वैदेशिक रोजगारमा रहेकाहरु र स्वरोजगारहरुलाई सामाजिक सुरक्षा कार्यक्रम सुरु हुँदै, आज शुभारम्भ

रोजगारीका क्रममा विदेश जानेहरु तथा स्वदेशमा नै स्वरोजगारमूलक कार्यमा संलग्नहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु हुने भएको छ । आज काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी कार्यक्रम शुभारम्भको घोषणा हुन लागेको हो ।

वैदेशिक रोजगारमा रहेकाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि दुर्घटना विमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्थामा पेन्सन सुविधा प्राप्त हुनेगरी कार्यविधि बनाइएको छ । यसका लागि वैदेशिक रोजगारमा रहेका व्यक्तिले कोषमा आवद्ध भई नियमित रुपमा अनलाइन मार्फत योगदान गर्न सक्ने कोषले जनाएको छ ।

वैदेशिक रोजगारमा जानेहरुले श्रम स्वीकृति लिएपछि नै कोषमा आवद्ध हुन सक्नेछन् । त्यसपछि नेपाल सरकारले तोकेको न्यूनतम तलव १५ हजारको २१ दशमलव ३३ प्रतिशत रकम कोषमा योगदान गरेपछि त्यस्ता व्यक्ति कोषमा जोडिनेछन् ।

यसैगरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक पनि स्वेच्छिक रुपमा कोषमा आवद्ध हुन सक्नेछन् । त्यसरी आवद्ध हुने श्रमिकले पनि दुर्घटना विमा, आश्रित सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना वापतको सुविधा प्राप्त गर्नेछन् ।

नेपालमा २०७५ मंसिर ११ गते देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएको हो । तत्कालिन सरकारले नयाँ युगको सुरुवात भन्दै निक्कै प्राथमिकताका साथ सुरु गरेको सो कार्यक्रम सुरुवाती चरणमा जस्तो हुन सकेन । तत्कालिन श्रममन्त्री गोकर्ण विष्टलाई हटाइएपछि लगातार फेरिएका श्रममन्त्रीहरुको प्राथमिकतामा नपर्दा सामाजिक सुरक्षा कार्यक्रम केवल कोषका कर्मचारीको दैनिक कार्यमा सिमित भएको थियो । त्यहिबीचमा नेपाली काँग्रेस आवद्ध नेपाल ट्रेड यूनियन काँग्रेससाग सम्वद्ध बैंकिङ क्षेत्रको यूनियनले कोषले खाइपाइ आएको भन्दा कम सुविधा उपलव्ध गराउने लगायतको असहमति सहित अदालतमा मुद्धा दायर गरेपछि यो कार्यक्रम ऐच्छिक जस्तै भएको छ । त्यसपछि कछुवागतिमा चलिरहेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा वैदेशिक रोजगारमा रहेकाहरु र स्वरोजगार श्रमिकलाई जोड्न लागिएको हो । यसले कोषको दायरा विस्तार भई यस कार्यक्रम प्रति आकर्षण बढ्ने अनुमान गरिएको छ ।

सुरुवाती चरणमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले उपलव्ध गराउने सुविधा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतले उपलव्ध गराउने सुविधा भन्दा कम भएपछि यस कार्यक्रमप्रति खास आकर्षण रहेको थिएन । यस कार्यक्रममा आवद्ध हुन श्रमिकहरु अनिच्छुक देखिएपछि कोषले कार्यविधिमा क्रमश: परिमार्जन गर्दै सापटी सुविधा, आश्रित परिवारलाई औषधोपचार सुविधा लगायतका सुविधाहरु थप गरेको छ ।

सहभागिता, योगदान र सामाजिक सुरक्षा भनने नारा सहित सञ्चालनमा रहेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा श्रमिकको तलवको ११ प्रतिशत र रोजगारदाताले २१ दशमलव ३३ प्रतिशर रकम जम्मा गर्नुपर्दछ । हाल कोषमा १७ हजार ७ सय ३७ रोजगारदाता, ३ लाख ९९ हजार ५ सय ५६ श्रमिक सुचिकृत छन् । कोषमा हालसम्म ३० अर्व ८७ करोड भनदा बढी योगदान रकम जम्मा भएको छ भनें योगदानकर्ताहरुलाई ३ अर्व ८१ करोड भन्दा बढी रकम भुक्तानी गरिसकेको छ । यसमध्ये सबैभन्दा बढी अवकास दावी भुक्तानी रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय