारेज गर्न यस क्षेत्रमा कार्यरतहरुले माग गरेका छन् । बन्देजका कारण अनियमित बाटो भएर जानेहरु थप जोखिममा परेको उनीहरुको निश्कर्ष थियो ।

वैदेशिक रोजगारबाट फर्केका महिलाहरुले सञ्चालन गरेको संस्था पौरखी नेपालले राष्ट्रिय महिला आयोगमा आयोजना गरेको छलफलमा बोल्दै आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले वर्तमान श्रम मन्त्री घरेलु श्रमिकको बन्देज खोल्ने विषयमा सकारात्मक रहेपनि नतिजा भनें नदेखिएको बताइन् । उनले घरेलु श्रम गर्न वैदेशिक रोजगारमा जाने महिलाहरु सबै असुरक्षित छन् भन्ने ढंगले व्याख्या गरिएको भन्दै उनीहरुको अधिकारका विषयमा महिला आयोग बोल्ने बताइन् । उनले बन्देज खोल्ने विषयमा सबै सरोकारवाला निकायबीच छलफल गर्न आयोगले अग्रसरता लिने पनि स्पष्ट पारिन् ।

सो अवसरमा बोल्दै पौरखीकी रणनीतिक सल्लाहकार मञ्जु गुरुङले महिलालाई जहिल्यै पनि दयाको पात्र बनाउने गरिएको भन्दै उनीहरु स्वतन्त्र रुपमा काम गर्न सक्ने धारणा राखिन् । गुरुङले महिलालाई विभेद गरेकै कारण महिलाको साक्षरता दर कम भएको, आर्थिक रुपमा सवल हुन नदिइएको र बाध्यतावस घरेलु श्रममा जानु पर्ने अवस्था रहेको बताइन् । तर यो अवस्थामा पनि रोजगारीका लागि जान बर्षाैं देखि रोकिएका कारण अनियमित बाटो भएर जान बाध्य भएको उनको भनाई थियो । यसलाई रोक्न र घरेलु श्रममा जानेहरुलाई श्रम स्वीकृति लिएर जान पाउने अवस्था निर्माण गर्न सरकारले थप ढिलाई गर्न नहुने गुरुङले बताइन् । बन्देजका कारण मानव तस्करी बढेको स्पष्ट नै रहेको भन्दै त्यसरी जानेहरुले पूर्वप्रस्थान अभिमुखिकरण तालिम लिन नपाएको, गन्तव्य मुलुकमा अप्ठ्यारोमा पर्दा पनि सेवा लिन असहजता भएको उनको भनाई थियो ।

सो अवसरमा बोल्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले लाखौं धरौटी राखेका व्यवसायीहरुले सम्पूर्ण प्रकृया पुरा गरेर तथा अप्ठ्यारो परेमा त्यसको जिम्मेवारी समेत लिनेगरी पठाउन खोज्दा पनि बर्षौंदेखि बन्देज कायमै राखिनु गलत काम भएको तर्क गरे । उनले सरकारी अधिकारीहरुले कुनै एकदुईवटा घटनाकै आधारमा भावनामा आएर गरेको गलत निर्णयको भार बर्षौंदेखि महिला श्रमिकले भोग्नु परिरहेको बताए । व्यक्तिगत रुपमा गएर समस्यामा परेकाहरुको विषयलाई समपूर्ण घरेलु श्रमिकको रोजगारीको अवस्थासँग जोड्न नहुने भण्डारीको भनाई थियो ।

छलफल कार्यक्रमका सहभागिहरुले फेरिएको समयमा घरेलु श्रमिक पहिले हल्ला गरिएजस्तो असुरक्षित नरहेको, युएई लगायतका मुलुकमा घरेलु श्रमिकको सुरक्षामा पर्याप्त ध्यान दिइएको लगायतका विषयहरुलाई नेपालका सरकारी अधिकारीहरुले अझै पनि नबुझेको धारणा राखेका थिए । उनीहरुले सम्पूर्ण सरोकारवाला निकायहरुबीच छलफल गरी समस्याको निकास निकाल्नु पर्नेमा जोड दिएका थिए ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: