श्रममन्त्री अर्यालमाथि उठेका प्रश्नहरु र रास्वपाको खल्लो सत्तायात्रा

नेपाली समाजमा क्रान्तिकारीपन गज्जवको छ । यदाकदा ओसिलो बनेपनि सामान्यतया नेपाली समाजले नविन कुराको खोजि गरिरहन्छ । यथास्थितिवादमा रमाइरहेका दलहरु, तिनका शिर्षनेताको बलमिच्याई र अर्को पुस्ताको अकर्मण्यताकाबीच चुलिएको आक्रोश आम नागरिकले पोख्ने माध्यम भनेको या त सडकमा हो या त मतपत्रमा । त्यहि आन्दोलन यसपटक मतदाताहरुले मतपत्र मार्फत पोखे । नतिजा गएको निर्वाचनमा घण्टी अनपेक्षित रुपमा चर्कै बज्यो ।

रवि लामिछाने र उनको दलले प्राप्त गरेको उपलव्धि पछिल्ला केहि वर्षयता दलहरुले समाएको २०६० साल अगाडीकै बाटोले आम नागरिकमा बढेको निराशाको परिणाम थियो । दल दर्ता गरेर चुनावमा होमिनु अगाडी लामिछानेले सञ्चारकर्मीका रुपमा जुन रुपमा विषयहरु प्रस्तुत गरे त्यसले आवेगी नेपाली समाजमा आक्रोशको रंग अझ गाढा बनाउने काम गर्यो । नतिजा अनुमान गरिएभन्दा धेरै सिटमा विजय हासिल गर्दै र परिस्थिति पनि अनुकुल भइदिंदा महत्वपूर्ण पदहरुमा घण्टीधारीहरु आसिन हुन पुगेका छन् । सायद यो स्वयं घण्टीधारीहरुका लागि पनि आश्चर्यको विषय भएको हुनु पर्दछ ।

तर घण्टीको सत्तारोहण जति तिव्र रुपमा भयो, यसको स्खलनको सुरुवात त्यहि विन्दुबाट सुरु भएको छ । स्वयं पार्टी सभापति रवि लामिछाने नागरिकताको मुद्धामा जेलिएका छन् । “पुरानो नागरिकता स्वयं कायम भयो” भन्ने तर्क गर्ने लामिछाने नागरिकताको छानविन गर्नेहरुको खटनपटन गर्ने ठाउँमा आसिन छन् । नागरिकताको विषयलाई परिस्थितिजन्य समस्या मान्ने घण्टी समर्थकहरु त्यतिबेला जिल्लिएका छन् जव विज्ञताका आधारमा नियुक्त भएका भनिएका श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याल यस अगाडी वैदेशिक रोजगार व्यवसाय गर्ने एउटा संस्था (मेनपावर कम्पनी) को अन्तराष्ट्रिय बजार प्रतिनिधि रहेको तथ्य बाहिरियो । जापानमा बसेर काम गरेको, रेमिट कम्पनीमा आवद्ध रहेका र वैदेशिक रोजगारको विषयका विज्ञ भनिएका अर्यालको मेनपावर कम्पनीसँगको सम्वन्धले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थप रक्षात्मक अवस्थामा पुर्याएको छ ।

मेनपावर कम्पनीसँगको सम्वन्धका विषयमा समाचार सार्वजनिक भएपछि श्रममन्त्री अर्यालले आफ्नो फेसबुक पेज मार्फत प्रष्टिकरण दिएका छन् । आफू सो कम्पनीमा जोडिएको विषय व्यवसायिक साझेदारका रुपमा नभई साथिभाइले नाम राखिदिएको, आफूबाट पिडित भएको एकजना व्यक्ति पनि भेटिएमा आफू पदमा नबस्नेसम्मको मन्त्री अर्यालको प्रष्टिकरण छ । तर उनको नाम जोडिएको मेनपावर कम्पनी ठगिको घटनामा संलग्न रहेको र त्यसविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी समेत रहेको तथ्य बाहिरिएपछि मन्त्री अर्याल, उनको दल रास्वपा र मन्त्री छनौट गर्ने पार्टी सभापति लामिछाने माथि नैतिक प्रश्न उठेको छ ।

विषयगत विज्ञता महत्वपूर्ण विषय हो । रास्वपाले मन्त्रीमा पठाइने व्यक्तिहरुमा विषय विज्ञतालाई आधार बनाउनु परिवर्तनको अपेक्षा गरिरहेकाहरुका लागि सुखद कुरा पनि थियो । तर नाटकिय रुपमा सत्तारोहण गरेको र महत्वपूर्ण मन्त्रालयहरुको नेतृत्व गर्न पाएको रास्वपाका लागि सत्तायात्राको सुरुवात त्यति सहज भएन । अरुलाई सदैव नैतिकताको प्रश्न उठाइरहने लामिछाने आफू विरुद्धको नागरिकता सम्वन्धि छानविनको टुँगो नलाग्दै गृहमन्त्री हुनु र श्रममन्त्री अर्यालको मेनपावर कम्पनीसँगको संलग्नताले सो पार्टीले उठाउँदै आएको मुद्धालाई ओझेलमा पारेको छ ।

के एकपटक मेनपावर व्यवसायमा जोडिएको व्यक्ति मन्त्री हुन सदैव अयोग्य हुन्छन् त ? नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले उठाएको यो प्रश्नलाई पूर्णत नजरअन्दाज गर्न नमिल्ला, तर रास्वपाले जुन रुपमा आफूलाई प्रस्तुत गरेको छ, त्यसमा भनें अर्याल उपयुक्त पात्र होइनन् । विगतमा जोडिएको मेनपावर कम्पनीसँगको सम्वन्धले मन्त्री पदमा रहेसम्म उनी आशंकाको नजरमा त रहिरहन्छन् नै, यसले परिवर्तनको प्रतिकका रुपमा आफूलाई स्थापित गर्न प्रयासरत रास्वपाको छविलाई पनि ओजिलो बनाउने छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय