मानव बेचबिखन: पिडित/प्रभावितहरुलाई कुन निकायले कस्तो मद्धत गर्छन् ?

मानव बेचविखन तथा ओसारपसार भन्नाले मानिसलाई कुनै उद्देश्यका लागि बेच्ने, किन्ने, वेश्यावृत्तिमा लगाउने, मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने, मानिसलाई विदेशमा लैजाने, शोषण गर्ने जस्ता कुराहरु हुन् । यो कुरा नेपालको मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले पनि स्पष्टरुपमा परिभाषित गरेको छ ।

मानव बेचविखन मानवताको उल्लंघन, मानव अधिकारको हनन्, सन्धि सम्झौताको प्रतिकूल हुने कार्य समेत हो । यसले मानिसको प्रतिष्ठा, सम्मान, सुरक्षा, स्वतन्त्रता, समता, सहकार्य, सह–अस्तित्वमा हानि पुर्‍याउँछ ।

नेपालले मानव बेचविखनलाई नियन्त्रण गर्न कडा कानुन बनाएको छ । यसैगरी विभिन्न सरकारी निकायहरुको जिम्मेवारी तोकेको छ । यसैगरी विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि यसमा काम गर्दै आएका छन् । मानव बेचबिखन पिडित तथा प्रभावित एवं जोखिममा रहेकाहरुको लागि सहयोगी निकाय र उपलब्ध हुन सक्ने कार्यक्रम तथा सेवाहरु के छन् त ?

स्थानीय सरकार (वडा, नगरपालिका, गाउँपालिका, महानगर र उपमहनगरपालिका) को जिम्मेवारी तथा सेवाहरु:
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतना, प्रशिक्षण, छलफल तथा स्थानीय अनुगमन र तथ्यांक संकलनक गर्ने, नीति तथा कार्यक्रम निर्माण गर्ने, बजेट छुट्टाउने तथा कार्यान्वयन गर्ने दायित्व स्थानीय सरकारको हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न स्थानीय समिति गठन र सञ्चालन गर्ने, पिडितहरुको घर फिर्ती, पारिवारिक र सामाजिक पुनर्मिलन तथा पुनस्र्थापना सहायता प्रदान गर्ने, पिडितहरुलाई अन्तरिम क्षतिपुर्ति प्रदान गर्ने, कानुनी एवं राहत सहायता उपलब्ध गराउने जिम्मेवारी स्थानीय सरकारको हो ।

स्थानीय न्यायिक समिति 
मानव बेचबिखन भएको पहिचान भएका र शंकास्पद घटनाहरु र पिडितहरुलाई स्थानीय प्रहरी चौकीमा लैजाने र प्रभावित व्यक्तिहरु एवं उनीहरुको बालबालिका माथि हुने लान्छना तथा भेदभाव भएको घटनाहरुको उजुरी लिने र सुनुवाई गर्ने काम स्थानीय न्यायिक समिति हुन्छ ।

स्थानीय बाल अधिकार समिति
स्थानीय तहमा बालबालिका बेचबिखन न्यूनीकरण गर्नको लागि बाल संरक्षण, सचेतना तथा जोखिम न्यूनीकरण गर्ने कार्यक्रमहरु स्थानीय बाल अधिकार समितिले गर्दछ । यसैगरी स्थानीय तहको बजार तथा उद्योग व्यवसायमा बाल श्रम भए नभएको जाँच्ने काम पनि यहि समितिको हो ।

स्थानिया प्रहरी चौकी
मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि स्थानीयस्तरमा सचेतना फैलाउने, विद्यालय सचेतना, समुदाय प्रहरी साझेदारीको कार्यक्रमहरु सञ्चालन गर्ने, यातायात तथा आवागमनका प्रमुख नाकाहरुमा असुरक्षित आवागमन तथा ओसारपसार र बेचबिखनको जोखिममा रहेका व्यक्तिहरुको पहिचान गरि अनुगमन र निरिक्षण गर्ने, मानव बेचबिखन तथा ओसारपसार पिडित तथा प्रभावित व्यक्ति र परिवारलाई कानुनी सल्लाह, सहायता प्रदान गर्ने, उजुरी दर्ता गर्न प्रोत्साहित र सहयोग गर्ने र हराएका व्यक्ति र बालबालिकाहरुको तथ्याङ्क राख्ने काम स्थानिया प्रहरी चौकीको हुन्छ ।

स्थानीय स्वास्थ्य संस्था
मानव बेचबिखन पिडित तथा प्रभावितहरुलाई नि:शुल्क स्वास्थ्य जाँच तथा रगत परिक्षणको सेवा प्रदान गर्ने, एचआइभी संक्रमित भएको पाइएमा परामर्श तथा नि:शुल्क औषधिको सेवा दिने र मनोसामाजिक परामर्श सेवाहरु प्रदान गर्ने जिम्मेवारी स्थानीय स्वास्थ्य संस्थाको हुन्छ ।

बाल हेल्पलाइन (१०९८ ) तथा बालबालिका खोजतलास केन्द्र (१०४)
बालबालिका हराएमा तथा हिंसा, शोषण एवं दुव्र्यवहारमा परेमा फोनबाट नै उजुरी लिने र बालबालिकाको लागि सहायताका लागि काम गर्ने गर्दछ ।

गैरसरकारी संस्थाहरु
गैरसरकारी संघसंस्थाहरुले सचेतनाको लागि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्यक्रमहरु स्थानीयस्तरमा सञ्चालन गर्ने, पैरवी र वकालत गर्ने, पिडित तथा प्रभावितहरुलाई उद्धारमा सरकारी निकायसँग समन्वय गरी मद्धत गर्ने, अल्पकालिन आवास तथा कानुनी तथा मनोसामाजिक परामर्श दिने जस्ता काम गर्दछन् ।

प्रदेश सभाका समितिहरु
प्रदेश सरकारलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध उपयुक्त नीति, नियम तथा कार्यक्रमहरु बनाउन निर्देशन दिने, प्रदेश सरकारले गरेको काम तथा त्यसका प्रगतिहरु बारे छलफल गर्ने र सुझाव दिने, कुनै घटनाको आवश्यक परेमा अध्ययन, अनुसन्धान तथा छानबिन गर्ने, पिडित र प्रभावितहरुले सेवा र न्याय पाउनबाट वञ्चित गरिएमा त्यस्तो विषयको लागि छानबिन गर्नको लागि नेपाल सरकारलाई निर्देशन दिने दायित्व छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाल प्रहरी
मानव बेचबिखन तथा ओसारपसारका घटनाहरुको उजुरी लिने, अपराधहरुको अनुसन्धान गर्ने र दोषीलाई पक्राउ गर्ने तथा पिडित तथा प्रभावितहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ती तथा उद्दार र पुनस्र्थापनामा सहयोग गर्ने काम नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले गर्ने गर्दछ ।

मानव बेचबिखन विरुद्धको जिल्ला तथा प्रदेश समितिक
मानव बेचबिखन विरुद्धको जिल्लास्तरीय तथा प्रदेशस्तरीय कार्यक्रमहरु निर्माण र सञ्चालन गर्ने, मानव बेचबिखन पिडित सहायता कोष सञ्चालन गर्ने, एक जिल्लाबाट अर्को वा प्रदेशमा बेचिएको वा फिर्ता भएकाहरुकोलाई आफ्नो गाउँ, जिल्ला वा प्रदेशमा फर्कनको लागि सहयोग गर्ने काम गर्दछ ।

मानव बेचबिखन विरुद्धको राष्ट्रिय समिति
मानव बेचबिखन विरुद्ध राष्ट्रिय कार्यक्रमहरु तयार गरि लागु गर्नको लागि काम गर्ने, मानव बेचबिखन न्युनिकरंणका लागि नीति नियम, कानुन बनाउन संघीय सरकारलाई सुझाव दिने, विदेशमा मानव बेचबिखनमा परेकाहरुको लागि उद्दार र स्वदेश फिर्तीको लागि सहयोग गर्ने काम मानव बेचबिखन विरुद्धको राष्ट्रिय समिति गर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय