वैदेशिक रोजगारीमा रहेकाहरुलाई लक्षित गर्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा सुरु गरेको टेलिमेडिसिन सेवा लिने मध्ये सबैभन्दा धेरैलाई पेट सम्वन्धी समस्या देखिएको छ । विगत एक महिनामा टेलिमेडिसिनका लागि फोन गर्ने २ सय ३४ जनामध्ये सबैभन्दा बढी पेटकै समस्या भएकाहरु रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य परामर्शका लागि फोन गर्नेहरु मध्ये लामो समयसम्म उभिएर काम गर्नेहरुमा ढाड दुख्ने समस्या देखिएको छ । यसैगरी श्वासप्रश्वास, छाला, सुगर, प्रेसर लगायतका समस्या सहित परामर्शका लागि फाने गर्नेहरुको संख्या पनि ठूलो रहेको छ । यसैगरी कतिपयमा मानसिक समस्या हुने गरेको अस्पतालले जनाएको छ ।
समयमा खाना नखानेहरुमा पेटसम्बन्धी समस्या पाइएको अस्पतालका टेलिमेडिसिन विभागका मेडिकल अधिकृत डा. सञ्जय धरेलले जानकारी दिएका छन् । यसैगरी लामो समयसम्म उभिएर काम गर्नेहरूमा ढाडको समस्या देखिएको छ । लामो समयसम्म किचनमा कुकको काम गर्नेलाई घाँटी खसखसाउने तथा पिनाससम्बन्धी समस्या देखिएको छ । पुरानो दीर्घरोगी, प्रेसर, सुगर रोगीले पनि सो सेवा लिएका छन् ।
डा.धरेलका अनुसार मानसिक समस्या हुँदा काम गर्न गाह्रो भएर घर फर्किन चाहेको बताउने, निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, राति बरबराउने, परिवारका विभिन्न समस्याहरूले गर्दा काम गर्न नसकेको लगायतका समस्या सेवाग्राहीले सुनाउने गर्छन् ।
टेलिमेडिसिन सेवा अन्तर्गत करिब २० देशमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक कामदारले परामर्श लिने गरेका छन् । मुख्यगरी साउदी अरब, युएई, कतार लगायतका देशहरुमा कामको शिलशिलामा रहेका नेपालीले परामर्शका लागि बढी फोन गर्ने गरेको डा. धरेलको भनाइ छ ।
बोर्ड र वीर अस्पतालको सहकार्यमा २०७९ चैत्र १५ गतेबाट टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।