साउदीमा पासपोर्ट: शिविरले राहत, दूतावास धाउन कठिन

शुक्र मोक्तान, दमाम
जुन ९ को शुक्रवार बिहानै कुमार आले साउदी अरवको दोश्रो प्रमुख शहर दमामको अल फैसलियास्थित अल असेम रेष्टहाउस फर फेस्टिभवलमा विद्युतीय राहदानी वनाउन पुगे । जुन ९ र १० तारिखमा नेपाली दूतावासले त्यहाँ राहदानी शिविर राखेकाले आलेले राहदानी बनाउन त्यहाँबाट ५ सय किलोमिटर टाढा रहेको रियादस्थित नेपाली दूतावास पुग्नु परेन ।

८ सय जनालाई मात्र सेवा दिन सकिने भएकाले आगामी जनवरी अर्थात २०२४ जनवरी ३१ तारिखसम्म पारपोर्टको म्याद भएकाहरुलाई मात्रै नयाँ राहदानी बनाउन आउनु भनिएको थियो । सेवाग्राहीको बायोमेट्रिक गर्नुपर्ने र तस्विर लिनुपर्ने भएकोले शिविरमा लागेको लाइन निक्कै ढिला सर्नु स्वाभाविक नै थियो । ‘दमाममा नै राहदानी वनाउन बिहान ५ बजे आइपुगेको थिएँ, वेलुका मात्रै पालो आयो’, उनले भने, ‘मैले पहिला नै समय पाएकोले राष्ट्रिय परिचय पत्रको फाराम भर्न पाएँ । सो फारम भरेपछि मात्रै विद्युतीय राहदानी वनाउन मिल्दोरहेछ ।’ सोे शिविरमा एक हजार २ सय जनालाई राहदानी बितरण गरिएको थियो ।

दमाममा कार्यरत भीमनारायण चौधरीले पनि दुई दिन समय लगाएर आफ्नो फारम बुझाउन पाए । चौधरीले भने, ‘दमामबाट रियाद आउजाऊ गर्न नै १०/११ घण्टा लाग्छ, खर्च मात्रै ४/५ सय रियाल लाग्छ । यहाँ नै राहदानी बनाउन पाउने भएपछि आफ्नो दुई छोरीलाई तिर्ने स्कूल फि नै जोगियो, मलाई त एकदमै खुसी लाग्यो ।’

राहदानी बनाउन रियाद पुग्नु पर्दा श्रमिकलाई एकातिर झण्झट छ, अर्को तिर ठूलो खर्च । ‘शिविरसम्म आउन–जान दुई दिनमा मेरो एक सय रियाल खर्च भयो । आफ्नो डियूटी पुरा गरेर पनि फारम बुझाउन पाएँ । रियाद नै जानु परेको भए एकातिर आउजाउ खर्च हुन्थ्यो । अर्को तिर एक दिन ड्यूटी छोड्दा तीन दिनको तलब काटिन्थ्यो । राहदानी नवीकरण गर्न मात्रै एक महिनाको कमाई जान्थ्यो’, चौधरीले भने,‘दमाममा शिविर राखिदिदा ३ सय रियालमा नै काम बन्यो ।’

यसरी पासपोर्ट बनाउन नै रियाद पुग्नु पर्ने झण्झट टरेपछि थुप्रै नेपालीको ठूलो रकम जोगिएको छ । गैरआवासीय नेपाली संघ, साउदीको ब्यवस्थापनमा भएको सो दुई दिने शिविरमा ७ सय ९६ जना नेपाली श्रमिकले सेवा लिए । उनीहरुले रियाद आउजाउ गर्नु नपर्दा कुल तीन लाख ९८ हजार रियाल (१२ करोड रुपैयाँ ) खर्च हुनबाट जोगिएको छ । राहदानी नविकरणका लागि दुई सय रियाल र हराएको भएमा ४ सय रियाल सरकारलाई राजश्व तिर्नु पर्दछ । सो रकम भनें शिविरमा आवेदन दिनेहरुले पनि बुझाउनु नै पर्दछ ।

साउदी अरवमा मात्रै चार लाख नेपाली कार्यरत छन् । अधिकांस श्रमिकसँग मेसिन रिडेवल पोपोर्ट (एमआरपी) नै छ । गैरआवासीय नेपाली संघ, साउदी अरवका अध्यक्ष डम्वर यादवका अनुसार साउदीमा कार्यरत श्रमिकमध्ये झण्डै ५० प्रतिशत दमाम क्षेत्रमा नै छन् । त्यसबाहेक रियाद, जेद्दा र तावुक क्षेत्रमा कार्यरत छन् । ‘राहदानी भनेको श्रमिकको एकदमै महत्वपुर्ण कागजात हो । म्याद छैन भने यहाँको आवासीय कार्ड वन्दैन’, उनले भने ।

दमाममा पनि दोश्रो पटक शिविर राखिएको हो । साउदीको ठुलो क्षेत्रमा फैलिएकोले दूतावासलाई राहदानी नविकरण गर्ने सेवा दिन चुनौती छ । श्रोत र जनशक्तिको अभावमा दूतवासलाई ठाउँ ठाउँमा शिविर आयोजना गर्न कठिन छ । श्रमिकलाई विदा लिएर रियाद पुग्न नै हम्मे हम्मे पर्दछ । तर धेरै श्रमिक रहेका कारण दमाममा नियमित रुपमा शिविर राखिदिए हुन्थ्यो भन्ने माग छ । रियादस्थित नेपाली दूतावासका प्रवक्ता ऋषिराज आचार्य आवश्यकता अनुसार शिविर राख्दै जाने बताउँछन् ।

तर साउदीको ठूलो भूभागबाट दूतावास रहेको शहरमा आउन नसक्दा वा नपाउँदा राहदानीको म्याद गुज्रिसकेकाहरुले पनि आवेदन दिन पाएका छैनन् । आभामा कार्यरत रोशन पुरीले कम्पनीले विदा नदिंदा राहदानी नविकरण गर्न नपाएको बताए । ‘मेरो जुलाई २१ तारिख नै राहदानीको म्याद सकिदैछ । अर्को महिना अकमा पनि सकिन्छ’, उनले भने,‘रियादसम्म पुग्न सकेको छैन ।’

दमाममा कार्यरत युवराज तिमिल्सिनाले तीन पटक दूतावास जाँदा पनि आवेदनको लागि समय नपाएको गुनासो गरे । ‘राहदानीको म्याद सकिएको ७ महिना भइसक्यो । दूतावासमा तीन पटक गइसके । पहिला नै समय लिएर आउनु भन्छ, समय नै पाइरहेको छैन’, उनले भने ।
सरकारले २०७८ मंसिर १५ देखि ई–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको हो । राहदानी लिन चाहने नेपाली नागरिकले नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि वा राष्ट्रिय परिचयपत्रको सक्कल वा राष्ट्रिय परिचयपत्र प्राप्त नगरेको तर राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गरिएको भए परिचयपत्र नम्बर संलग्न गर्नुपर्ने व्यवस्था छ । विद्युतीय राहदानी जारी गर्ने सम्बन्धी कार्यविधि, २०७८ मा राहदानीको निवेदनसाथ राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्रको नम्बर देखिने कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले सहजरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ननसकेको अवस्थामा साउदी सहित खाडीमा कार्यरत श्रमिकहरुले राहदानीको आवेदन अगाडि नै राष्ट्रिय परिचयपत्र नम्बर पाउनुपर्ने माग राखेका छन् । यसले राहदानी आवेदनलाई केहि सहज बनाउने उनीहरुको ठम्याई छ ।

राहदानी विभागले राहदानी आवेदनमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको अवस्थामा राष्ट्रिय परिचयपत्र लिदा पेस गरेको व्यक्तिगत विवरण एवं विद्युतीय विवरण (तस्विर, औंठाछाप, दस्तखत) लाई मान्यता नदिई विभागमा राष्ट्रिय परिचयपत्र नम्बरसँगै व्यक्तिगत विवरण एवं विद्युतीय विवरण पुन: पेस गर्नुपर्ने प्रत्यक्ष दर्ता प्रणाली व्यवस्था गरेको छ । यो सुबिधा साउदीभरी छरिएका नेपालीले कसरी पाउने भन्ने ठुलो चिन्ता थपिएको गैरआवासीय नेपाली संघ, मध्यपुर्व संयोजक जोन अर्यालले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: